भोकबाट कलाकार बचाउने प्रतिष्ठानको अभियानमा शाखा कतारको सहयोग

तिलु शर्मा पौडेल, दोहा कतार l कोरोनाको महामारीका कारण नेपालका विभिन्न क्षेत्रहरू ठप्प छन् l मनोरञ्जनको पहिलो रोजाई रहने गरेको लोक तथा दोहोरी क्षेत्र पनि महामारीबाट ग्रसित छ l लामो समयदेखि यो क्षेत्रको आय आर्जन हुने मुख्य थलो बन्द हुँदा यससँग सम्बन्धित कलाकार, टेक्निसियन तथा विभिन्न ओहोदाका कामदारहरूको रोजीरोटी खोसिएको छ l दोहोरी साँझ, रोधी घर लगायतका रात्रिकालिन व्यवसायहरू ठप्प हुँदा यसबाट प्रभावित बनेका सबै कलाकारको पेट भर्ने जिम्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लिएको छ l

कलाकारहरूको साझा संस्था प्रतिष्ठानले सञ्चालन गरेको “रोगबाट तपाई बच्नुस् भोकबाट हामी बचाउँछौ’ भन्ने अभियानमा प्रतिष्ठान कतार शाखाले सहयोगी हात बढाउँदै एक इट्टा थपेको छ l लकडाउन तथा कोरोना महामारीले अप्ठेरोमा परेका कलाकारलाई खाद्यान्न सहयोग स्वरूप शाखा कतारले ७३ हजार रुपैयाँ नगद सहयोग गरेको हो l

पीडामा रहेका कलाकारलाई केही हदसम्म भए पनि मलहम लगाउन सकियोस् भन्ने हेतुले सहयोग रकम पठाइएको शाखा कतारका अध्यक्ष शक्ति क्षत्रीले जानकारी दिनु भयो l शाखा कतारले कार्यसमिति, संरक्षक, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरूबाट रकम सङ्कलन गरी पठाएको हो l हाल बाँडिएको राहत सामग्रीमा एक बोरा चामल, पाँच लिटर तेल, दाल, चिउरा लगायत दैनिक उपभोग्य सामाग्रीका साथै मास्क र स्यानिटाइजर समेत छन्। समस्यामा परेका कलाकारले आफ्नो नाम टिपाएर राहत लिन सकिने शाखा कतारका संरक्षक तथा वैदेशिक विभागका केन्द्रीय सदस्य दुर्गा पङ्गेनीले जानकारी दिनु भयो l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button