कलाकारका रमाइला रोपाइँ अनुभव

असारको ऐतिहासिक तथा सांस्कृतिक महत्व

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । हेर्दा फरफराउँदो, मगमग बास्ना आउने, खादाँ स्वादिलो, खाउ–खाउ लाग्ने पोखरेली जेठोबुढो । यो धान केहि वर्षअघिसम्म कास्कीका अधिकांश फाँटमा लटरम्म फलेको देखिन्थ्यो । यसलाई कास्कीको रैथाने धानको रुपमा लिइन्छ । कास्कीको पामे, खास्टे, खराने, अर्मला, आर्वाको फाँट, हेम्जा, कुँडहर, विरौटा, दिपाङ, रुपातालको किनारा मात्र नभएर कास्कीका विभिन्न गाउँका टारी खेतमा यो धान रोपिन्थ्यो । तर अहिले समय बदलिएको छ । अधिकांश धान फल्ने फाँट कंक्रिटमा परिवर्तन भएको छ । कंक्रिटमा परिवर्तन हुने क्रम जारी छ । गाउँका कतिपय टारी खेत त्यसै बाँझो छन् । वर्षेपिच्छे धान खेती हुने ठाउँ घट्दैछ । परिवर्तित समय र बढ्दो शहरीकरणका कारण उर्बरभूमिमा ठूला–ठूला संरचना बनेका छन् ।

बाँकी रहेका जमिनमा समेत रोपाइँ गर्ने तौर तरिकामा परिवर्तन आएको छ । रोपाइँको लागि आवश्यक पर्र्नेे हली र गोरुको ठाउँ ट्याक्टरले लिन थालेको छ । रोपाइँमा ठुलो ट्याक्टर, मझौला ट्याक्टर र हाते ट्याक्टरको प्रयोग यहाँ गर्न थालिएको छ । गाउँ–गाउँमा हाते ट्याक्टर भित्रिन थालेकोले गोरु पाल्ने क्रममा समेत कमी आएको छ । शहरतिर पुर्ण रुपमानै गोरु पाल्न छोडिएपनि गाउँतिर गोरु पाल्नेक्रम पुर्ण रुपमा रोकिएको भने छैन । बाउसे, रोपाहार मिलेर काम गर्ने, असारे गीत गाउने, गीतको तालमा काम गर्ने क्रम समेत लोप हुन थालेको छ ।

गण्डकी प्रदेशका गोरखा, लमजुङ, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपुर, स्याङ्जामा समेत विगतको तुलनामा धान खेतीमा कमी आएको छ । काम गर्ने जनशक्तिको अभाव, पर्याप्त सिचाई सुविधा नहुनु र स्थायी तथा अस्थायी रुपमा शहरमा बसाई सरेको कारण कतिपय गाउँका खेतमा धान खेती गर्न छोडिएको छ । धान खेती गर्दा लाग्ने जनशक्ति र खर्च अनुसारको प्रतिफल नपाउँदा समेत यसतर्फको आर्कषण घटेको हो । यसले गर्दा रोपाइँ गर्ने तौरतरिका नयाँ पुस्तालाई हस्तान्तरण गर्न समेत समस्या पर्ने गरेको छ । कोरोना महामारीका कारण शहरबाट केही युवा गाउँमा फर्किएको कारण गत वर्ष र यो वर्षको असारमा गाउँका खेतमा युवा पुस्ताको उपस्थिति केही बढेको देखिन्छ ।

वरिष्ठ साहित्यकार सरुभक्त आफूसँग रोपाइँ गरेको भन्दा हेरेको अनुभव रहेको बताउनुहुन्छ । म विशुद्ध ब्यापारी परिवारमा जन्मेको हुनाले रोपाइँ सम्बन्धी ब्यक्तिगत अनुभव छैन । तर बालककालमा कृषिकर्म गर्नेहरूको सामिप्यमन हुर्केको हुनाले रोपाइँ शब्द र कर्म प्रति म भावनात्मक सम्बन्ध रहेको अनुभूति गर्छु । बालककालदेखि म खेतबारीमा हुने रोपाइँलाई हेरी म आनन्दित हुन्थें । युवाकालमा म असार पन्ध्रको दिन पारेर लामाचौर पछाडि जैमुरेका खेतहरूमा रोपाइँ गरेको हेर्न पुग्थें, पानीमा छाता ओडेर भएपनि । मेरो मावली हेमजा हो । मामाघर किसानी घर हो । रोपाइँको समय हामी परिवार मामाघरमा जाने गर्छाैं । उहाँले भन्नुभयो । सरुभक्तले रोपाइंँ सम्बन्धी गीत लेख्नुभएको छ । ‘रोपाइँ गरौं असार पन्ध्र हलगोरू नारेर, नजाउ माया पर्देशतिर साइत सारेर…’ गीत उहाँको मनभरि माटोभरि गीतसंग्रहमा समावेश छ ।

