क्लब हाउसमा ‘फिल्म सिटी’ बारे बहस

फिल्म सिटीभन्दा फिल्म मेकिङमा ध्यान दिनुपर्नेमा सहभागीको जोड

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । पछिल्लो समयमा क्लवहाउसको प्रयोग गर्नेको संख्या बढिरहेको छ । क्लव हाउसमा विभिन्न गुप्र बनेका छन् । त्यहाँ विभिन्न विषयमा दैनिक रुपमा छलफल हुने गरेको छ । यसैक्रममा क्लवहाउस भित्रको चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको रुममा बुधबार ‘नेपालमा फिल्म सिटीको सम्भावना र चुनौती’ शिर्षकमा छलफल गरियो । छलफलमा सहभागीले फिल्म सिटीको सम्भावना र चुनौती भन्दापनि त्यसको आवश्यकता हो कि हैन भन्ने विषयमा आफ्नो भनाई राखे । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका अध्यक्ष अरुण गिरी र निवर्तमान सचिव सुसन घिमिरेले सहजीकरण गरेको छलफलमा सहभागी अधिकांशको भनाई अहिले नेपालमा फिल्म सिटीको आवश्यकता छैन भन्नेमा देखियो । फिल्म सिटीभन्दा फिल्म मेकरको दक्षता वृद्धि तथा बजार विस्तार बढी आवश्यक भएको तर्क उनीहरुको थियो ।

उनीहरुले १४ वर्ष अगाडि सरकारले फिल्म सिटीको घोषणा गरेपनि सो अनुसारको काम हुन नसक्नुमा दुरदर्शिताको अभाव रहेको बताए । हुनपनि २०६४ सालमा कास्की धितालको उपल्लो अस्ताम क्षेत्रलाई फिल्म सिटी बनाउने घोषणा गरेर काम थालिए पनि राजनीतिक खिचातानी तथा व्यक्तिगत स्वार्थका कारण काम रोकिएको थियो । त्यसपछि फिल्म सिटी कास्कीबाट अन्य ठाउँमा लगियो । पछिल्लो क्रममा दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी बनाउने घोषणा गरियो । त्यहाँ फिल्म सिटी बनाउने घोषणा भएको समेत लामो समय भइसकेको छ । घोषणा भएर हरेक वर्ष बजेट छुट्याइएपनि खासै काम हुन सकेको छैन । पछिल्लो क्रममा उक्क्त ठाउँ फिल्म सिटीको लागि उपयुक्क्त छैन भन्ने आवाज समेत उठ्न थालेको छ । अर्को कुरा सरकारले सातवटै प्रदेशमा छायाकंन स्थल छनोट गर्न लागेको छ । हरेक प्रदेशमा छायाकंन स्थलको खोजी भइसकेको छ । छायाकंन स्थल घोषणा हुन भने बाँकी छ । उता वनेपामा सुटिङ स्टुडियो बन्ने क्रममा रहेको छ ।

फिल्म निर्माता तथा निर्देशक केपी पाठक नेपालमा फिल्म सिटी भन्दा पनि इनडोर स्टुडियो चाहिएको बताउनुहुन्छ । मेरो विचार थोरै पृथक छ । नेपाल आफैमा फिल्म सिटी हो । त्यसो हुँदा हामीलाई फिल्म सिटी त्यति आवश्यक हैन जति हामीलाई इनडोर सुटिङ स्टुडियो चाहिएको हो । त्यो पनि जहाँ बढी फिल्म सुटिङ हुन्छ त्यसको नजिक हुनेगरी चाहिएको हो । सुटिङ गर्दा लिभिङ रुम खोज्न जानुपर्‍यो, ठुलो बिल्डीङ खोज्न जानुपर्‍यो । आउटडोर विल्डिङ, पुलिस कस्टडी, किचन रुम देखाउनुपर्‍यो या मन्दिर वा अन्य यस्तै दृश्य देखाउनुपर्‍यो भने कहाँ खोज्न जाने भन्ने हुन्छ । लोकेसन पाउन निकै गाह्रो हुन्छ । पहिलाको जस्तो निजी घरहरुले लोकेसन दिने अवस्था छैन । मैले आवश्यक ठाउँमा दिएको सल्लाह भनेको राजधानीको नजिकै एउटा इनडोर सुटिङ स्टुडियो चाहियो भन्ने हो । देशभरी पनि बनाउला, ठुलो फिल्म सिटी बनाउला । या प्रदेशमा स्थानीय फिल्म सिटी पनि बनाउदै गरौला । तर, पहिला हाम्रो आवश्यकता इनडोर सुटिङ स्टुडियो हो । फिल्म सिटी कसको लागि हो । किन चाहिएको हो खासै क्लियर भएजस्तो लाग्दैन । सरकार र विकास बोर्ड कतिको क्लियर छ कुन्नी । एउटा फिल्म फिल्म सिटीमा छायाकंन गर्नको लागि कति खर्च गर्न सक्छ । अनि वर्षमा कति फिल्म बन्छ । कति लगानी हुन्छ । निर्माण हुने फिल्मले फिल्म सिटी धानिन सक्छ कि सक्दैन भन्ने कुराले अर्थ राख्छ । सोही कारण फिल्म सिटी निर्माण हुन समय लाग्छ । विदेशी आएर नेपालको फिल्म सिटीमो छायाकंन गर्ने सम्भावना समेत म देख्दिन । इनडोरको लागि फिल्म सिटी जालान् तर आउटडोरको लागि त नेपालको सबै ठाउँ सुटिङ स्टुडियो हो नि । बनिबनाउ स्टुडियोमा फिल्म खिच्न उनीहरु आउँदैनन् । किनभने हाम्रो भन्दा उच्चस्तरीय फिल्म सिटी उनीहरुको देशमा हुन्छ । नेचुरल सिनको लागि मात्र उनीहरु आउने हुन् । अर्को कुरा फिल्म सिटीको लागि चाहिने बेसिक पुर्वाधार के हो भन्ने कुरा यहाँ थाहा भएजस्तो मलाई लाग्दैन । पाठकले भन्नुभयो ।

