कोरोनाका कारण सांगीतिक क्षेत्रमा थपियो चुनौती

आम्दानीको क्षेत्र बन्द हुँदा कलाकारलाई ठुलो मार

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । लगातार आयोजना हुने मेला महोत्सवको चाप । देश भित्र र बाहिर आयोजना हुने विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम । साँझमा दोहोरी साँझ, रेष्टुरेन्ट, बार तथा डिस्कोमा राख्ने प्रस्तुति । नयाँ पुस्तालाई सांगीतिक ज्ञान हस्तान्तरण तथा विभिन्न कार्यक्रममा निणार्यकको जिम्मेवारी पनि । यसका अलावा युट्युब मार्फत प्राप्त आम्दानी समेत । यसरी कार्यक्रममा व्यस्त हुँदै आफ्नो दैनिकी चलाइरहेका संगीतकर्मी अहिले समस्यामा परेका छन् । कोरोना कहरका कारण लामो समयदेखि यस्ता गतिविधि ठप्प छन् । आम्दानीको सबै क्षेत्र रोकिदा उनीहरुलाई जीवन चलाउन मुस्किल पर्न थालेको छ । जसका कारण केही संगीतकर्मी शहरबाट गाउँ फर्किए । कतिले वैकल्पिक पेशा अपनाउदै जीवनयापन गर्ने प्रयास गरेका छन् । केही संगीतकर्मी यो क्षेत्रबाट विस्थापित हुने अवस्थामानै पुगेका छन् ।

यसरी यो क्षेत्रबाट पलायन हुन बाध्य हुनुपर्ने अवस्था सिर्जना भएका संगीतकर्मीलाई यो क्षेत्रमा टिकाउन ठुलो चुनौती देखिएको छ । अहिलेको महमारीको अवस्थाको अन्त्य कहिले हुने हो भन्ने एकिन नहुँदा धैर्य गरेर बसेका संगीतकर्मीलाई समेत विकल्प खोज्नुपर्ने बाध्यता पर्न थालेको छ । यही क्षेत्रमा लागेर कमाएको आफ्नो नाम तथा प्रतिष्ठालाई जोगाउन समस्यामा परेपनि केही कलाकारले आफ्नो पिडा लुकाइरहेका छन् । तर, यो अवस्था निरन्तर अगाडि बढ्दा उनीहरु आफ्नो पिडा भन्न र विकल्प खोज्न बाध्य हुनुपर्ने अवस्थामा पुग्न थालेका छन् ।

यसरी कोरोना कहरका कारण नेपाली सांगीतिक क्षेत्रमा देखिएको चुनौती र यी चुनौतीको समाधानका लागि अबको बाटो के होला भन्ने विषयमा पोखरा न्युजसँग कुरा गर्दै गायक रामभक्त जोजिजू, विनोद वानिया, अविनाश घिसिङ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराका अध्यक्ष सुरेन्द्र गुरुङ यसो भन्नुहुन्छ ।

गायक रामभक्त जोजिजू

अहिलेको परिस्थितिले गीत गाएर, संगीत भरेर वा नृत्य गरेर आफ्नो जीवीकोपार्जन गर्दै जिन्दगीलाई अगाडि बढाइरहेका कलाकारहरुलाई घर भित्रै थुनिएर बस्नु पर्ने बाध्यता बनाएको छ । यो बाध्यता कारण कलाकार मर्कामा परेका छन् । अब यो स्थितीलाई चिर्दै धैर्यता अपनाएर अगाडि बढ्नु सिवाय अरु केही उपाय देखिदैन । यो समयलाई अबसरको रुपमा लिएर समयको सदुपयोग गर्न सक्नु नै कलाकारको बुद्धिमानी ठहरिने छ जस्तो मलाई लाग्छ ।

हामीले संगीतबाट कमाएको पुंजी लापरबाही तरिकाले खर्च गरि उडाउनु हुँदैन रहेछ भन्ने शिक्षा समेत कोरोनाले सिकाएको छ । अब यस्तो विपतको बेलाको लागि भनेर आम्दानीको केही हिस्सा जम्मा गर्नुपर्ने पाठ कलाकारलाई सिकाएको छ । किनभने यस्तो बेलामा त्यसरी बचत गरेको आम्दानी खर्च गर्न सकियोस् । हामीले नेगेटिभ रुपबाट भन्दा पोजेटिभ तरिकाले सोच्नु पर्ने स्थिती आएको छ । जस्ले गर्दा हाम्रो जीवनमा अझै काम गर्ने उर्जा मिलोस ।

यो अवस्थामा घरमै बसेर संगीत सृजना गर्नु, आफ्नो ज्यानलाई जोगाउनु, लापरबाही नगर्नु, दुःख पछि सुःख आउँछ भन्ने मानसिकता बनाएर कर्म गर्दै जानु, सुःखमा नमात्तिनु दुःखमा नआत्तिनु भन्ने कुरालाई मुल मन्त्र ठानेर आफुमा धैर्यता राख्न सक्ने क्षमता कलाकारमा हुनुपर्छ ।

