अनलाइन माध्यमबाट कन्सर्ट गरौँः भाष्कर ध्वज श्रेष्ठ

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । पोखराको पहिलो र्‍याप व्याण्ड हो डि–मर्चा । नेपाली सांगीतिक फाँटमा यो व्याण्डले बेग्लै परिचय बनाइसकेको छ । लामो समयदेखि नेपाली सांगीतिक फाँटमा आफ्नो प्रस्तुति र सांगीतिक कोसेली पस्किरहेको यो व्याण्डले दोस्रो भेरियन्टको कोरोना महामारी फैलिएपछि आफ्ना गतिविधि गर्न पाएको छैन । दोस्रो भेरियन्टको कोरोना महामारी सुरु हुँदै गर्दा व्याण्डको नयाँ गीत कम्पोज र एरेन्ज हुदै थियो । तर अहिले सबै काम रोकिएको छ । अवस्था सामान्य हुनासाथ काम अगाडि बढाउने तयारी व्याण्डको छ ।

डि–मर्चा व्याण्डका मुख्य भोकलिष्ट भाष्कर ध्वज श्रेष्ठ कोरोना महामारीका कारण नेपाली सांगीतिक क्षेत्रमा ठुलो क्षति पुगेको बताउनुहुन्छ । पोखरा न्युजसँग कुरा गर्दै उहाँले यसको परिणाम सांगीतिक क्षेत्रमा दुरगामी रुपमा नकारात्मक प्रभावका साथ आउने सम्भावना रहेको तर्क गनुहुन्छ । कलाकारहरु मिलेर अनलाइन माध्यमबाट कन्सर्ट गर्न सके सक्रियता बढ्ने मात्र नभई दर्शक श्रोताले मनोरञ्जन लिन अवसर पाउने उहाँको भनाई छ ।

अहिलेको वर्तमान अवस्थामा मानिसहरु जीवन मृत्युको दोसाँधमा रहेका छन् । कसैले पनि कल्पना नै नगरेको आजको यो दिनहरु कसरी कटेर जालान् र फेरि कहिले पहिलेको जस्तो समय फर्केर आउँला भन्ने आशामा हामी सबै रहेका छौँ । यस कोभिडको विषय परिस्थितिमा हामी संगीतकर्मी समेत नमुछिने कुरै छैन । संगीत मानिसको जीवनमा एकदमै अपरिहार्य वस्तुको रुपमा पर्दछ । चाहे दुःख होस् चाहे सुःख होस् । मायापिरतको कुरामा होस् या विछोडको व्यथामा संगीतनै मानव जीवनको साथी हो । तर, आजको यस परिस्थितीमा हामी संगीतकर्मीहरु संगीत बनाउन भन्दा आफ्नो तथा आफ्नो परिवारको सुरक्षा कसरी गर्ने भन्ने उद्धेश्यका कारण संगीतलाई धेरै समय दिन सकिरहेका छैनौ । यसको परिणाम सांगीतिक क्षेत्रमा दुरगामी रुपमा नकारात्मक प्रभावका साथ आउने सम्भावना देखिन्छ । एक त हामी संगीतकर्मी पहिलेदेखिनै पाइरेसीको जालोमा फसिसकेका छौँ । कलाकरहरु आफ्नो रेकर्ड विक्रि गरेर भन्दापनि कन्सर्ट गरेर केही आयआर्जन गरिरहेका थियौ । तर अहिले त्यो अवसर समेत कोभिडका कारण हामीहरुले गुमाउनु परेको छ ।

कोभिडको कारण परेको समस्याको समाधानको उपाय समेत हामी अब खोज्नुपर्ने हुन्छ । उपाय के हुन सक्छ भने हामी कलाकारहरु मिलेर अनलाइन माध्यमबाट कन्सर्ट गर्न सक्छौँ । यसले हाम्रो दर्शक श्रोतालाई यस्तो अवस्थामा केही मनोरञ्जन मिल्नेछ । यसरी आधिकारिक वेभसाइटबाट कन्सर्ट प्रसारण गर्दा अनलाइनको माध्यमबाट आय आर्जनपनि हुनेछ ।

हुनत विदेशमा जस्तो हाम्रो देशमा अनलाइन ‘स्ट्रमिङ’ एण्ड अनलाइन ‘भिउइङ’को आँकडा त्यति धेरै छैन । तर पनि प्रयास भने पक्कै गर्न सकिन्छ । यसले केही हदसम्म भएपनि राहत प्रदान त गर्ला तर भविष्यमा नेपालको सांगीतिक क्षेत्रलाई उकास्न सरकारी तवरबाट पहल हुनुपर्ने जस्तो लाग्छ । मुख्य भोकलिष्ट श्रेष्ठले भन्नुभयो ।

