बागलुङमा भत्किएका सडक पुनर्निर्माण गरिनेः विस्थापितलाई घर फर्काइने

पोखरा न्यूज । बागलुङ नगरपालिकाको विपद् व्यवस्थापन समितिले बाढी पहिरोले भत्किएका र भासिन थालेका ग्रामीण सडकसहितका संरचना पुनर्निर्माण गर्ने भएको छ ।

समितिका अध्यक्ष लक्ष्मी बोहोराका अध्यक्षतामा शुक्रबार बसेको बैठकले भत्किएका र भासिन थालेका ग्रामीण सडकसहितका पूर्वाधार क्षतिको विवरण सङ्कलन गरेर प्राथमिकतका आधारमा पुनर्निर्माण गर्ने निर्णय गरेको समितिका सदस्य नारायण शर्मा पौडेलले बताउनुभयो । प्रत्येक वडाध्यक्षको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन समितिको निगरानीमा उपभोक्ता समितिमार्फत भत्किएका र भासिन थालेका पूर्वाधारहरु बनाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

झण्डै एक साताको लगातारको वर्षाका कारण आएको बाढीपहिराले बागलुङका अधिकांश ग्रामीण सडक, मालढुङ्गा कुश्मीसेरा सडक, कालीगण्डकी करिडोर, सिगाना, तित्याङ, भकुण्डे र रायडाँडासम्म पुग्ने अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि ग्रामीण क्षेत्रबाट ढुवानी हुने दूध, खाद्यान्न, तरकारी र अत्यावश्यक सेवा पनि रोकिएका छन् । मालढुङ्गास्थित काठेखोला पुल भत्किएपछि पैदलयात्रा समेत रोकिएको छ । ठेक्का प्रक्रियामा जाँदा ढिलो हुने भएकाले भएकाले उपभोक्ता समितिमार्फत मर्मतसम्भारको काम गराउने निर्णय भएको समितिका अर्का सदस्य जीवन आचार्यले जानकारी दिनुभयो ।

बैठकले पहिलो प्राथमिकतामा ग्रामीण सडक मर्मतको एजेण्डा राखेको छ । घरगोठ भत्केर विस्थापित भएका परिवारलाई पनि प्राथमिकतामा राखेर पुनस्र्थापना गर्ने योजना छ । ती सबै कामका लागि वडा तहको विपद् व्यवस्थापन समितिमा रहेको बजेट खर्च गरिने निर्णय भएको बताइएको छ । यस कार्यका लागि नगरपालिकाले पनि आवश्यक बजेट विनियोजन गर्ने र अन्य श्रोतको समेत खोजी भइरहेको छ । “वैशाखदेखि असारसम्म खर्च हुन नसकेका बजेटलाई समेत विपद् व्यवस्थापनमा खर्च गर्ने गरी रकमान्तर गर्न सकिन्छ”, सदस्य आचार्यले भन्नुभयो, “यसतर्फ आवश्यक गृहकार्य भइरहेको छ ।”

जिल्लाका अन्य पालिकाले पनि अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास थालेका छन् । उपभोक्ता समितिको सक्रियतामा सडक मर्मतका लागि केही स्थानमा पालिकाबाट रकम जुटाइएको छ भने कतिपय स्थानमा श्रमदानमा काम भइरहेको छ । बडिगाड गाउँपालिकाले जलजला, दर्लिङ र रणसिंकिटेनी जाने सडकलाई मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउने काम थालेको अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो । ढोरपाटन नगरपालिका—६ का उपभोक्ताले पनि श्रमदानमार्फत सडक मर्मतको काम थालेको वडाध्यक्ष लक्ष्मण पुनले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button