लमजुङमा खोलाको बाढीले दुई घर र कृषि फार्म बगायो

पोखरा न्यूज । लमजुङमा आइतबारदेखि निरन्तर परेको वर्षापछि आज आएको दोर्दीखोलाको बाढीले दुई घर बगाएको छ । दोर्दी गाउँपालिका –८ हिलेबजारका चतुरे विक र कन्या तामाङको घर आज साँझ सो खोलाको बाढीले बगाएको हो ।

खोलामा पानीको बहाव बढिरहेको र नजीकै भएकाले ती घर बगेका हुन् । घर बगाएपछि बेँसीशहर नगरपालिका वडा नं. ११ चिती प्रहरीचौकीका पाँच प्रहरी त्यसतर्फ जाँदै गरे पनि बाटो अप्ठ्यारो र पानी निरन्तर परिरहेकाले पुग्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज रेग्मीले बताउनुभयो ।

त्यस्तै सोही खोलाले दोर्दी– ६ कृतिपुरका कृष्ण घलेको कृषि फार्मसमेत बगाएको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । जिल्लामा विभिन्न स्थानमा खोला नजीकै र जमीन कच्चा भएको स्थानका दर्जनाँै घर जोखिममा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले समेत आज सूचना जारी गर्दै मस्र्याङ्दी र दोर्दी गाउँपालिका तथा बेँसीशहर, सुन्दरबजार र राइनास नगरपालिका भएर बग्ने मस्र्याङ्दी नदीमा पानीको बहाव बढिरहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनका साथै आसपास शाखा नदी कमजोर भिरालो जमीन क्षेत्रका बासिन्दालाई सुरक्षितसँग बस्नलाई आग्रह गरेको छ ।

यतिबेला जिल्लाका मस्र्याङ्दी नदी तथा दोर्दी, किसेदी, रिस्ती, मिदिम खोलालगायत दर्जनौँ खोलामा समेत पानीको बहाव वृद्धि भइरहेको छ । वर्षा हुने क्रम जारी रहेकाले स्थानीयवासी त्रसित छन् । कतिपय घरका बासिन्दा भने सुरक्षित स्थानमा बसेका छन् । आज मात्र जिल्लामा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button