उपत्यकामा निषेधाज्ञा खुकुलो : निजी सवारीमा जोर बिजोर, पसल बारअनुसार

हेर्नुहोस् कुन कुन बार के खुल्छ ?

पोखरा न्यूज ।  काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ ।

आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो । यससँगै उपत्यकामा असार ८ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । यसअघि थपिएको निषेधाज्ञा असार ७ गते सकिँदै छ । यद्यपि निषेधाज्ञालाई खुकुलो भने पारिएको छ ।

निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरी सञ्चालन गर्न दिइने भएको छ । निजी सवारी साधनहरू ट्याक्सी र मोटरसाइकल/स्कुटर जोर बिजोर प्रणाली लागु गरी चल्न दिइने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । त्यस्तै पसलहरूलाई बिहान ११ बजेदेखि ४ बजेसम्म बार अनुसार सञ्चालन गर्न दिइने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

उहाँका अनुसार आइतबार, मङ्गलवार र बिहीबार सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटो मोबाइल शो रुम, अटो मोबाइल पार्टस् पसल, इलेकट्रोनिक पसल(मोबाइल तथा कम्प्युटर पसल) खोल्न दिइनेछ । त्यस्तै सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्टल स्टोर(ग्रोसरी बाहेक अन्य), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङ खुल्न दिइने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसलहरू तथा डिपार्टमेन्टल स्टोर(ग्रोसरी), पुस्तक पसल/स्टेशनरी पसल दैनिक ११ बजेसम्म खोल्न दिइनेछ । निर्माणजन्य सामग्रीको पसल बिहान ११ बजेदेखि अपराह्न ६ बजेसम्म र अनलाइन डेलिभरी/टेक अवे र सवारी साधन मर्मत वर्कसप साँझ ७ बजेसम्म खोल्न दिइने प्रतिअ पराजुलीले जानकारी दिनुभयो ।

विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरूले स्वास्थ्य मापदण्डहरूको पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह सुचारु गर्ने निर्णय पनि भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button