हाँस्य कलाकार भण्डारी गाईजात्रे कोसेलीको तयारीमा

सबैको माया तथा साथ पाउने आशा

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । हाँस्य क्षेत्रमा स्थापित बनिसक्नुभएका पोखराका कलाकार युवराज भण्डारी यतिबेला आफ्नो नयाँ गाईजात्रे कोसेलीको तयारीमा व्यस्त हुनुहुन्छ । कोरोना कहरको महामारीका कारण काम गर्न त्यति सहज नभएपनि घरमा नै बसेर उहाँले गाईजात्रे कोसेलीको तयारी गरिरहनुभएको छ ।

उहाँले पहिलोपटक दमन रुपाखेतीले तयार पार्नुभएको गाईजात्रे कोसेलीमा बाबुराम भट्टराईको क्यारिकेचर गर्नुभएको थियो । त्यसबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण उहाँले आफै गाईजात्राको अवसरमा सामाग्री तयार पारेर दर्शक श्रोतामाझ पुग्ने योजना बनाउनुभयो । फलस्वरुप हरेक वर्षको गाईजात्रामा उहाँले हास्यँ प्रस्तुति सार्वजनिक गर्ने गर्नुभएको छ ।‘घुडै सिती’ शिर्षकमा उहाँले गाईजात्राको कोसेली ल्याउने गर्नुहुन्छ ।

यसअगाडि सार्वजनिक गरिएका घुडै सिती १, घुडै सिती २, घुडै सिती ३ र घुडै सिती ४ ले दर्शक श्रोतामाझ उहाँलाई स्थापित हुन सघाए । गतवर्ष सार्वजनिक गरिएको गाईजात्राको कोसेलीलाई ११ लाखको हाराहारीको दर्शकले युट्युब मार्फत हेरर सकारात्मक प्रतिक्रिया दिएको कारण आफ्नो चार्मलाई जोगाउन उहाँलाई चुनौती थपिएको छ । सोही कारण धेरै मेहनत गरेर पाँचौ संस्करणको गाईजात्राको कोसेली ‘घुडैसिती २०७८’ लाई उत्कृष्ट बनाउन कस्सिनुभएको छ ।

पोखरा न्युजसँग कुरा गर्दै कलाकार भण्डारी भन्नुहुन्छ–‘म यतिबेला गाईजात्राको कोसेली घुडै सिती २०७८ को तयारीमा व्यस्त छु । यो मेरो पाँचौ संस्करणको गाईजात्रा प्रस्तुति हो । घुडै सिती भाग एक देखि चारसम्मबाट मैले आफ्नो बेग्लै छाप बनाउन सफल भएको छु । अघिल्लो वर्ष ११ लाखको हाराहारीको दर्शकले भिडियो हेर्नुभयो । अहिले त्यो भन्दा बढी दर्शकको साथ पाउने अपेक्षाका साथ काम गरिरहेको छु । आशा छ पक्कै दर्शकको मन जित्नेछ ।’

राजनीतिसँगै देशमा वर्षभरिमा देखिएका विभिन्न विकृति, विसंगतिप्रति आर्कषक ढंगले प्रहसन र गीत मार्फत व्यंग प्रहार गर्दै पस्कने उहाँले खोज्नुभएको छ । २० मिनेट हाराहारीको प्रस्तुतिमा भण्डारीले केटीको अभिनय गर्दै गाईजात्रा भट्याउनु हुनेछ । घुडै सिती २०७८ मा दीपक थापाको नृत्य, श्रीराम अधिकारीको गायन प्रस्तुति समेत हेर्न पाइनेछ ।

‘गएको वर्षको प्रस्तुतिले पाएको दर्शकको साथको कारण यसपाली झनै चुनौती थपिएको छ । गतवर्ष वर्षकै उत्कृष्ट बन्न सफल भयो, अहिलेको कस्तो बन्ने हो भनेर कस्सिएको छु’ उहाँले थप्नुभयो ।

सबैको माया तथा साथ पाउने गरी काम भइरहेको यो वर्षको गाईजात्रे कोसेली अब एक हप्तापछि रिलिज गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । स्वास्थ्य मापदण्ड पालना गरेर सावधानी अपनाउदै गाईजात्रे कोसली तयार पार्न लागेको उहाँले जनाउनुभयो ।

यसपालीकै गाईजात्राको लागि हाँस्य कलाकार जितु नेपालले समेत बोलाउनुभएकोले राजेन्द्र नेपाली सहितको अर्को गाईजात्रा प्रस्तुति समेत आउने उहाँले खुलाउनुभयो ।

त्यसो त कास्कीको भदौरेतामागीमा जन्मिनु भएका हाँस्यकलाकार भण्डारी बाल्यकालमा साह्रै चञ्चले स्वभावका हुनुहुन्थ्यो । त्यसैले उहाँलाई सबैले चतुरे भनेर बोलाउथे । यसरी बोलाएका उहाँलाई भने मन पर्दैनथ्यो । स्कूल पढ्दा सरहरुलाई समेत गिंज्याउँने र सरहरुकै जस्तै नक्कल गर्ने भण्डारीको बानी थियो । यसो गर्दा कैयाै‌पटक पिटाइ खाएको उहाँले अझैसम्म भुल्नु भएको छैन । अहिले भण्डारीलाई धेरै दर्शकले पोखरेली माग्नेबुढाको नामबाट धेरै चिन्नुहुन्छ । उहाँले गरेको अभिनयलेनै यो परिचय दिलाएको हो ।
उहाँले मेरी गंगा फिल्मबाट फिल्ममा अभिनयको यात्रा सुरु गर्नुभयो ।

किडन्याप, पञ्चेबाजा, सेन्टीभाइरस, रामकहानी आदि फिल्म खेलिसक्नुभएका भण्डारीले आफैले समेत थुप्रै सर्ट फिल्म बनाइसक्नु भएको छ । केही फिल्ममा अभिनयको अफर यतिबेला समेत आएको छ ।
सिरियलमा समेत उतिकै व्यस्त हुनुहुन्छ । उहाँकै लेखन निर्देशन गडबडी सिरियल १ सय २० भाग पुगिसक्यो । एके ४७ सत्तरी भाग पुगेको छ । यसका अलावा मुन्द्रेको कमेडी क्ल्ब, मेरी बास्सै, कहिलेहोला लगायतमा काम गर्नुभयो । हुनत उहाँलाई रेडियो कार्यक्रम खिचडी र एके ४७ ले समेत हास्यव्यङ क्षेत्रमा आउन र चिनाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखरामा आवद्ध उहाँले अर्का हाँस्यकलाकार राजेन्द्र नेपालीसँग निरन्तर १२ वर्षदेखि साथसाथै यात्रा गर्दै आउनुभएको छ । यो जोडीलाई समेत उत्तिकै दर्शकको साथ छ । निरन्तर कलाकारिता क्षेत्रमा लाग्ने योजना हाँस्य कलाकार भण्डारीको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button