कतारका नेपाली व्यवसायीले गरे एक करोड भन्दा बढीको सहयोग

तिलु शर्मा पौडेल, दोहा कतार । कतारमा सन् २०१८ मा स्थापित तथा कानुनी मान्यता पाएको नेपाली व्यवसायी सङ्घ कतारले एक करोड भन्दा बढीको स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेकाे छ l त्रिभुवन विमानस्थलबाट आइतबार१४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन कन्सन्ट्रेटर, एक्काइस सय पल्स अक्सिमिटर र ५० वटा नसल क्याननुल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल हस्तान्तरण गरिएको हो।

कोभिड १९ को दोस्रो भेरियन्टका कारण नेपालमा नागरिकले ज्यान गुमाई रहँदा र दैनिक हजारौँको सङ्ख्यामा नागरिक प्रभावित भएको परिप्रेक्ष्यमा नेपालको मौजुदा स्वास्थ्य संरचनाले मात्र महामारी नियन्त्रण गर्न असम्भव प्राय देखिएको सङ्घद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ l सङ्घमा आबद्ध व्यवसायीहरूबाट १ करोड २० लाख बराबर रकम सङ्कलन गरी एक द्वार प्रणालीलाई अवलम्बन गर्दै हस्तान्तरण गरिएको सङ्घले जनाएको छ l

हस्तान्तरण कार्यक्रममा सङ्घको तर्फबाट टि बि कार्की, शङ्कर न्यौपाने , पीताम्बर रिजाल , दिन्सन बोहरा , प्रेम चौलागाई , मोहन अधिकारी, मधुकर रिजाल, दुर्गा थापा तथा मिडियाकर्मीको उपस्थिति रहेको थियो l उक्त स्वास्थ्य सामाग्रीहरू सात (७) वटै प्रदेशमा समानरुपले मन्त्रालयको मातहतमा वितरण हुने सङ्घका महासचिव रमेश भट्टले जानकारी दिनु भयो l

आफूहरूको सानो सहयोगले मातृभूमि नेपाल र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको पीडामा मलहमको काम गर्ने विश्वास सहित सहयोग गरिएको सङ्घका अध्यक्ष महेन्द्र चौलागाईले बताउनु भयो l सहयोगका लागि उत्प्रेरित गरी उत्प्रेरणा र हौसला प्रदान गर्ने कतार स्थित नेपाली राजदूतावासका राजदूत नारदनाथ भारद्वाज लगायत सम्पूर्ण दूतावास परिवार एवं सहयोग दाताहरू प्रति सङ्घले आभार प्रकट गरेको छ l

सङ्घले कोभिड १९ को कारण कतारमा रहेका पीडित नेपालीहरूलाई राहत वितरण गर्नेदेखि अलपत्र नेपालीलाई स्वदेश फिर्ताको लागि हवाई टिकट समेत व्यवस्था गरी उद्धार समेत गर्ने गरेको छ l कतारमा नेपालीको लगानीमा रेस्टुरेन्ट, मेडिकल, निर्माण कन्ट्रक्सन, ग्यारेज, किराना पसल, श्रमिक आपूर्ति कम्पनीहरू सञ्चालित छन् । कतारमा करिब तीन लाख ५० हजार नेपाली कार्यरत छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button