कोरोनाका कारण नाट्य क्षेत्रमा नकारात्मक प्रभाव

रगंमञ्चको विकासमा दीर्घकालीन असर पार्ने खतरा

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । कोरोनाका कारण सबै क्षेत्रमा प्रभाव परिरहँदा नाट्य क्षेत्र समेत यसबाट अछुतो रहन सक्ने कुरा भएन । नराम्ररी प्रभावित भएको छ । यसरी प्रभावित बन्दा रंककर्मी तथा रंगप्रेमी चिन्तित छन् । विस्तारै गति लिदै गरेको नाट्य क्षेत्रमा परेको यो नकारात्मक प्रभावका कारण रंगमञ्चको विकासमा दीर्घकालिन प्रभाव पार्ने खतरा बढेको छ । विभिन्न समस्यामा फस्दै पुनः तग्रिन खोजेको रंगक्षेत्रलाई जोगाएर सही मार्गमा अगाडि बढाउने चुनौती अहिले देखिएको छ ।

कोरोना कहर सुरु हुनुभन्दा अगाडि नेपालमा रंगमञ्चको माहोल बन्दै थियो । रंगमञ्चीय गतिविधि एक ठाउँमा मात्र गरेर हुने कुरा हैन । सामाजिक रुपान्तरणका लागि देशभरै रगंकर्म हुनुपर्छ । जुन माहोल बल्ल सुरु भएको थियो । काठमाण्डौ बाहिर नाटक मञ्चन तथा नाट्य महोत्सव हुन थालेका थिए । जुन ‘स्पिड’ रोकिएको छ । हुनत ‘स्पिड’ मात्र कुँदरे हुँदैन ओझ बोकेर रंगकर्ममा अगाडि बढ्नुपर्छ । पूर्ण सन्तुष्ट हुने अवस्था नभएपनि नेपाली रंगमञ्चमा पछिल्ला केहि बर्षमा एउटा गजबको परिदृश्य बनेको थियो । गैर सरकारी स्तरमा रंग सस्थाहरुले नाटक घर निर्माण गरे । यो प्रक्रिया मार्फत काठमाडौंमा मात्र होईन बिराटनगर, पोखरा, दमक, झापा जस्ता ठाउँमा नाटक घर बने । यहि लर्कोमा धरान, सुर्खेत हुदै सुदुरको जुम्ला सम्म नाटक घरको लागि पहल भइरहेको थियो । अन्य ठाउँमा पनि सोच बन्दै थिए । काम भइरहेका र हुँदै पनि थिए ।

यता पोखरामा पोखरा थिएटर सञ्चालनमा आएपछि रंगमञ्च प्रतिको माहोल बढ्दै गएको थियो । नियमित रुपमा नाटक मञ्चन मात्र नभएर अभिनय सिक्ने, सिकाउने क्रम सुरु हुँदा माहोल बढ्दै थियो । पोखरा थिएटर सञ्चालनमा आएपछि ५३ वटा नाटक मञ्चन भए ।

हुनपनि रंगक्षेत्रमा काम गर्ने कलाकारले पनि स्थायित्वको खोज्छन् । उनीहरुलाई बाच्ने बाटो हुनुपर्छ । पोखरामा स्कुलहरु उत्साहित थिए । विद्यार्थीलाई पढाएर स्रोत जुटाउने अवस्था बन्न खोजेको थियो । अब तत्काल गर्न सक्ने स्थिति देखिदैन । थिएटरले मात्र सधै नाटक उत्पादन गर्न सम्भव हुदैन । जसका लागि नयाँ टिम आवश्यक हुन्छ । केही टिम बनेका थिए । उनीहरुले पनि नाटक उत्पादन गर्न थालेका थिए । सवृद्ध बन्दै थियो नाट्यक्षेत्र । अब के होला भन्न सकिने अवस्था छैन ।

