फिल्म ‘सुनिमाया’ माथि छलफल

गण्डकी प्रदेशमा चलचित्र विकास वोर्ड आवश्यक

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । गुरुङ फिल्म ‘सुनिमाया’ माथि छलफल गरिएको छ । गुरुङ फिल्म एशोशिएसन नेपाल जिफानको आयोजनामा शनिबार भर्चुअल माध्यमबाट यो फिल्मको बारेमा छलफल गरिएको हो ।

सुनिमाया भकारी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण गरिएको प्रेम कथामा आधारित फिल्म हो । यसै फिल्मबाट कृष्णकुमार गुरुङले फिल्म लेखन तथा निर्देशनमा डेब्यू गर्नुभएको थियो । छलफल कार्यक्रममा सहजिकरण गर्दै निर्देशक गुरुङले पौराणिक लोक भाका सुनिमायाको बारेमा अनुसन्धान गरेर कथा लेखेको जानकारी दिनुभयो । बुढापाकासँग जानकारी लिएर फिल्मको कथा तयार पार्न झण्डै २ महिना लागेको उहाँको भनाइ छ ।

सुनिमायाको काम २०६१ साल चैत्रबाट सुरु भएको थियो । २०६२ सालको जेठमा छायाकंन सुरु भएको फिल्मको छायाकंन साउनमा सकियो । फिल्मको प्रदर्शन २०६३ सालमा भयो । गण्डकी प्रदेशमा परापुर्बकालदेखि गाउँदै आएको लोक कथामा आधारित सुनिमाया वियोगान्त फिल्म हो । सुनिमाया नामकी कन्या र गोठाले बीचको प्रेम कथा फिल्मको मुख्य विषयवस्तु हो । फिल्ममा सुनिमायाको जन्मदेखि मृत्यु सम्मको विषयलाई समेटिएको छ । झण्डै साढे दुई घण्टा अवधिको फिल्मलाई त्यतिबेला दर्शकले रुचाएको निर्देशक गुरुङले बताउनुभयो । फिल्ममा खेम गुरुङ, कुन्ती लामा, चन्द्र मगर, जैसरा मगर, सुर्य गुरुङ, माओत्से गुरुङ, कृष्मा गुरुङ, सुबा गुरुङ आदिको अभिनय हेर्न पाइन्छ ।

फिल्ममा केही कमीकमजोरी हुनु स्वभाविक भएपनि आफूलाई यो फिल्म मनपर्ने उहाँले सुनाउनुभयो । भावनात्मक संवादका कारण समेत दर्शकले फिल्म मनपराएको उहाँले खुलाउनुभयो । फिल्म सुर्खेतमा समेत लगातार एक हप्ता प्रदर्शन गरिएको उहाँले स्मरण गर्नुभयो । भर्चुअल छलफल कार्यक्रममा सहभागीले उठाएका जिज्ञासा निर्देशक गुरुङले मेटाउनुभएको थियो ।

हालसम्म एक दर्जन बढी फिल्म निर्देशन गरिसक्नुभएका गुरुङको पछिल्लो फिल्म ढ्याङ्ग्रो निर्माणाधिन अवस्थामा छ । सोही छलफल कार्यक्रममा बोल्दै निर्देशक गुरुङले चलचित्र क्षेत्रको विकासको लागि गण्डकी प्रदेशमा चलचित्र विकास वोर्ड स्थापना गर्नु आवश्यक भएको समेत तर्क गर्नुभयो । यो विषयमा प्रदेश सरकारसँग कुरा गर्दै पोखरालाई फिल्म सिटीको रुपमा विकास गर्न पहल गर्नुपर्नेमा उहाँको जोड थियो ।

जिफानले फिल्ममाथि छलफल गर्ने कार्यक्रम गत जेठ २२ गतेबाट सुरु गरेको हो । यो छलफल कार्यक्रममा सहभागी हुन पहिले जिफानले तोकेको फिल्म हेर्नुपर्ने हुन्छ । फिल्म हेरिसकेपछि जिफानले आयोजना गर्ने छलफल कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिनुपर्छ ।

यसरी भर्चुअल माध्यमबाट जोडिएपछि छलफल कार्यक्रमका लागि तोकिएका सहजकर्ताले उक्क्त फिल्मको बारेमा आफ्नो समिक्षात्मक प्रस्तुति राख्नुहुनेछ । त्यसपछि भर्चुअल माध्यमबाट जोडिनुभएका साथीहरुको कुरा सुन्ने र उहाँहरुका जिज्ञाशा मेटाउने प्रयास गरिनेछ ।

जिफानका अध्यक्ष एवं यो कार्यक्रमका संयोजक भोजबहादुर गुरुङले नयाँ भेरियन्ट सहितको कोरोना महामारीको समयमा ठप्प बनेकोे फिल्मी क्षेत्र तथा निष्क्रिय बनेका फिल्मकर्मीलाई सकृय बनाउने अपेक्षाले कार्यक्रम सुरुवात गरेको बताउनुहुन्छ । ‘प्रत्येक हप्ता स्वदेशी तथा बिदेशी फिल्म सामाजिक सञ्जाल युट्युब मार्फत हेरि उक्त फिल्म माथि भर्चुअल माध्यमबाट अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्ने हामीले निर्णय गरेका हौँ’ अध्यक्ष गुरुङले भन्नुभयो । यस कार्यक्रममा सबै गुरुङ फिल्मका कलाकार, प्राबिधिक, निर्माता तथा निर्देशकलाई सहभागी बन्न उहाँको आग्रह छ ।

कार्यक्रमको पहिलो श्रृखलामा हिन्दी फिल्म ‘द लञ्च बक्स’ माथि छलफल गरिएको थियो । आगामी श्रृंखलामा फेरि अर्को फिल्मको बारेमा यसरीनै छलफल गरिने जिफानका कार्यकारी सचिव तथा प्रचारप्रसार बिभाग प्रमुख रमेश गुरुङले जानकारी दिनुभयो ।

कोरोना कहरका कारण मिलेको फुर्सदको समयमा फिल्म हेर्ने, फिल्मको बारेमा बुझ्ने, आफ्नो भनाई राख्ने गर्दा फिल्मकर्मीलाई नयाँ ज्ञान आर्जन हुने जिफानको विश्वास छ । यो कार्यक्रमले मौलिक पहिचानको राष्ट्रिय चलचित्र निर्माण गर्ने अभियानमा सघाउने तथा नियमित रुपमा फिल्म हेर्ने बानीको विकास हुने अपेक्षा जिफानले गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button