बागलुङमा २ पुरुष बेपत्ता, खोजीमा कुकुर परिचालन

पाेखरा न्यूज । बागलुङका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता हुनुहुन्छ ।

घाँस काट्न जाँदा बेखबर हुनुभएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिए पनि अवस्था पत्ता लाग्न सकेको छैन । प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट दुई तालिमप्राप्त कुकुरसहित प्रहरी खोजीकाममा जुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

घरदेखि २० मिनेटको दूरीमा रहेको खरबारीमा घाँस काट्न जानुभएका बुढाथोकी अबेरसम्म घर नफर्केपछि परिवार, स्थानीयवासी र प्रहरी मिलेर तत्कालै खोजीमा लागेका थिए । चार दिन बित्दासमेत उहाँ नभेटिएपछि प्रदेश मुकामबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली झिकाएर परिचालन गरिएको हो । बुढाथोकी हराएको ठाउँमा नाम्लो, डोरी र काटेको घाँस भने भेटिएको थियो ।

यस्तै नियमित प्रातःकालीन भ्रमण (मर्निङवाक) मा निस्कनुभएका ४६ वर्षीय सुनार गत जेठ २९ गतदेखि बेपत्ता हुनुहुन्छ । परिवारजनका अनुसार रामरेखाबाट मालढुङ्गा जाने क्रममा उहाँ हराउनुभएको हो । सुनारले सधँै सोही मार्गमा ‘मर्निङवाक’ गर्ने गरेको आफन्त पर्ने भाइ सज्जनकुमार सिंहले बताउनुभयो । “दाइ लामो समयसम्म घर नफर्केपछि धेरैतिर खोजी गरियो, स्याङ्जासम्म पुग्यौँ, अझै केही पत्ता लाग्न सकेको छैन”, उहाँले भन्नुभयो ।

परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता सुनारको खोजपडताल जारी राखेको छ । यतिका दिनसम्म उहाँ नभेटिँदा परिवारका सदस्य चिन्तामा छन् । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका स्थायी बासिन्दा सुनार लामो समयदेखि बागलुङमा बस्दै आउनुभएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button