संघर्ष कहिल्यै सकिदैनः अभिनेत्री सुरक्षा पन्त

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । फिल्म ‘अझैपनि’ बाट डेब्यु गर्नुभएकी अभिनेत्री सुरक्षा पन्त नेपाली फिल्म क्षेत्रमा बौद्धिक अभिनेत्रीको रुपमा परिचित हुनुहुन्छ । उहाँले आमा, धनपति, रोमियो एण्ड मुना, चंगाचेट, गोपी, घर, भैरे आदि फिल्ममा अभिनय गरिसक्नुभएको छ ।

बुटबलमा जन्मनु भएकी पन्त पछिल्लो समय क्लव हाउसमा सक्रिय देखिनुहुन्छ । विभिन्न विषयमा हुने छलफलमा सहभागी बन्ने गर्नुभएकी उहाँले आफ्ना विचार तथा अनुभवहरु खुलेर राख्ने गर्नुृभएको छ । यसैक्रममा क्लवहाउसको ‘सिनेमा संवाद रुम’मा सहभागी बन्दै उहाँले कलाकारको संघर्ष कहिल्यै नसकिने भनाई राख्नुभयो । एकपछि अर्को गर्दै संघर्षले पछ्याउने भएकोले ती संघर्षसँग जुध्दै रमाउदै अगाडि बढ्न सके सफल बन्न सकिने तर्क उहाँको छ । नेपाली सिनेमा क्षेत्रमा केही पुराना सोच बाँकी नै रहँदा कलाकारलाई अगाडि बढ्न समस्या पर्ने गरेको समेत उहाँले सुनाउनुभयो । कलाकारिता क्षेत्रमा गरिने संघर्ष तथा आफ्नो अनुभवका बारेमा उहाँ यसो भन्नुहुन्छ ।

सुरक्षा पन्त
कलाकारिता क्षेत्रमा पहिलेदेखिको पुरानो एउटा सोच हावी छ । त्यो के भने केही पढेनौ वा केही गर्न सकेनौ भने सिनेमा क्षेत्रमा जान्छौ, हिरो हिरोइन बन्छौ । हुनत समयको गति सँगैअहिले केही हदसम्म यसमा कम भएको भने पाइन्छ ।

मैले विश्लेषण गर्दा यो यात्रालाई सायद इञ्जिनियरिङ पेशाबाट आएको एकजना व्यक्ति भएको हुनाले धेरै जनाले पढेलेखेको हो भन्ने हिसाबले मलाई लिनुभएको हो जस्तो लाग्छ । तर बौद्धिकता केलाई भन्ने । बोल्नुलाई बौद्धिकता भन्ने कि । नबोलीकन गर्नेलाई बौद्धिकता भन्ने । मैले आफ्नो इञ्जिनियरिङ क्षेत्रको बौद्धिकता कलाकारिता क्षेत्रमा ‘रिफ्लेक्ट’ भएर नआओस् भनेर कोसिस गरिरहेको हुन्छु । हुनपनि कलाकार आफै बौद्धिक मानिस हो । कलाकार समाजको लागि एउटा बौद्धिक पात्र हो भन्ने कुरा स्थापित गर्न एकदमै आवश्यक छ त्यसको लागि म संघर्षमानै छु ।

बरु संघर्ष भन्ने चिज धेरै ठाउँमा हुने रहेछ । संघर्ष एक पछि अर्को गर्दै आउने रहेछ । कहिल्यै बन्द नै नहुने । हामी एउटा पोजिसनमा पुगेपनि वा पुग्दै गरेपनि फेरि अर्को खुड्किलो आइहाल्छ । झनै कलाकार भइसकेपछि जीवनभरनै संघर्ष भइरहने रहेछ । पहिला एउटा कुरामा संघर्ष हुने रहेछ । एउटा पोइन्टमा गइसकेपछि फेरि अर्को कुरामा संघर्ष सुरु हुन्छ । संघर्ष कहिल्यै नसकिने अवस्था छ । संघर्षलाई म इन्धनको रुपमा लिन्छु । जसका कारण अगाडि बढ्न उर्जा मिल्छ । कलाकारको लागि संघर्ष व्युटिफूल चिज हो । सबै कलाकारका आ–आफ्नै खालका संघर्ष छन् ।

