बन्दीपुरमा केबुलकारको काम प्रभावित बन्दै

पाेखरा न्यूज । बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण कार्य प्रभावित भएको छ । कोरोनाको दोस्रो भेरियन्टसहितको कोरोनाका कारण विदेशबाट सामान ल्याउन र इन्जिनीयर आउन नसक्दा निर्माण कार्य प्रभावित भएको हो ।

आगामी दशैँभित्रमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनासहित निर्माण कार्य थालिएपनि उक्त अवधिमा संञ्चालनमा ल्याउन कठिनाइ देखिएको छ । भारतबाट अधिकांश सामान आइसके पनि अष्ट्रियाबाट इन्जिनीयर, रोपवे र इन्जिनहरु ल्याउन नसकिएकाले निर्माण कार्यमा ढिलाइ हुने देखिएको बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । दैनिक करीब तीन सय जना कामदारले काम गर्दै आएपनि बन्दाबन्दीका कारण अहिले सय जनाले काम गरेको उहाँले बताउनुभयो ।

कामले गति लिइरहेको बेला गतवर्ष कोभिड महामारीका कारण केही समय काम प्रभावित भएकामा यसवर्षको कोरोनाले पनि असर परेको अध्यक्ष शर्माले बताउनुभयो । परियोजनाको निर्माणको करीब ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ भने टावर निर्माण गर्ने मेकानिकल इन्जिनीयर नहुँदा काम प्रभावित बनेको छ । परियोजनाको काम सम्पन्न गर्न कम्तिमा छ महिना लाग्न सक्ने अनुमान गरिएकाले दशैमा संञ्चालनार्थ कठिनाइ देखिएको कार्यकारी संञ्चालक कृष्णराज अधिकारीले बताउनुभयो । बन्दीपुर गाउँपालिका–४ को ठूल्ढुङ्गामा तल्लो स्टेशनको लागि तीन/चार महिना लाग्ने भएपनि र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशनको निर्माण कार्य बल्ल शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

परियोजनामा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीयबासीको लगानी १४ प्रतिशत रहेको छ । करीब ७०० स्थानीयलाई शेयर प्रदान गरिएको छ । उनीहरुको करीब रु.१५/१६ करोड लगानी रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

बन्दीपुरमा पाँचतारे होटल

बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेडले बन्दीपुरमा पाँचतारे होटलको निर्माण कार्य अघि बढाएको छ । पहिलो चरणमा केबुलकार र दोस्रो चरणमा क्विन टावर सञ्चालन गर्ने योजना रहेको सो परियोजनाले जनाएको छ ।

पन्ध्र तले होटलको हालसम्म ६० प्रतिशत कार्य भएको बताइएको छ । निर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्न सक्ने अनुमान गरिएको छ ।

रु.एक अर्ब ७८ करोडको लागतमा होटल र केबुलकार निर्माण गर्न लागेको हो । अध्यक्ष शर्माले भन्नुभयो, ‘‘होटलमा गण्डकी प्रदेशकै ठूलो एक हजार जना क्षमताको सभाहल र ७२ कोठा हुनेछन् भने केबुलकार सिधै पाँचतारे होटेलमा प्रवेश गराइने छ ।’’ होटलमा सिसमहल, वाक्स म्युजियम, भूत बङ्गला, रेस्ट्रो जोन, पौडी पोखरी पनि रहनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button