प्रतिशोधको धुनीमा धकेलिएको एमाले

प्रिय पाठकहरू नेपाल  कम्युनिस्ट पार्टी  एमालेको ऐतिहासिक पृष्ठभूमि मैले उजागर गरिरहनु पर्दैन । यो  सबैका सामु जगजाहेर नै छ । तर एमालेका नेताहरू र एमाले पार्टी बिचको भिन्नता भने छुट्टाउनु पर्छ । नेपाली राजनीतिक दलहरू मध्य नियमित बैठक ,आवधिक अधिवेशन, आलोचना, आत्मालोचना, नियमित प्रकाशन, प्रशिक्षण र यी सबै परिपाटीहरूलाई अङ्गालेको नेपाली मौलिक कम्युनिस्ट सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ जस्ता कुराहरूको आलोकले एमालेलाई अन्य पार्टी भन्दा उत्कृष्ट बनाएको थियो । यिनै परिपाटीहरूमा बाँधिएर काम गर्न अभ्यस्त थिए एमालेजनहरू ।

तर २०७५ ज्येष्ठ ३ गतेपछि एमालेको त्यो अभ्यास नेकपाको उदय सँगै लुप्त भयो । एमाले र माओवादी  केन्द्रको एकताबाट नेकपा किन बनाइयो ? र नेकपा किन  अटुट रहन सकेन ? यसको समीक्षा समयसँगैका गतिविधिहरूले गरिरहेका छन् । नेकपाको विभाजनले कम्युनिस्ट आन्दोलनलाई पारेको असरको पाटो छुट्टै छ । त्यो भन्दा पनि दुखद कुरा साबिक रूपमा फर्किने भनिएका पार्टीहरूभित्र देखिएको विग्रह हो ।

पाठक मित्रहरू तपाईँहरू मध्य कतिलाई एमाले नरुच्ला तर तटस्थ आँखाले हेर्दा आशालाग्दो , व्यवस्थित र भरोसा योग्य पार्टी एमाले नै हो । ५० को दशक यता विकासको आशा जगाउने ०५१ को ९ महिने एमाले सरकारलाई विकासे यात्राको जननी भन्दा अनुपयुक्त नहोला ।  विचारका हिसाबले नेपाली मौलिकता सहितको प्रगतिशील विचार ‘जनताको बहुदलीय जनबाद’ जस्तो वैचारिक सम्पति अरू कुनै नेपाली राजनीतिक दलहरूसँग छैन । पार्टी सञ्चालन पद्धतिको कुरा गर्दा एमाले जत्तिको लोकतान्त्रिक र समयनिष्ठ, चुस्त-दुरुस्त अभ्यास अरू पार्टीहरूले अझै अपनाउन सकेका छैनन् ।

आन्दोलनको कुरा गर्ने हो भने भूमिगत शैलीबाट प्रजातन्त्र पुनः स्थापनाका लागी पर्याप्त आधार तयार पार्ने योद्धा कम्युनिस्टहरू हुन् जति बेला काँग्रेस जन भारत प्रवासमा मस्त थिए । त्यसो त २०४६/०४७ को आन्दोलनमा मोर्चा निर्माण गर्ने श्रेय पनि जननेता स्व.२ मदन भण्डारीलाई नै जान्छ । २०४७ यता र गणतन्त्र उताको बिचमा राष्ट्रियता ,जनजीविका ,परिवर्तनको पक्षमा र जनहित विपरीतका सरकारी हरकतहरूको विरुद्धमा एमाले पार्टी कै भातृ सङ्गठनहरू अनेरास्ववियु , युवा संघ ,अनेम संघबाहेक कोही सडकमा देखिँदैनथे भन्ने यथार्थको पुष्टि गर्न पुराना पत्रपत्रिका र तस्बिरहरू खोजेर हेर्दा पुग्छ। गणतन्त्र प्राप्तिको आन्दोलनमा  एमालेको हुकार कस्तो थियो भन्नेबारे पाठकहरू नै भुक्तभोगी हुनुहुन्छ  । यस्तो विचार ,आन्दोलन र सङ्गठनले युक्त पार्टी एमालेको उचाइ भन्दा अग्लो उचाइ एमालेका कुनै व्यक्ति वा नेताको हुन सक्दैन ।