यसैगरी पत्रकार तथा प्राध्यापक सामीप्यराज तिमल्सेना फिल्म सिटीभन्दा फिल्म मेकिङमा ध्यान दिनुपर्ने सुनाउनुहुन्छ ।
चलचित्र विकास बोर्डले सातै प्रदेशमा स्टुडियो बनाउने पनि भन्यो । ५० लाख बजेट खर्च भइसक्यो । स्टक्चर बनाउन ज्यादा खर्च भइरहेको छ । बहस त्यतातिरनै बढी भएको छ । फिल्म सिटीको कुरा पहिला पोखरामा कुरा भयो पछि दोलखामा । तर यहाँ फिल्म सिटीको पर्पर युटिलाइजेशन हुन्छ कि हुन्न भन्ने चुनौती छ । हामीले जुन संख्यामा फिल्म बनाइरहेका छौँ त्यसले धान्दैन । हुनत एयरर्पोट लगायतका ठाउँमा सुटिङ गर्नुपर्दा समस्या भइरहेको छ । केही त्यस्ता संरचना चाहिन्छ । तर, फिल्म सिटी भन्दा फिल्म मेकिङमा ध्यान दिनुपर्छ भन्ने मेरो तर्क छ । राम्रो फिल्म बन्यो भने दर्शक बढ्छ । दर्शक बढे भने अन्य कुरा थपिदै जान्छन् । अहिले त फिल्म इण्डष्ट्रिज नै कतिबेला कोल्याप्स हुने हो भन्ने अवस्थामा पुगेको छ । किनकि नेपालमा राम्रो तरिकाले व्यवस्थापन गरेर फिल्म निर्माण भएको खासै छैन । जतिपनि भएका छन् एनआरएनएको नाम कमाउने रहरले भैरहेको छ । यसले केही चलायनमान भइरहेको छ । तर उनीहरुको अन्य कुनै नयाँ चिज देखे र त्यता मोडिए भने समस्या छ । हामी मुल मुद्दाबाट भड्किएका छौं । बहस गर्नुपर्ने चिजमा बहस गर्दैनौ । उहाँले गुनासो गर्नुभयो ।

यता चलचित्र पत्रकार संघ नेपालका महासचिव समिर बलामी फिल्म सिटी बनाउनुभन्दा पहिल्यै नेपाली फिल्मलाई बुझ्न जरुरी भएको बताउनुहुन्छ । दोलखामा फिल्म सिटीको सम्भावना नभएको दावी उहाँ गर्नुहुन्छ ।

हामीले कस्तो खालको फिल्म सिटी बनाउने हो भन्ने पहिले निक्र्यौल हुनुपर्छ । सरकारले कस्तो खालको फिल्म सिटी बनाउन खोजेको छ । फिल्म मेकरले कस्तो खालको फिल्म सिटी आवश्यक भएको महशुस गरेको छ र विकास बोर्ड कसरी लागेको छ भन्ने कुराले अर्थ राख्छ । देशका विभिन्न ठाउँमा फिल्म सिटी बनाउनको लागि प्रयास भए । कहिले पोखरा, कहिले लमजुङ, कहिले काभ्रे, अन्तिममा फिल्म सिटी दोलखामा बनाउनुपर्छ भनेर फाइनल गरियो । जुन कायमै छ ।