हुनत पहिलो चरणको कोरोना महामारीको समयमा डि–मर्चाका व्याण्डले आफ्नो सक्रियतामा कमी आउन दिएको थिएन । सो समयमा नयाँ दूई गीत सार्वजनिक गरेको थियो । डेढ वर्षको अन्तरालमा सार्वजनिक गरिएका गीत ‘रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ र ‘नेता ज्यू नमस्कार’ गरी दुई गीत नै दर्शक श्रोताले रुचाएका थिए । ‘रोगले भन्दा भोकले मरिएला’ गीतमा कोरोनाको कारण भएको लकडाउन र यसले समाजमा उत्पन्न गरेको अवस्थालाई गीत मार्फत चित्रण गरिएको थियो । गीतको रचना सन्जय बरालले र म्युजिक भिडियोको छायाँङ्कन सन्जय शाक्य, सम्पादन सविन गायक र भिडियोको निर्देशन सञ्चारकर्मी सन्जय मल्लले गर्नुभएको थियो ।

पोखरा लेकसाइडको द ट्रेजरको प्रस्तुतिमा बनेको भिडियोमा सञ्चारकर्मी उत्तम पौडेल, आयुष श्रेष्ठ, शिबचन्द्र परियार, बालकलाकारहरु निया श्रेष्ठ, स्वीकार मल्ल, आर्य भुजेलले अभिनय गर्नुभयो । यसैगरी ‘नेता ज्यू नमस्कार’ गीतमा र्‍याप शैलीमा नेता प्रति असन्तुष्टि पोखिएको थियो । नेताले भाषण गर्ने तर बोलेका कुरा कार्यान्वन नगर्ने कार्यप्रति असन्तुष्टि जनाउदै अब देश युवा पुस्ताको जिम्मामा छोड्नुपर्ने सन्देश गीतमा राखिएको थियो । विभिन्न ‘आउटक्लिप्स’ले भिडियोलाई राम्रो बनाएको देखिन्थ्यो ।

प्रतिक अधिकारीको रचना रहेको गीतलाई डि–मर्चाले भोकल, संगीत र डिजाइन दिँदै आर्कषक बनाएको थियो । भिडियोलाई आर्कषक बनाउन सम्पादन तथा निर्देशनमा सुरज श्रेष्ठले निकै मेहनत गर्नुभएको थियो । २०५२ सालमा पोखराकै पहिलो र्‍याप व्याण्डको रुपमा स्थापना भएको डि–मर्चा समुहले र्‍याप प्यार्टनका गीत मार्फत आफ्ना आवाज बुलन्द पार्दै आएको छ ।

पोखरामा आयोजना गरिएको माछापुच्छ्रे उत्सवमा भाग लिनका लागि भनेर यो व्याण्डको जन्म भएको थियो । सहभागितासँगै वेष्ट गितारिष्ट्र एवार्ड जित्न सफल बन्यो । त्यतिबेला व्याण्ड मेम्बरको रुपमा भाष्कर ध्वज श्रेष्ठ, विरेन पुन, विकास पुन, दिनेश सुनार, ज्योति जंगम थिए । डि–मर्चाले २०५५ सालमा आफ्नो पहिलो एल्बम ‘खैलाबैला’, २०६२ मा ‘१, २, ३ भन्दिने हो’, २०६४ मा ‘झ्याम्म–झ्याम्म’ र २०६८ मा ‘कोहि छ किन्ने’ एल्बम निकाल्यो ।

डि–मर्चा व्याण्डले हालसम्म ६ दर्जन जति गीत बजारमा ल्याईसकेको छ । खैलाबैला भो, तारा खसौली, झ्याम्म झ्याम्म, डान्सिङ अन द रोड, यो डल्लीले, लव पर्‍यो पर्‍यो, जन्मायौ प्रभु, पानी घट्ट लगायतका गीत बढी मात्रामा रुचाइयो । अहिले डि–मर्चा व्याण्डमा मुख्य भोकलिष्टमा भाष्करध्वज श्रेष्ठ, वेस्ट गितारमा विरेन पुन, लिड गितारमा सञ्जय नेपाल, ड्रममा प्रज्वल विक र सफल परियार हुनुहुन्छ । विश्वास गुरुङ, धुर्व सिके, बुद्धि थापा, जोनी तामाङ र अनिल गुरुङले समेत यो व्याण्डमा रहेर काम गर्नुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button