लमजुङमा बाढीले १४ घर बगायो, ५० घर उच्च जोखिममा

पोखरा न्यूज । लमजुङमा आइतबारदेखि निरन्तर परेको वर्षापछि आएको बाढीले दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ती घरमध्ये नौ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि पाँच घरका स्थानीयवासी भन्नुहन्छ, “घरसहित घरमा भएको सबै सामान पनि बगाएको छ ।” एक सय ६ घर रहेको यहाँ ५० घर उच्च जोखिममा रहेको वडाध्यक्ष घलेको भनाइ छ । पक्की घरसमेत चार वटाको पिल्लर नै उक्काइसकेको र सो बस्तीमा पानीले हानिरहेको छ ।

त्यस्तै, पाँच/छवटा बिजुलीको हाइटेन्शन खम्बा पनि ढालेको वडाध्यक्ष घलेले बताउनुभयो । ती तारले झोलुङ्गे पुलमा अवरुद्ध बनाएको छ । स्थानीयवासी यहाँबाट पालिकाको केन्द्र र जिल्लाका सदरमुकाम जाने बाटो सबै क्षतविक्षत भएकाले आउन र जान पनि नसक्ने अवस्थामा रहेको बताइएको छ । स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०/१२ घरमा र फलेनी माविमा राखिएको छ ।

कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन् । बिजुली बत्तीसमेत छैन । खोला बढिरहेको छ अझै हट्ने सम्भावना छैन । “विगतमा पनि खोलामा बाढी नआएको होइन तर यसरी आएको पहिलोचोटि नै हो”, वडाध्यक्षले भन्नुभयो । राहतका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको र राहत पठाएमा पनि बाटो नभएकाले समस्या हुने वडाध्यक्षले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button