तर, नेपालमा चाहिएको फिल्म सिटी कस्तो खालको हो । फिल्म सिटीको बारेमा कतिको बुझेका छौ, हेरेका छौ, अध्ययन गरेका छौ भन्ने महत्वपूर्ण हुन्छ । सबैभन्दा पहिले फिल्म सिटी बनाउँदा नेपाली फिल्मलाई बुझ्न जरुरी छ । नेपाली फिल्म कसरी बन्छ । कुन–कुन तरिकाले हामीले बनाउने गर्छौ । फुल प्याकेज कसरी छायाकंन गरिरहेका छौँ । त्यो सबै कुरालाई कसरी एकै ठाउँमा व्यवस्थापन गर्न सक्छौ भन्ने कुरालाई नियालेर हेर्ने हो भने फिल्म सिटी छिटो बनाउनु पर्ने आवश्यकता छ । सरकारले चासो दिएको छ यो राम्रो पक्ष हो । तर जहाँ फिल्म सिटीको चर्चा भैराखेको छ त्यो उपयुक्त हो कि हैन भन्ने कुरा हो । अथवा त्यही ठाउँमा फुल प्याकेज हुन्छ की हुँदैन । नेपाली फिल्मलाई मात्र नहेरी नेपाललाई सुटिङको गन्तव्य बनाएर विदेशी फिल्म नेपालमा छायाकंनको लागि आउँदा त्यो फिल्मले हामीले बनाएको फिल्म सिटीमा बसेर फिल्म छायाकंन गर्न सक्छ की सक्दैन त्यो खालको व्यवस्थापन हामीले दिन सक्छौ की सक्दैनौ भन्ने कुराको चुनौती छ ।

दोलखामा फिल्म सिटीको लागि केही बजेट सरकारले खर्च गरिसकेको छ । त्यहाँ सबै खालका भौतिक पुर्वाधार तयार पार्न सकिन्छ कि सकिदैन सोच्नुपर्नेछ । त्यहाँ सहज तरिकाले पुग्न सकिन्छ की सकिदैन भन्ने कुरा उठ्ने गरेको छ । सोही कारण अहिलेसम्म राम्रोसँग काम हुन सकेन ।

नेपाली फिल्मलाई उपयुक्त हुने फिल्म सिटी कस्तो खालको हो । कस्तो खालको फिल्म सिटी खोजेका छौँ । कम्तिमा इनडोर तथा आउट डोर दुवै हुनेगरी छायाकंनकनको लागि आवश्यक पर्ने सबैकुरा समेटेर पुर्वाधार निर्माण गर्नु राम्रो हुन्छ । दोलखामा त्यो सम्भावना छैन ।

यो विषयमा चलचित्र विकास बोर्डले बहस सुरु गर्न सकेको छैन । सबै प्रदेशमा छायाकंनस्थल बनाउने भनेर काम थालेको छ । अब बहस सुरु होला । अध्ययन गरेर परिकल्पना गर्नुपर्छ । लामो अवधिलाई हुने गरेर निर्माण गर्नुपर्छ । केही सर्टको लागि मात्र फिल्म सिटीमा पुगेर हुँदैन । एकै ठाउँमा छायाकंन सक्ने हुन सक्यो भने राम्रो हुन्छ । फिल्म सिटीको आवश्यकता भने रहेको महासचिव बलामी बताउनुहुन्छ ।

पत्रकार श्रीधर पौडेल फिल्म सिटी साच्चिकै हामीलाई चाहिएको हो कि हैन भन्नेमा कन्फ्युजनमा रहेको बताउनुहुन्छ । हामीले कस्तो खालको फिल्म बनाउदैछौ । फिल्म सिटी नभएर हामी कति पछाडी परेका छौँ । फिल्म सिटी भएपछि कति अगाडि पुग्छ भन्नेमा बहस छैन । फिल्म सिटी नै बनाउ भनेर लारिहेका छौँ । किन र केका लागि भन्नेमा छलफल भएको छैन । फिल्म सिटी किन चाहिएको हो, कस्तो चाहिएको हो, केको लागि चाहिएको । हाम्रो स्कृप्टले के माग्छ । यसमा ध्यान दिनुपर्छ । फिल्मको अडियन्स बढाउन सके क्यापासिटी बढ्ने तर्क उहाँको छ ।

फिल्म निर्माता जितेन्द्र खतिवडा आफू फिल्म सिटीको आवश्इकता छैन भन्नेमा सहमत रहेको सुनाउनुहुन्छ ।

