फिल्म ‘स्केटर गर्ल’ माथि छलफल

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । हिन्दी फिल्म ‘स्केटर गर्ल’ माथि छलफल गरिएको छ । गुरुङ फिल्म एशोशिएसन नेपाल जिफानको आयोजनामा शनिबार भर्चुअल माध्यमबाट यो फिल्मको बारेमा छलफल गरिएको हो ।

फिल्ममा राचेल संचिता गुप्ताको मुख्य अभिनय रहेको छ । उहाँले प्रेरणाको भुमिकामा तारिफयोग्य अभिनय गर्नुभएको छ। फिल्ममा रानीको छोटो भुमिका निभाउनु भएकी वहिदा रेहमानको अभिनय समेत दुरुस्त लाग्छ । जेसिकाको भुमिकामा देखिनुभएकी अम्रिता मेघारा, अंकुशको भुमिका निभाएका सफिन पटेलको अभिनयले फिल्मलाई थप मजबुत बनाएको छ ।
फिल्मको निर्देशन मन्जरी म्याकीज्यानीले गर्नुभएको हो ।

‘द लास्ट मार्बल’ र ‘द कर्नर टेबल’पछि निर्देशक मञ्जरीको यो डेब्यू फिचर फिल्म हो । स्पोर्ट्रस ड्रामा ‘स्केटर गर्ल’मार्फत समाजको पितृसत्ता र जातीय विभेदको तस्वीर देखाउँदै प्रेरणाको कथा भन्नुभएकी मञ्जरीलाई यो डेब्युले बलिउडमा दमदार इन्ट्री गराएको छ । फिल्ममा दिदी भाइको सम्बन्धलाई मीठो तरिकाले पस्किएको छ । यो फिल्मको छायाकंन राजस्थानको एउटा गाउँ खेमपुरमा भएको हो । फिल्मको कथा मन्जरी म्याकीज्यानी र भिनति म्याकीज्यानीले संयुक्त रुपमा लेख्नुभएको हो । उहाँहरु दिदी बहिनी हुनुहुन्छ । यो फिल्म गत जुन ११ देखि नेटफ्लिक्समा प्रदर्शनमा आएको हो ।

छलफल कार्यक्रममा सहजिकरण गर्दै पोखरा फिल्म सोसाइटीका अध्यक्ष जीतेश प्रधानले फिल्मको स्क्रिप्ट उत्कृष्ट रहेको बताउनुभयो । सहि तरिकाले क्यामराको प्रयोग गरिंदा फिल्म झनै सुन्दर बनेको उहाँको भनाई थियो । सिम्पल स्टोरीको माध्यमबाट आकर्षक रुपमा समाजको चित्रण गर्न सक्दा दर्शकको ध्यान फिल्मले तानेको उहाँको तर्क छ । प्रधानले सहभागीको जिज्ञासा समेत मेटाउनुभयो ।

जिफानले फिल्ममाथि छलफल गर्ने कार्यक्रम गत जेठ २२ गतेबाट सुरु गरेको हो । यो छलफल कार्यक्रममा सहभागी हुन पहिले जिफानले तोकेको फिल्म हेर्नुपर्ने हुन्छ । फिल्म हेरिसकेपछि जिफानले आयोजना गर्ने छलफल कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिनुपर्छ ।

यसरी भर्चुअल माध्यमबाट जोडिएपछि छलफल कार्यक्रमका लागि तोकिएका सहजकर्ताले उक्क्त फिल्मको बारेमा आफ्नो समिक्षात्मक प्रस्तुति राख्नुहुनेछ । त्यसपछि भर्चुअल माध्यमबाट जोडिनुभएका साथीहरुको कुरा सुन्ने र उहाँहरुका जिज्ञाशा मेटाउने प्रयास गरिनेछ ।

जिफानका अध्यक्ष एवं यो कार्यक्रमका संयोजक भोजबहादुर गुरुङले नयाँ भेरियन्ट सहितको कोरोना महामारीको समयमा ठप्प बनेकोे फिल्मी क्षेत्र तथा निष्क्रिय बनेका फिल्मकर्मीलाई सकृय बनाउने अपेक्षाले कार्यक्रम सुरुवात गरेको बताउनुहुन्छ ।

‘प्रत्येक हप्ता स्वदेशी तथा बिदेशी हेरि उक्त फिल्म माथि भर्चुअल माध्यमबाट अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्ने हामीले निर्णय गरेका हौँ’ अध्यक्ष गुरुङले भन्नुभयो । यस कार्यक्रममा सबै गुरुङ फिल्मका कलाकार, प्राबिधिक, निर्माता तथा निर्देशकलाई सहभागी बन्न उहाँको आग्रह छ ।

कार्यक्रमको पहिलो श्रृखलामा हिन्दी फिल्म ‘द लञ्च बक्स’ माथि छलफल गरिएको थियो । दोस्रो श्रृंखलामा गुरुङ फिल्म ‘सुनिमाया’ माथि छलफल गरियो।

आगामी श्रृंखलामा फेरि अर्को फिल्मको बारेमा यसरीनै छलफल गरिने जिफानका कार्यकारी सचिव तथा प्रचारप्रसार बिभाग प्रमुख रमेश गुरुङले जानकारी दिनुभयो ।

कोरोना कहरका कारण मिलेको फुर्सदको समयमा फिल्म हेर्ने, फिल्मको बारेमा बुझ्ने, आफ्नो भनाई राख्ने गर्दा फिल्मकर्मीलाई नयाँ ज्ञान आर्जन हुने जिफानको विश्वास छ । यो कार्यक्रमले मौलिक पहिचानको राष्ट्रिय चलचित्र निर्माण गर्ने अभियानमा सघाउने तथा नियमित रुपमा फिल्म हेर्ने बानीको विकास हुने अपेक्षा जिफानले गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button