मस्र्याङदीको तटीयक्षेत्रमा बसोबास गर्नेहरुले उच्च सतर्कता अपनाउन प्रशासनकाे अनुरोध

पोखरा न्यूज । मनाङकाे चामेमा मस्र्याङदी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको पानीका कारण आसपासका जिल्लामा बसाेबास गर्नेहरु प्रभावित हुन सक्ने भन्दै सचेत रहन प्रशासनले आग्रह गरेकाे छ । मनाङ, लमजुङ, तनहुँ र गोरखा जिल्ला भएर बग्ने मस्र्याङ्दी नदी मनाङमा भारी वर्षाको कारण बाढी तथा पहिरो गएर थुनिन गई जलस्तर बढ्न गएकाे छ ।

जिल्ला प्रशासन तथा स्थानीय तहहरुले जमेको पानी जुनसुकै बेलामा पनि फुट्न सक्ने भएकाले साे नदी आसपासको तटीयक्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

मनाङकाे चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङदी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको हाे । वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो ।

माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मस्र्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको हाे । थुनिएको भागबाट मस्र्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ । यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ । सिङ्गो चामेबजार जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत कटान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ ।

लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताउनुभयो । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button