गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

पोखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा आज विश्वासको मत लिँदै हुनुहुन्छ ।कार्यसूची अनुसार आज ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत माग्नुहुनेछ ।

काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लाग्नुभएको हो ।

जेठ २९ गते संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका पोखरेलले सदनबाट ४ असारमा विश्वासको मत लिने भनेर नेपाली काँग्रेस संसदीय दलले बुधवार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएको थियो ।

प्रदेशमा नयाँ सरकार गठन लगत्तै मन्त्रालय विभाजनमा देखिएको अन्यौलता हटाउन विश्वासको मत छिटै लिन लागिएको बताइएको छ ।

विश्वासको मत लिएपछि मात्रै वर्तमान मन्त्रीहरूको कार्य विभाजन र मन्त्रीपरिषद् थप विस्तार गर्ने योजनामा मुख्यमन्त्री पोखरेल रहनुभएको छ । पोखरेल नेतृत्वको सरकारमा काँग्रेसबाट कुमार खड्का, नेकपा माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ बिना विभागीय मन्त्री रहेका छन् ।

सरकारले विश्वासको मत लिनु अघि नै नीति तथा कार्यक्रम पारित गरी बजेट पेस गरेको छ । सामान्यतया बजेट पेस गरेको भोलिपल्ट नै बजेटमाथि छलफल प्रारम्भ गरिने भएता पनि प्रदेशमा विश्वासको मत लिएपछि मात्रै छलफल गर्ने तयारी गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button