अभिनेत्री रजनी गुरुङ धान रोपाइँ सम्बन्धी आफूसँग धेरै सम्झना भएको बताउनुहुन्छ । ती दिनहरु कहिल्यै नभुल्ने बताउने उहाँ अहिले सम्झदा उतिकै रमाइलो समेत लाग्ने गरेको सुनाउनुहुन्छ ।
धान रोपाइँ सम्बन्धी मेरो सम्झना धेरै छ । किनकि म गाउँमा हुर्किएको हुँ । कृषकको छोरी भएर गाउँमा हुर्किएको हुनाले गाउँले जीवनमा धान रोपाइँको अनुभव धेरै हुनपुग्यो । मैले आफैले धेरै पटक धान रोपे । यसरी धान रोप्दा रमाइलो पनि हुन्थ्यो । साँझ ७, ८ बजेसम्म उज्यालो हुने भएकोले साँझ ७ बजेसम्म धान रोप्थ्यौ । काम सकेपछि हिला खेलिन्थ्यो । हामी बिहान ९ बजे नै खेतमा जान्थ्यौ । खाजाको रुपमा भात र तरकारीनै बढी खाइयो ।

ती दिन एकदमै रमाइलो थिए । ती पलहरु कहिल्यै विर्सन सक्दिन । डाँडा पारी बिउ काढ्न जानुपथ्र्यो । विउ काढ्दै धान रोप्दै गरिन्थ्यो । मेरो काम कहिले बिउ बोकिरहनपर्ने हुन्थ्यो । धान रोप्ने, बिउ काढ्ने काम पनि उतिकै गरे । दुःख त अति हुन्थयो । टाउको निउरियाको निउ¥याई गरेर रोपेको रोपेइँ गर्नुपथ्र्यो । ढाड दुख्ने, खुट्टा दुख्ने हुन्थ्यो । त्यो बेलामा जोश जाँगर अलि धेरै हुन्थ्यो । काम गर्नुपर्छ भन्दानी गोरु, हली र बाउसेले धेरै खेत विउ रोप्नको लागि बनाइसकेपछि भ्याउनै पर्नेहुन्थ्यो । एकदमै छिटो–छिटो रोप्नुपथ्र्यो । यसरी रोप्दा हात दुख्थ्यो । खेत रोप्ने बेलामा जुकाले पनि उस्तै सताउथ्यो । कहिलेकाही खानामा समेत जुका परेर खाएको अनुभव आफुसँग भएको अभिनेत्री गुरुङले खुलाउनुभयो ।

यता चर्चित लोकदोहोरी गायक पुरुषेत्तम न्यौपाने असारको ऐतिहासिक तथा सांस्कृतिक महत्व रहेको बताउनुहुन्छ । वर्षायामा धान रोेपेर हिउँदमा धान भित्राउने गर्छौ । सोही कारण यसलाई मानो रोपेर मुरी उब्जाउने भनिन्छ । यसको धेरै ऐतिहासिक पाटो पनि छ । रोपाइँको सांस्कृतिक हिसाबले अत्यत्नै महत्वपूर्ण पाटो छ ।

अहिलेत प्रविधियुक्त औजारहरु आए, ट्याक्टर मार्फत जोत्न थालिएको छ । रोपाइँमा हामीले गाउँमा हली बाउसे, खेताली, गोरु, रोपारीका कुरा आउँछन् । हाम्रो गाउँतिर बाउसेलाई खेताला भन्छन् । रोपारीलाई रोपाहार पनि भन्छन् । गोरु नारेर, जुवा, अनहु, हरिसदेखि परम्परागत नामहरु विर्सने अवस्था हुन थालेको छ । हाम्रोतिर रोपाइँ गर्दा एउटा ठुलो गह्रामा धेरै हलगोरु नारेर एकैचोटी मेलोे सम्याइदिएर खेतालीहरुलाई छोडिदिने गरिन्थ्यो । खेतालीहरु रोप्दै बिचमा पुगिसकेपछि गोलो घेरो बनाएर ठुला–ठुला बिउका मुठा राखेर भकारी रोप्ने भन्ने चलन थियो । धेरै उत्पादन होस् भनेर समेत होला । भकारी राख्दा घरमुली र उसको श्रीमतीलाई हिलोले छ्याप्दिने बिउको जमरा लाइदिने बाजा बजाएर रमाइलो समेत गरिथ्यो ।