भर्खर आउने कलाकारहरुको पहिलो संघर्ष भनेको नै कलाकारिता क्षेत्रमा कसरी छिर्ने भन्ने हुन्छ । यो संघर्ष एकदमै ठुलो हुने रहेछ । कलाकारिता क्षेत्रमा प्रवेश गर्ने ढोका कहाँ छ, कताबाट जाने, कसलाई भन्ने, कसका ढोका ढकढकाउने भन्ने नै पहिलो संघर्ष हुँदोरहेछ । मैले त्यतिधेरै महसुस किन गरिन भने मलाई ‘डिस्कभर’ गरिएको थियो ।

सुरुमा म टेलिभिजन प्रस्तोता हुने सोचमा थिए । इञ्जिनियरीङको विद्यार्थीसँगै टेलिभिजन प्रस्तोता हुने इच्छा बोकेर हिडिरहेको थिए । मलाई टेलिभिजन प्रति औधी लगाव थियो । अर्को कुरा मिडिया पर्सनालिटि हुने रहर समेत उस्तै । साइड वाई साइड दुईवटै काम गर्छु भन्ने सोच बनाएको थिए । तर त्यतिबेलाको समयमा ‘एक्टर’ हुन्छु भनेर कहिल्यैपनि सोचेको थिइन ।

यही क्रममा कुनै एउटा कार्यक्रममा टेलिभिजनमा काम गर्ने कम्पिटिसनका लागि म पुगे । सोही कार्यक्रममा मलाई स्वर्गीय आलोक नेम्वाङ दाइले देख्नुभयो । उहाँले अभिनय क्षेत्रमा अगाडि अफर गर्नुभयो । त्यसैले म आफूलाई अलिकति लक्की ठान्छु । सुरुवाती क्रममा छिर्नको निम्ति कोही व्यक्तिले मेरो लागि ढोका बनाइदिनु भएको थियो ।

ढोकाबाट छिरेर मात्र हुने रहेनछ । स्ट्रगल गरेर प्यासनका साथ अगाडि बढ्नु अर्को संघर्षको चरण थियो । सोही कारण पहिलो सिनेमा गरेपछि बिचमा केही समय सिनेमा गरिन । ग्याप नै बसे । पर्दा पछाडि बसेर अपडेट भइरहन्थे । प्रत्यक्ष काम गरिन । आफुलाई संघर्षरत कलाकारकै रुपमा राखेर काम गरे । एक्टिङ गर्छु भनेर मनमा नलिसकेपछि मानिस अलमलिन्छ । सोही कुरा बुझ्न म रोकिएको थिए । किनकि कुनै पनि काम गर्दा किन त्यो काम गर्दै छु भन्ने मनमा लिन नसके अलमलिन्छ । अगाडि बढ्न सकिन्न ।

स्ट्रगल गरेर प्यासनको रुपमा अगाडि बढ्ने निधो गरेपछि संघर्षको अर्को चरण सुरु हुन्छ । ढोका ढकढकाउने कुरा, आफ्नो पर्फमेन्स देखाउने कुरा, मानिससँग कुरा गर्ने अवसरका लागि कति ठाउँमा पुग्ने भन्ने रहन्छ । विस्तारै आफ्नो काम केही हदसम्म ‘नोटीस’ भयो अवसर पाइयो । फेरि अवसर पाइसकेपछि अर्को संघर्ष आउने रहेछ ।

वास्तविक राम्रो प्रोजेक्टमा काम गर्ने मौका पाउनु अर्को संघर्ष हो । किनकि सफल हुन काम गरेर मात्र हुँदैन । राइट प्रोजेक्टसँग कनेक्ट हुन सक्नुपर्छ । आफ्नो ‘क्राप्ट’ राम्ररी देखिनुपर्छ । राम्रो प्रोजेक्ट ठ्याक्क क्लिक नहुने अर्को संघर्ष हो । काम त धेरै गर्ने तर नोटीस नहुने स्टाइलको संघर्ष हुँदोरहेछ । यो मनमा धेरै पिन्च हुने खालको संघर्ष हो । एकदमै धेरै काम गरिरहेको हुन्छ । काम नोटिस भइरहेको हुँदैन । त्यतिबेलानै कहिलेकाही धैर्यताको बाध फुट्न जान्छ । यो संघर्षबाट पार पाए अर्को संघर्ष ठोक्कीने रहेछ ।

