पाेखराका अग्रज पत्रकार बास्तोलाको संक्रमणका कारण निधन

पाेखरा न्यूज । पाेखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको कोरोना संक्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि पोखरास्थित रिजनल अस्पतालमा उपचाररत पत्रकार बास्तोलाको स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार पोखराकै चरक अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान ३ः१० बजे निधन भएको हो । स्वर्गीय बास्तोलाका दुई श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

कास्कीको पुरञ्चौरमा जन्मिनु भई हाल पोखरा-५ का स्थायी वासिन्दा पत्रकार बास्तोला विगत चारदशकदेखि पोखरामा रही पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो । उहाँले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्युज, आदर्श समाज र स्वतन्त्र सन्देशलगायतमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको छ भने महासंघले जुझारु र सक्रिय सदस्य गुमाएको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य स्वर्गीय पत्रकार बास्तोलाकाे निधनप्रति महासंघले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेकाे छ ।

कोरोनाकै कारण हालसम्म २० जना पत्रकारको निधन भएको छ भने ९ सय पचासभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गरेकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button