साँस्कृतिक रुपमा पनि असारको महत्व छ । हुनत दिनभरी ठाडा घाममा रोप्नुप¥यो थकाई मेट्नलाई समेत होला । जिस्किएर रत्यौली पाराको ठट्यौली पाराको असारे गीत गाइथ्यो । रमाइला पाराको गीत गाउने उट्पट्याङ गर्ने गरेर थकाई मेटाउने प्रयास हुन्थ्यो । घरबाट टाढा खेत छ भने उतै भाडाँकुडाँ लिएर गएर बनाएर खाने चलन थियो । नजिक छ भने घरबाटै पुवा बनाएर, वेसार, घिउ, चामल राखेर बनाएको भात खाने गरिन्थ्यो । ढाड दुख्छ भनेर होला खानेकुरामा बेसार हाल्ने, औषधीजन्य चिजहरु हाल्ने चलन थियो ।

अर्को कुरा रोपिसकेको खेतमा किटाणु नलागोस्, असिना नपरोस्, खोलाले नपुरोस्, नबगाओस्, प्राकृतिक प्रकोप नआओस् भनेर हरेलो गर्ने चलन थियो । खेतमा मज्जाासँग आली लगाउने गरिथ्यो । ती आलीमा मास, भटमास लगाउने गरिन्छ । पोखरा आएपछि समेत यहाँको कल्चरले त्यो झल्को मेटाउने गरेको छ । पोखरामा रोपाइँ महोत्सव मार्फत समेत यो कल्चरलाई बचाउन खोजिएको छ । धेरै फाँट घडेरीमा परिवर्तन भएर सकिदै गरेकोमा भने गायक न्यौपाने चिन्तित हुनुहुन्छ । उहाँको जन्म स्याङजा जिल्लामा भएको हो ।

हाल अमेरिकामा रहनुभएका गीतकार शिब पलाँसले धान रोपाइँको धेरै अनुभव आफूसँग रहेको बताउनुभयो । रोपाइँगर्दा आफूलाई आली लगाउने काम भन्दा जोत्ने काम गर्र्न सजिलो लाग्ने गरेको भनाई उहाँको छ ।

किसानको छोरालाई धान रोपाइँको अनुभव नहुने कुरै भएन । स्कुल, कलेजमा बर्खे बिदा हुनासाथ घर पुगिन्थ्यो । आली लगाउने काम भन्दा मलाई जोत्ने अर्थात् हिल्याउने काम सजिलो लाग्थ्यो । किनभने जोत्ने काममा निहुरिनु पर्दैनथ्यो । बिउ काढ्ने र रोप्ने काम गर्न पनि म जान्दथे । एकपल्ट जोत्दाजोत्दै खेतको डिल भासिएर छेउपट्टिको गोरु खोलामा खस्यो । त्यतिमात्रै हो र ढुंगाको अक्करमा उत्तानो परेर अड्कियो । अर्को गोरु काँधमा जुवा झुन्ड्याएर माथि गह्रामै खडा छ । धन्न जोतारो कमजोर रैछ र चुँडियो नत्र त दुइटै गोरु खोलामा जाक्किने । बा गोरु खस्यो भनेर चिच्याएँ । गोरु निकाल्न महाभारत भयो । बाउछोराले गोरुको सिंङमा समातेर बेसरी तानेपछी गोरु जुरुक्क उठ्यो । धेरै अग्लो थिएन त्यसैले गोरुलाई ठूलो चोट लागेको रहेनछ । तँ गधाले जोत्दैनस् छोड् मै जोत्छु भनेर बा झोक्किनुभो । मेरा खुट्टा काँपिरहेका थिएँ । अहिले छ साल भयो गोडाले हिलो छुन पाएको छैन । आफ्नो माटोको सुगन्ध, घरको घिउमा पाकेको पँहेलो रंगको असारे भात, अमिलो हालेको कर्कलाको डाँढको अचार आँखामा झलझली नाँचिरहेको उहाँले सुनाउनुभयो ।

निर्देशक जसु गुरुङ रोपाइँ सम्बन्धी अनुभव नभएपनि रोपाइँ भनेपछि छुट्टै रमाइलो भने लाग्ने गरेको सुनाउनुहुन्छ । धान रोपाइँको धेरै अनुभब त छैन । सानोमा रोपाइँ भने पछी छुट्टै रमाइलो लाग्थ्यो । रोपाइँको बेलाको पहेलो खाजा भात अझै दिमागमा आउँछ । अझ रोपाइँको अन्तिम दिन, रोपारे अनी बाउसेहरु हिलो खेलेको हेर्न धेरै रमाइलो लग्थ्यो । एक पटक हाम्रो घरको रोपाइँको दिन, हिलो खेल्दा एकजना भाउजुको सुनको माडवरी हराएको पनि याद छ । अरुले रोपेको हेर्दा रहर लागे पनि मेरो अनुभब भने आलिको छेउछेउ रोपेको मात्र छ । ‘तमु मै ता’ नामक कार्यक्रमको रिपोर्टिङको बेला हिलोमा दौडिएको रमाइलो खेल हेरेको स्मरणमा रहेको उहाँले सुनाउनुभयो ।