अर्को कुरा कलाकारलाई परेको समस्याको समाधान भनेको सरकारको तर्फबाट कलाकार कोष खडा गर्नुपर्छ । अहिले जो–जस्लाई मार परेको छ उनीहरुलाई सहयोग गर्नुपर्ने हुन्छ । किनकी प्रतिभावान् कलाकारहरुलाई संरक्षण गर्नु सहयोग गर्नु राज्यको कतव्र्य हो । कलाकार राज्यको सम्पत्ति हुन् । कलाकार भनेका राष्ट्रका गहना भनेर भन्ने तर समस्यामा परेको बेला राज्यले वास्ता नगर्ने प्रबृत्ति हुनुहुँदैन । त्यसैले कलाकारको संरक्षण र सम्बर्धनको लागि राष्ट्रिय स्तरबाट कलाकार कोष खडा गरियोस् भन्ने मेरो आग्रह हो । यस्तो कोष भयो भने समस्यामा परेका कलाकारलाई सहयोग गर्न सकिन्छ ।

गायक विनोद वानिया

सबै क्षेत्रमा कोरोनाले वितण्डानै मच्चायो । हाम्रो सांगीतिक क्षेत्रपनि अछुतो रहन सकेन । अब हामीमाझ धेरै चुनौतीहरु छन् । कलाकारहरु असाध्यै मारमा छन् । व्यवसाय धरासायी बनेको छ । जसले गीत गाएर, गीत बनाएर, रेकडिङ गरेर जीवीकोपार्जन गर्ने गर्थे । उनीहरु कामविहिन बनेका छन् । गीत सुन्ने माहोल छैन । गीत बनाउने माहोल छैन । रेकडिङ गर्ने, कम्पोज गर्ने, लेख्ने, गाउने माहोल छैन । यो सबै कारेनाका कारणले भएको हो । गीत संगीत बनाउनको लागि मुख्य कुरा आर्थिक पाटोसँग जोडिन्छ । अहिले कलाकारको आम्दानी हुने क्षेत्र बन्द छन् । सोही कारण कलाकार ठुलो समस्यामा परेका छन् ।

अब यस्तो अवस्थामा जीवनयापनलाई सहज बनाइदिन सरकारले सम्बोधन गर्नुपर्ने हुन्छ । किनकी आम्दानी नहुँदा पिडामा रहेका कलाकारको लागि राम्रो व्यवस्थापन जरुरी छ । अहिले कोरोनाका कारण धेरै कलाकार आफ्नो पेशानै परिवर्तन गर्ने बाध्यतामा आइपुग्नुभएको छ । कलाकार यो क्षेत्रबाट विस्थापित हुनु राम्रो होइन ।

कोरोनाले समस्या पारेको आर्थिक पाटोमा नै हो । किनकी हरेक क्षेत्रमा अगाडि बढ्न तथा दैनिक जीवनयापन गर्न आर्थिकको ठुलो महत्व हुने रहेछ । सोही कारण केही कलाकार अर्कै पेशा अपनाउन बाध्य हुन पुग्नु भएको छ । यदि सरकारले कलाकारलाई राष्ट्रको गहना सम्झिने हो भने योे समस्या समाधानको लागि ध्यान दिनुपर्ने हुन्छ ।

अवस्था सामान्य हुन मुख्य आवश्यकता भ्याक्सिनको पनि छ । भ्याक्सिनको कुरा आइरहेको छ । लगाउने काम भइरहेको छ । सुरुमा फ्रन्ट लाइनमा कामगर्नेहरुलाई सरकारले राम्रो तरिकाले भ्याक्सिनको व्यवस्थापन गरोस् । त्यसपछि कलाकारलाई समेत प्राथमिकताका साथ भ्याक्सिनको व्यवस्था गरिदियोस् । यो सँगसँगै सबै क्षेत्रका सर्वसाधरणलाई भ्याक्सिनको बन्दोवस्त गर्नुपर्ने आवश्यकता देखिन्छ । छिटोभन्दा छिटो सबै नागरिकलाई भ्याक्सिन लगाउन सक्ने हो भने बल्ल माहोल विस्तारै आउँछ । भ्याक्सिन सँगै सरकारले राहतका प्याकेजहरु कलाकारको लागि दिनुपर्ने हुन्छ । धेरै कलाकार यतिसम्म पिडामा छन् तर उनीहरुले भन्न सकेका छैनन् । कतिले भन्न चाहेका छैनन् । कारण उनीहरुको नाम तथा प्रतिष्ठा कलाकारिता क्षेत्रले उचाईमा पु¥याइदिएको छ । बनेको नाम र प्रतिष्ठालाई कायम गर्नको लागि समेत आफ्नो पिडालाई भित्रभित्रै दबाएर बसेका छन् ।