यसका अलावा नाटक हेर्नका लागि आउने दर्शकको विविधता मज्जाको देखिन्थ्यो । स्कुल, कलेजका स्टुडेन्ट नाटक हेर्न आउनु भनेको भोलि नियमित थियटरमा गएर नाटक हेर्ने एउटा बिशेष दर्शक बन्नु हो । यसले गज्जबको साँस्कृतिक वातावरण निर्माण गर्दै थियो । जुन अत्यन्त सुखद कुरा हो । तर अहिले फेरि अन्योलता भयो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त अन्य क्षेत्रमा जस्तै कोरोनाका कारण नाट्य क्षेत्रमा नकारात्मक प्रभाव परेको सुनाउनुहुन्छ । प्रत्यक्ष रुपमा नाटक मञ्चन गर्न नसक्ने अवस्थामा भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने प्रयास गरिएपनि त्यसरी मञ्चन गरिने नाटकका केही सिमा हुने हुँदा थिएटरमा मञ्चन गर्दा दर्शक प्रत्यक्ष उपस्थित भएर नाटक हेरे जस्तो भने नहुने उहाँको तर्क छ । अहिलेको अवस्थाको अन्त्य चाडै भएर नाटक मञ्चनले पहिलेको जसरी नै गति लिनेमा उहाँ आशावादी हुनुहुन्छ ।

कोरोनाले गर्दा समाजका अन्य क्षेत्रमा जस्तै नाटकमा पनि नकारात्मक प्रभाव पारेको छ । नाटक साहित्यको पठन गर्ने बिधा मात्र होइन, एक प्रत्यक्ष दृश्यात्मक बिधा हो । नाटकले रगंमञ्चमा प्रत्यक्ष रूपमा मञ्चन गरिएपछि नै जीवन्त हुन्छ । अहिले महामारीले गर्दा प्रत्यक्ष मञ्चनको सम्भावना भएन । कताकतै अप्रत्यक्षरूपमा भर्चुअल माध्यममा नाटक मञ्चनका प्रयास भएका छन् तर तिनका सिमा छन् । पोखरामा पनि केहि समयको लागि हामीले रगंमञ्चमा नाटक प्रदर्शन गरने अवस्था छैन । भर्चुअल प्रयोगसम्म गर्न सकिन्छ । हामी आसा गरौ, यो असाधारण अवस्थाको चाँडै अन्त्य हुनेछ र नाटक मञ्चनले पहिलेझै गति लिनेछ । उहाँले भन्नुभयो ।

यता उत्साहका साथ अगाडि बढिरहेको पोखराको रंगकर्ममा कोरोनाले एक्कासी ब्रेक लगाइदिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तन बताउनुहुन्छ । यसरी प्रभावित बनेको नाट्य क्षेत्रका कारण रंगमञ्चको विकासमा दीर्घकालिन असर पर्ने उहाँको चिन्ता छ । कुनै एउटा व्यक्ति वा संस्था भन्दा सामुहिक कार्य गरेर इमान्दारिताका साथ अगाडि बढ्न सके मात्र पोखराको रंगमञ्च पुनः उत्साहका साथ अगाडि बढ्न सक्ने उहाँको तर्क छ ।

जुन जोश र उत्साहको साथ हामीले रगंकर्म गरिरहेका थियौ कोरोनाले त्यसमा ब्रेक लगाइदिएको छ । पोखराको नाटय क्षेत्र भर्खर भर्खर बामे सर्दै गरेको थियो । रगंमञ्चप्रती आम चासो र सहभागिता बढ्दो थियो । थुप्रै रगंकर्मिहरुको उत्पादन भएको थियो । नाट्य क्षेत्रले आफ्नो लय समातेको थियो ।