कलाकार तथा निर्देशक माओत्से गुरुङ पनि आफूसँग रोपाइँसँग सम्बन्धित थुप्रै अनुभव रहेको सुनाउनुहुन्छ । गाउँमा हुदा रोपाइँमा बाउसे गइन्थ्यो । दिनभरी हिलोमा काम गरेर रोपारीहरुसग हिलो छ्यापाछ्याप पनि गरिन्थ्यो । अनि बेलुका तालखोला पौडिदै हिलो पखालिन्थ्यो । यस्ता थुप्रै सम्झनाहरु छन् जुन सम्झिदा पनि अहिले रोमान्चित हुने गरेको उहाँले खुलाउनुभयो ।

गायक रामभक्त जोजिजू आफूसँग धान रोपेको याद भएको सुनाउनुहुन्छ । हामी सानो छंदा आमाले खेतमा लानुहुन्थ्यो । हामीले पनि धान रोपेको याद छ । हिलोमा छप्ल्याङ्ग छुप्लुङ्ग गर्दै रमाईलो गरिन्थ्यो । एकदिन म बुढुवाको खेतमा गह्राको छेउको कान्लामा सुतिराको अनि मेरो कुहिनोले खेतको पानीमा छोईएछ । अनि मेरो कुहिनामा जुका टास्सिएर रगत चुस्दै गरेको रहेछ । पछि त्यो देखेर म डराए । आमालाई भनेपछी थुक लगाएर जुका निकालिदिएको याद छ । त्यो सम्झदा अहिले आङ्ग सिरिङ्ग भएर आउँछ । उहाँले भन्नुभयो ।

लोकगायक तारानाथ आचार्य असार महिनाभरी दैनिक रुपमा रोपाइँ गरेको अनुभव आफूसँग रहेको सुनाउनुहुन्छ । करिब २० वर्ष पहिले गाउँमा रहदा असार महिनामा एक दिन खाली नबसी रोपाइँ गरिन्थ्यो । पहिला आफ्नो मेलो सकेर अनि ज्याला मजदुरीमा हिडिन्थ्यो । एकपटक ज्यालामा खेत खन्न बाउसे जादा यति अप्ठ्यारो मेलो परेको थियो । बल्ल–बल्ले एक छिन ढाड नसोझ्याइ काम गरे । तर, अब त सकियो भनेपछी समेत एउटा बाउसे गह्रोे बाँकी छ भनेर काम गराएका थिए । अनि अर्को ठाउमा बाउसे जाँदा पानी नभएका कारण दिउँसो २ बजे फर्किनु परेको थियो । यसरी काम नगरी फर्किएपनि पुरै दिनको ज्याला पाएको थिए । उहाँले भन्नुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी आफ्नो खेत भन्दा बारी बढी भएको कारण रोपाइँको अनुभव धेरै लिन नपाएको सुनाउनुहुन्छ । मेरो रोपाइँको त्यति अनुभवनै छैन । सामान्य हलीदाइहरुसंग मोहिकाठमा बसेर हिलोमा हुईकेको याद आउंछ । आफ्नो खेत भन्दा नि बारी मात्रै भएकोले खेत रोपाईको धेरै अनुभव गर्न नपाएको उहाँले बताउनुभयो ।

त्यसोत धान रोप्दा सबैभन्दा आवश्यक पर्ने धानको बिउ हो । बिउ बिहाडबाट उखेलेर लगेर रोपिन्छ । रोप्नुभन्दा एक महिना अगाडीनै बिहाडमा धानको बिउ छरिन्छ ।

रोपाइँमा पानी तथा घामबाट बच्न स्याखु, छत्री, प्लाष्टिकको प्रयोग गरिन्छ । धान रोप्नको लागि सबैभन्दा आवश्यक चिज पानी हो । खोला, मुल वा नहरबाट कुलो बनाई खेत रोप्ने गरासम्म पानि पु¥याइन्छ । केहि ठाउँमा आकाशको पानीको भरमा समेत खेत रोप्ने गरिन्छ ।

रोपाइँमा प्रयोग हुने अन्य सामाग्रीमा, नाइरो, जोतारो हल्लुडो, हलो, कोदाली, मोही, जुवा, खुर्पेटो, लठ्ठी, हसिँया आदी हुन् । पछिल्लो क्रममा आएको प्रविधि तथा रोपाइँ गर्ने चलनमा आएको कमीले रोपाइँमा प्रयोग हुने सामाग्री लोप हुने अवस्थामा पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button