राइट प्रोजेक्टमा काम गर्दाखेरी समेत आफ्नो स्किल, आफ्नो क्राप्टलाई त्यहाँ वास्तविक रुपमा देखाउन सक्नुहुन्छ कि सक्नुहुन्न । यो संघर्ष अर्को ठुलो सर्घष हो । ड्रामिस्टिक ट्यालेन्ट, आर्टिस्टिक ट्यालेन्ट बोकेर आउँछ कलाकार त्यसलाई एक्सप्रेस गर्न सक्ने नसक्ने संघर्ष अर्को गाह्रो कुरा हो । प्रोजेक्टहरु पाउन थाल्नुभयो भने फेरि अर्को संघर्ष सुरु हुन्छ । आफू जस्तै कलाकार यति धेरै हुनुहुन्छ फिल्म क्षेत्रमा । उहाँको स्किल, ट्यालेन्ट लाई मनन गर्दै आफ्नो ओर्जिनालीटीलाई मेन्टेन गर्ने । यस्तो बेला आफ्नो स्किल आवश्यक पर्छ । ऊ यसमा राम्रो छ मेरो यो राम्रो छ भन्ने कुरा पहिचान गरेर अगाडि बढ्नुपर्छ । म अरु भन्दा के चिज फरक गर्नसक्छु भन्ने खोज समेत एउटा संघर्ष हो । त्यो संघर्ष मैले अहिलेपनि बोकेर हिडिरहेको छु । योसँगै आउने अर्को संघर्ष पैसा कमाउनु प¥यो भन्ने हो । आफ्नो एक्टिङ स्किलबाट कसरी पैसा कमाउन सकिन्छ, डिमान्ड गर्न सकिन्छ, काफ्टलाई कसरी मनिटाइज गर्न सकिन्छ भन्ने झनै ठुलो कुरा हुन्छ । राम्रो कलाकारले पैसा भन्दा कला देखाउन महत्व दिन्छ भन्दै कति निर्माताले थोरै दिनुभएको हुन्छ । यसरी काम गर्दा आर्ट सस्तो हुन्छ । सम्झौता गर्र्दै पैसा कमाउन अर्को संघर्ष हुन्छ ।

चिनियो र पैसा कमाइयो भने सक्सेस भयो भन्ने चलन छ । सक्सेससँग सन्तुष्ट हुने हो कि हैन भन्ने अर्को प्रश्न खडा हुन्छ । अब आफ्नो कामलाई सोलो डाउन गर्नेकी, सो अप गर्ने भन्ने च्यालेन्ज अर्को सर्घष हो । चुचुरोमा पुगेपछि चुचुरोमा झण्डा घुमाएर बस्ने हो कि तल झर्ने हो । यही क्रममा मिडियाको संघर्ष आउँछ । एक्सपोज हुने कि डिमान्डमा जाने । यसरी हेर्दा सघर्ष भन्ने चिज सकिदै सकिदैन । एउटा पोइन्टमा पुगेपछि अर्को सिच्युयसन फेस गर्नुपर्छ । हरेक चिजलाई संघर्षको रुपमा लिएर त्यहीबाट प्राप्त इनर्जीलाई लिएर धेरैले काम गर्नुहुन्छ जस्तो मलाई लाग्छ । संघर्ष गर्न कहिल्यै थाक्नु हुँदैन ।

कुनैपनि स्टोरी टेलिङ गर्न पाउनुनै कलाकारको लागि ठुलो अवसर हो । सबैले कथा भन्न पाउँदैन । यस्तो प्लेटफर्म पाउँदैनन् । सेलिब्रेटी भएर उभिन पाउनु ठुलो अवसर हो । मनदेखि गर्न पाएको चिजबाट नाम काम र दाम पाउन सक्नु भनेको जस्तो राम्रो केही हुँदैन भन्ने कुरालाई मनन गर्दै कलाकार अगाडि बढ्नुपर्छ । कलाकारिता क्षेत्रमा विभिन्न आयाम छन् । एक्टिङ मात्र सबैथोक होइन । निर्माण, प्राविधिक पक्षदेखि लिएर प्राध्यापन गर्ने अवसर समेत यो क्षेत्रबाट मिल्न सक्छ । आफूलाई सोही अनुसार प्रस्तुत गर्न सक्ने हो भने यो क्षेत्रमा गरिने संघर्ष अविस्मरणीय बन्छ ।

तस्विर: सुरक्षा पन्तको फेसबुकबाट ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button