नामले भरिपूर्ण छन् । तर, आर्थिक अवस्था धेरै कमजोर छ । जसका कारण सहयोग माग्नको लागि राहत माग्नको लागि उनीहरुलाई अप्ठ्यारो लाग्छ । सरकारले कलाकारको स्थितीलाई बुझेर यसको सम्बोधन गर्नुपर्छ । अन्य थुप्रै संघसंस्था छन् । तिनीहरुले समेत कलाकारको मागलाई सम्बोधन गर्नुपर्ने हुन्छ । सबै मिलेर हरेक कलाकारलाई यो विपतबाट जोगाउन आवश्यक छ ।

गायक अविनाश घिसिङ

कोरोनाबाट सांगीतिक क्षेत्रमा देखिएको ठूलो चुनौती भनेको खस्किदो संगीतिक बजार र कलाकारको व्यवसायमाथिको नोक्सानी हो । विषेशगरी संगीतिक कार्यक्रमहरू ठप्प हुँदा हजारौं संगीतकर्मी लगायत यस पेशासंग सम्बन्धित मनिसहरूले रोजगार गुमाउनु परेको छ । यसले उनीहरु संगीत क्षेत्रबाट बिस्थापित हुने खतरा भएको छ । यसको समाधानको मूख्यबाटो भनेकै कोरोनाबाट पहिले आफू जोगिनेनै हो । सामाजिक दुरी कायम राख्ने, माक्स अनिवार्य रूपमा प्रयोग गर्ने गर्नुपर्छ । अर्को कुरा कलाकार अलि संवेदनशिल बन्नुपर्नेहुन्छ । सक्ने कलाकारहरूले अप्ठ्यारोमा परेका कलाकार तथा सर्वसाधरणलाई भौतिक तथा अर्थिक सहयोग गर्नुपर्छ । यसका साथै जनचेतना मुलुक कार्यक्रम तथा गीत संगीत प्रस्तुत गर्दै हरेक नगरिकलाई सचेत बनाउने कोसिस कलाकारले गर्नुपर्छ ।

लोक दोहोरी गायक सुरेन्द्र गुरुङ

कलाकारको रोजि रोटि गुमेको छ । जस्ले गर्दा कलाकारलाई आफू र आफ्नो परिवारको दैनिक जीवन धान्न गाह्रो भै रहेको छ । यस्तो अवस्थामा अरु बिकल्प पनि तत्काल सोच्न सक्ने अवस्था छैन । केही कलाकारहरु गाँउ पसेका छन । थोरै समयका लागि उनीहरुको समस्या समाधान भएको छ । तर, बजारमा रहेका कलाकारलाई अत्यन्त समस्या भएको छ । सरकारले केही सहयोग गरेको छैन । कोरोनाले पेशा ब्यवसाय सबै बन्द छन् । आर्थिक गतिबिधि सबै स्थगित छन् । जसका कारण साथीभाइ शुभचिन्तकबाट सहयोगको अपेक्षा कम छ । मेला महोत्सव केही भएको छैन । देश तथा बिदेशको अवस्था उस्तै छ । दोहोरी साँझहरु बन्द छन । आम्दानी हुने श्रोत ठप्प छ । यो भन्दा बढि पिडा तथा समस्या कलाकारलाई के हुन सक्छ र ? कलाकारको दैनिक जीबन कष्टकर बन्दै गरेको छ । नयाँ गीतहरु बजारमा ल्याउनका लागि सृजना भए पनि आर्थिक पक्षमा समस्या भएकाले गीत संगीतमा लगानी गर्न गाह्रो भएको छ । राम्रा–राम्रा सृजना आफूसँग हुँदा समेत आर्थिक कमीका कारण साथै राजधानी गएर गीत रेकर्ड लगायतको लगानी गर्ने बातावरण मिलेको छैन । अहिले लकडाउन छ । लकडाउनका कारण घरमा बस्दा दिमागमा विभिन्न कुरा खेल्दा नयाँ सृजना गर्ने सोच जाँगर समेत कलाकारमा नभएको उहाँहरु बताउनुहुन्छ ।

लोक दोहोरी प्रतिष्ठानसँगै गीत संगीतका क्षेत्रमा काम गर्ने कृयशिल सस्थाहरु एक हुन आवश्यक छ । सरकारसँग यसबारे छलफल गर्न जरुरी छ । कलाकारले समेत आफ्नो श्रोत साधन के छ, के गर्न सकिन्छ भनेर यो समयमा आफैले योजना बनाउन पर्छ । लकडाउनले कलाकारलाई पारेको प्रभावलाई कम गर्न मानसिक रुपमा हामीलाई तयार हुनका लागि प्रबिधिको प्रयोग गर्दै गोष्ठी तालिम छलफल गर्न आवश्यक छ । गीत संगीतका क्षेत्रमा कृयशिल सघंसस्थाहरुले कलाकारका लागि राहत सगै थुप्रै कार्यक्रम ल्याउन जरुरी देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button