त्यसो त मैले लेखन प्रारम्भ मै एमाले पार्टी र नेता बिचको भिन्नता छुट्टाउनु पर्छ भनेको छु । ताकी नेताहरूले बुझुन् पार्टी भन्दा उत्कृष्ट व्यक्ति होइन र पार्टी बिना व्यक्तिको कुनै अस्तित्व छैन भन्ने कुरा । जवज भन्दा उत्कृष्ट विचार प्रतिपादन गर्न सक्ने  कोही त्यस्तो विचारवान व्यक्ति वा नेता बन्न सक्छ ? पार्टी जत्तिकै आन्दोलक कोही होला ? जसले परिवर्तनको आन्दोलन उठान गरोस् । जसले एमालेको प्रभावलाई माथ खुवाउन सक्छ, कुनै एक निहित व्यक्तिमा त्यस्तो शक्ति छ ?  कोही त्यस्तो व्यक्ति होला जो जनताबाट एमाले भन्दा ज्यादा विश्वसनीय होस् ? जुनसुकै कोणबाट निखार्दा पनि पार्टी भन्दा श्रेष्ठ व्यक्ति बन्न सक्दैन। एमालेबाट अलग गर्न कार्यकर्तालाई उद्वेलित गर्ने केही थान नेताहरूले किन बुझ्दैनन् एमाले कुनै व्यक्तिको नाममा दर्ता भएको व्यवसायीक कम्पनी होइन ताकी यहाँ हिस्साको हिसाब होस् । एमालेमा त पाँच(पाँच वर्षमा महाधिवेशनले कामको मूल्याङ्कन गर्छ । तर त्यो पाँच वर्ष पर्खिन सक्नुपर्छ । बरु एमाले को त्यो जेठ २ अघिको परिपाटी छिटो पुन:स्थापित गर अनि मात्र सबैको उचित मूल्याङ्कन हुन्छ र त्यो मूल्याङ्कन कार्यकर्ताले गर्नेछन् ।

फगत कुण्ठा र प्रतिशोधको धुनीमा धकेलेर एमालेलाई जलाउनुले को प्रताडित हुन्छ ? यति बेला दम्भ, कुण्ठा, प्रतिशोध ,रिस जस्ता सबै कुरा त्यागेर एमाले रोज्नु बाहेक अरू कुनै विकल्प छैन ।  आज एमालेसँग जो डराइरहेका छन् , एमाले प्रति जनताको आकर्षण देखेर जो जलिरहेका छन् । तिनैको उक्साहटमा हौसिएर मनको आत्मरतिमा रमाउनुको परिणाम भोलि पश्चातापको लागि रौँ सरी प्वाल नभेटिँदा थाहा हुन्छ । आखिर किन  र के का लागि पार्टीलाई खरानी बनाउँदै छौ ? यो प्रश्न लाखौँ एमाले कार्यकर्ताहरूको प्रश्न हो ।

एमाले विवेकी कार्यकर्ताहरू को पार्टी हो । नवौँ महाधिवेशनमा कार्यकर्ताले गुट हेरेनन् नत्र पार्टी भित्रका सबै मनोविज्ञान वा समूहको नेतृत्व कसरी निर्वाचित हुन सक्थ्यो ? त्यसैले एमाले सग्लो र बलियो हुँदा मात्रै सबै नेता कार्यकर्ताहरूको भविष्य सुनौलो हुन्छ । एमालेका सामुन्ने सबैका आरोप प्रत्यारोपहरू फिक्का छन् । किन कि एमाले भित्र अलिकति केही आशा गर्ने ठाउँ छ भने त्यो मात्र पार्टी हो । अन्यथा दम्भ, कुण्ठा , प्रतिशोधले जलेर नेताहरू नैतिकहिन आकर्षण शून्य भैसकेका छन् । ओली, नेपाल त यो काल खण्डका मात्र नेता हुन् । यिनको प्रतिशोधी लडाइँमा सिपाही बनेर एमाले ध्वस्त पार्ने अधिकार हामी कसैलाई छैन । अल्लि पर दूर दृष्टि राखेर हेरौँ त, एमालेको अर्को कालखण्डले हामीलाई कुरिरहेको छ । अतः व्यक्ति होइन पार्टी रोजौँ प्रतिशोधको धुनीमा धकेलिएको एमालेलाई जल्नबाट जोगाऊँ ।।

विवेक देवकोटा ( पोखरा )

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. ;सहि बिश्लेषण सबै ले मनन गराै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button