कोरोना कहरले प्रलय ल्याइदिएको छ । अधिकाश रगंकर्मी साथीहरु पलायनको अवस्थामा छन । कतिपय साथिहरुले पेशा परिवर्तन गरिसकेका छन । यसले रगंमञ्चको विकासमा दीर्घकालीन असर पार्ने निश्चित छ । अर्को कुरा झन्डै डेढ बर्षसम्म नाटक घरको ढोका बन्द छ जस्ले गर्दा ठूलो आर्थिक भार थपिएको छ । तत्काल अवस्था सहज भएपनी नाटक घरको ढोका खोलिहाल्न सक्ने परिस्थिति छैन । अबको बाटो भनेको सामुहिक कार्य नै हो । कुनै एउटा व्यक्ति वा सस्थासँग निर्भर भएर मात्रै तत्काल यो बिकराल अवस्थाबाट बाहिर आउन सम्भव छैन । अब हामी सबै ईमानदार भएर लाग्नु आवश्यक छ । परिवर्तनले भन्नुभयो ।

कलाकार माओत्से गुरुङ कोरोनाको दीर्घकालिन समाधान नभएसम्म नाट्य क्षेत्रमा यसको असर रहिरहने बताउनुहुन्छ । केही रंगकर्मीले प्रविधिको प्रयोग गर्दै नाटक युट्युब मार्फत समेत रिलिज गर्न थालेपनि त्यसरी मञ्चन भएका नाटकले थिएटरमा मञ्चन भएको जस्तो अनुभुती नगराउने बताउनुहुन्छ ।

प्रमुख चुनौती त मञ्चन नै हो । दर्शक र कलाकार प्रत्यक्ष आमनेसामने हुने हुँदा कोभिडको दीर्घकालीन समाधान नभएसम्म यसको असर रहिरहने छ । यद्यपि अहिले नाटक पनि प्रबिधी अनुरुप युट्युब रिलिज भइरहेकाछन् । यसरी रिलिज गरिएका नाटकले दर्शकलाई थिएटरमा मञ्चन गरिएको जस्तो अनुभुती भने गराउदैन । नाटक मञ्चन गर्दाको मज्जा लिन थिएटरमा पुगेरनै हेर्नुपर्छ । गुरुङले भन्नुभयो ।

कलाकार प्रमिला तुलाचन सामाजिक दुरी कायम गरेर नाटक मञ्चन गर्न सम्भव नहुँदासम्म रंगमञ्च क्षेत्र चलायमान बन्न नसक्ने बताउनुभयो । अहिलेको अवस्थाको केही हदसम्म समाधान गर्ने माध्यमको रुपमा भर्चुअल माध्यमलाई प्रयोग गर्न सकिने उहाँको तर्क छ ।

कोरोनाको कहरका कारण पोखराको नाट्य क्षेत्रमा देखिएको चुनौती भन्नू नै सामाजिक दुरी कायम गरेर नाटक मञ्चन गर्नु हो । तर यो त्यति सम्भब नै छैन । किनभने एउटा नाटक तयार पार्न कम्तिमा १० देखि २० जना कलाकारको समूह चाहिन्छ । त्यसैले पनि नाटकमा निकै चुनौती थपिएको छ । नाटक एउटा यसतो विधा हो जुन प्रत्यक्ष प्रसारणको माध्यमबाट नै दर्शकसामु नाटक देखाईन्छ । त्यसैले दर्शकसामु सामाजिक दुरी कायम गर्न गाह्रो पर्छ । अबको नाट्य क्षेत्रको चुनौतीलाई समाधान गर्न एउटै माध्यम भनेको भर्चुअल नै हो । यसबाट केही हदसम्म भएपनि कलाकारहरुले नाटक प्रतिको भोक मेट्न सक्छन् । र, सामाजिक दुरी कायम गरेर थियटरमा पनि नाटक देखाउन सक्ने वातावरण मिलाउन सकिन्छ । तुलाचनले भन्नुभयो ।

कोरोना कहरका कारण समस्यामा परेको रंगक्षेत्रप्रति चिन्तित बन्नुभएका कलाकार प्रकाश घिमिरे यो चुनौतीको कसरी सामना गरेर पूर्ववत अवस्थामा फर्कने भन्नेमा आफू अन्योलमा भएको बताउनुभयोे ।

तस्विरहरुः राजाराम पौडेल

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button