काममा फर्किए कलाकार

पाेखरा न्यूज । गायक/कलाकार दुर्गेश थापालाई पनि अहिले रेकर्डिङ र अभिनयमा भ्याइनभ्याइ छ । लोकदोहोरी गीत ‘सालको पात’ को भिडियो छायाङ्कन भर्खर सकिएको उहाँले बताउनुभयो । उक्त गीतको भिडियोमा थापा र गीता ढुङ्गानाको अभिनय छ । “निषेधाज्ञा सहज भएपछि मेरा आफ्नै तीनवटा तीज गीतमा पनि काम भइरहेको छ”, थापाले भन्नुभयो ।

दुई वर्षअघि ‘बीच–बीचमा’ बोलको तीज गीतबाट थापाले चर्चा कमाउनुभएको थियो । यसपालि पनि ‘बीच–बीचमा–२’ ल्याउने तयारीमा उहाँ हुनुहुन्छ । सो गीतमा थापासँगै गायिका समीक्षा अधिकारी र अस्मिता जुरेलीको स्वर छ । अभिनयका लागि नायिका करिष्मा मानन्धर र दीपाश्री निरौलासँग कुराकानी चलिरहेको थापाले बताउनुभयो ।

थापाले आफ्नो एकल गायनमा तीज गीत ‘बीच–बीचमा, छेउछेउमा, कोठा–कोठामा’ र ‘ख्याँस्स पुतली’ पनि सार्वजनिक गर्दै हुनुहुन्छ । “अहिले रेकर्डिङको काम भइरहेको छ, छिट्टै गीतको भिडियो छायाङ्कन शुरु हुन्छ”, थापाले भन्नुभयो । निषेधाज्ञा खुकुलो भएर यातायातमा जोर/बिजोर लागू भएपछि काममा आउजाउ सहज भएको उहाँले उल्लेख गर्नुभयो ।

कलाकारसँगै प्राविधिक पनि आफ्नो रोजीरोटीको काममा फर्कन पाएको थापाले सुनाउनुभयो । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सामाजिक दुरीदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कलाकार चनाखो बन्ने गरेको उहाँको भनाइ छ ।

सारङ्गीवादक कमलकुमार विक दुई महिनापछि बुधबार ‘डिजिटल काठमाण्डू’ रेकर्डिङ स्टुडियो छिर्नुभयो । निषेधाज्ञाका पट्यारलाग्दा दिन घरमै कटाएर स्टुडियो फर्कनुभएका उहाँले त्यस दिन तीजको गीतमा धुन भर्नुभयो ।

धेरैपछि पुरानै दैनिकी पछ्याउँदा उत्साह मिलेको र स्थिति थप सहज हुनेमा आशा पलाएको विकले सुनाउनुभयो । “निषेधाज्ञा खुकुलो भएसँगै रेकर्डिङको काममा व्यस्तता बढेको छ”, उहाँले भन्नुभयो, “वाद्यवादनको काम एक्लाएक्लै गरिने भएकाले जोखिम पनि कम छ ।”

यातायात र हिँडडुलमा रोक नलागे स्टुडियोको काममा कुनै बाधा नहुने विकको भनाइ छ । उहाँ सारङ्गी बनाउने पेशामा पनि आवद्ध हुनुहुन्छ । निषेधाज्ञाको अवधिमा दुई दर्जन बढी सारङ्गी तयार भएको विकले बताउनुभयो । लोकबाजा सारङ्गीको संरक्षण र प्रसारमा उहाँको परिवार नै समर्पित छ ।

विगत डेढ वर्षदेखि कोरोनाको मारमा परेका कलाकार दैनिकी चाँडै पूर्ववत् स्थितिमा फर्कियोस् भन्ने चाहन्छन् । महामारीको पहिलो लहरताका पनि झण्डै वर्ष दिन कलाकार घरमै थुनिए । गत फागुनदेखि फाटफुट्ट मेला/महोत्सव हुन थालेपछि कलाकारलाई राहत मिलेको थियो । गायक/गायिकाका लागि मञ्चीय कार्यक्रम नै कमाइको राम्रो स्रोत हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button