गण्डकी प्रदेशमा मन्त्री मनाङेले मुख्यमन्त्री गुरुङकाे साथ छाडे

बन्लान् त काँग्रेसका पोखरेल नयाँ मुख्यमन्त्री

पोखरा न्यूज । गण्डकी प्रदेशका  स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको साथ छाड्नुभएको छ ।

प्रदेशमा मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार जोगाउनकै लागि एमालेको आग्रहमा युवा तथा खेलकुद मन्त्री बन्नुभएका उहाँले प्रदेशसभा विघटनको दिशामा लान खोजेको भन्दै मुख्यमन्त्रीको साथ छाड्नुभएको हो ।

मुख्यमन्त्री गुरुङबाट प्रदेशसभा विघटन गरेर निर्वाचनमा जाने प्रस्ताव आएपछि आफूले समर्थन गर्न नसकेको बताउनुभयो ।

सरकारले विश्वासको मत प्राप्त नगर्ने भएपछि प्रदेश सभा विघटन हुनबाट रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिने निर्णय गरेको मनाङेले बताउनुभयो ।

‘प्रदेशसभा विघटन गरेर चुनाव गराउने खेलमा म लाग्दिन, प्रदेश सभा जोगाउन चाहिने ३१ मत पुर्‍याउनको लागि म सहयोग गर्छु’, मन्त्री मनाङेले भन्नुभयो ।

मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिने तयारी गरिरहेका बेला बुधबार साँझ मनाङेले साथ छाडेसँगै प्रदेशसभामा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।

विपक्षमा नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका १२ (१ सभामुख) , जसपाका २ र जनमोर्चाका २ सांसद छन् । अदालतबाट पद थमौती भएका जनमोर्चाका सांसद कृष्ण थापाले भने मुख्यमन्त्रीको पक्षमा उभिने बताइसक्नुभएको छ  ।

प्रदेश सभामा नेकपा एमालेका २७ जना सांसद रहेका छन् । ६० सदस्यीय प्रदेशसभामा बहुमत पुराउन ३१ मतको आवश्यक पर्दछ।

संविधानको धारा १६८(३) अनुसार पुनः मुख्यमन्त्री नियुक्त भएका गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत नपाए  प्रदेश प्रमुखबाट संविधानको धारा १६८ (५) अनुसार सरकार गठनको आह्वान हुने छ ।

त्यस्तो अवस्थामा ३१ सांसद पुगेको खण्डमा यस अघि पनि विपक्षमा रहेका दलको  गठबन्धनबाट संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्तमा प्रस्ताव गरिएका  नेपाली काँग्रेस संसदीय दलका  नेता कृष्णचन्द्र  पोखरेल धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा प्रस्ताव हुनेछन् ।

यो प्रयास असफल भएमा  संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभाको चुनाव घोषणा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button