म फिल्म सिटीको आवश्यकता छैन भन्ने कुरामा सहमत छु । यो विषयलाई लिएर बारम्बार छलफल गरिरहेका छौ । सोही कारण हामीले हाम्रो पहिलो आवश्यकता के हो भनेर चलचित्र विकास बोर्डमा लेखेर पठाएको छौ । अहिलेको आवश्यकता फिल्म सिटी हैन । सरकारले लगानी गर्न खोजेको देख्दा लगानी गर्न पैसा सरकारसँग रहेछ भन्ने लागेको छ । अर्गनाइशेसन स्टेक्चर नभएको कारण हाम्रो चलचित्र उद्योग पछाडि परिरहेको हो । छुट्टयायएको बजेट अन्य ठाउँमा लगानी गरिदिउ । को–प्रोडक्सनमा हुनसक्छ, ओटीटी प्लेटफर्म क्रियट गर्नेमा, अन्तररिष्ट्रयको प्रोडक्सन टोली ल्याउनमा वा अन्तराष्ट्रि फिल्म फेस्टिझल गर्नमा हुनसक्छ । एउटा प्रदेशमा स्टुडियो बनाउन २, देखि ३ करोड जान्छ भने सातै प्रदेशमा २० देखि २५ करोड खर्च हुन्छ । त्यति पैसा सही ठाउँमा लगानी नहुनुनै गलत हो । अहिले फिल्म क्षेत्रको विकासको लागि भन्दापनि राजनीतिक फाइदालाई हेरिएको छ । यो गलत हो । बरु नेपालमा इन डोर स्टुडियोको भने आवश्यकता छ । स्टुडियोमा लगानी गर्ने पैसा बक्स अफिसमा लगानी गर्दियोस, चुहावट मापन गरिदियोस् अथवा पर्पर डिष्ट्रिब्युसन च्यानल खडा गरियोस् । त्योपनि भएन भने स्याटलाइट टेलिभिजनबाट नेपाली फिल्म सेयर गर्ने प्लेटफर्म बनाइयोस्, आवश्यकता यो पोे हो । खतिवडाले भन्नुभयो ।

निर्माता प्रविन टकी कार्की नेपालमा इनडोर स्टुडियो आवश्यक भएको बताउनुहुन्छ । नेपालमा एउटा इनडोर स्टुडियो चाहि आवश्यक भएको उहाँको भनाई छ । सानो संरचनाको स्टुडियो तर प्राविधिक रुपमा सबै कुरा भएको भए ठिक हुने उहाँको भनाइ छ ।

फिल्मकर्मी विकास सुवेदी फिल्म स्टुडियो भन्दा फिल्म मेकरको दक्षता अभिवृद्धि गर्नुपर्नेतर्फ लाग्नुपर्ने बताउनुहुन्छ । सबैभन्दा पहिले हामी कहाँ जादैछौ भन्ने कुरामा अन्योलमा छौ कि जस्तो लाग्छ । फिल्म भनेको एकदमै भेक कुरा हो । फिल्म भित्रका विभिन्न पाटोहरु छन् । हामी कस्तो फिल्मको मोडालिटीमा जादैछौ । नेपाली फिल्मको माडोलीटी के हो भन्ने कुरामानै कन्फ्युजनमा छौ । आफ्नै तरिकाले फिल्म बनाउने चलन छ । राज्यले प्रोत्साहन गर्दा कस्तो फिल्मलाइ प्रमोट गर्ने त भन्ने अवधारणा ल्याउनुपर्छ । हाम्रा कामहरु हेर्दा त्यस्तो देखिदैन । फिल्म स्टुडियोको उपयोगीता के हो, फिल्म स्टुडियो समाधान हो त सोच्नुपर्नेछ । अन्तराष्ट्रिय सिनेमाको पोइन्ट अफ भिउबाट हेर्दाखेरी हामी धेरै कमजोर देखिरहेका छौँ । बजार पनि बलियो नभइसकेको अवस्था छ । ठुलो रकम खर्च गरेर सिनेमा बनाउन सक्दैनौ । हामीले हाम्रै समाजका कथा भन्नुपर्छ । र, क्षमता बढाउन पहल गर्नुपर्छ । अनि बल्ल बजार र स्टुडियोको कुरा हुन्छ । पहिले गुड मेकर हुनसक्नुपर्छ । आफुले आफुलाई चिन्नुपर्छ । हामी दक्ष नभएकोले परिपक्क फिल्म बनिरहेका छैन । स्टुडियोभन्दा मेकरको दक्षता अभिवृद्धि गर्नुपर्छ भन्ने तर्क सुवेदीको छ । त्यसोत सुवेदीको जन्मस्थल कास्कीकोटको उपल्लो क्षेत्र सरकारले सातै प्रदेशमा बनाउन लागेको छायाकंन स्थल अन्तगर्त गण्डकी प्रदेशको लागि छनोट भएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button