चलचित्र मेरिंमो ‘पे–पर–भ्यु’ को आधारमा हेर्न पाइने

मेगा म्याक्स तथा मुनाल फिल्मबीच चलचित्र प्रदर्शन गर्ने सम्झौता

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । गुरुङ चलचित्र ‘मेरिंमो’ म्याक्स टिभि मार्फत प्रदर्शन गरिने भएको छ । मेगा म्याक्स टेलिभिजन प्रालि र मुनाल फिल्म प्रालिबीच यहीं असार १३ गते मेगा म्याक्स टेलिभिजनमा गुरुङ चलचित्रहरु तथा नेपाली चलचित्रहरु देखाउने सम्झौता भएपछि यो सम्भव भएको हो ।

जसको लागि मेगा म्याक्सको तर्फबाट कानून अधिकृत शम्भु कुमार आचार्य र मुनाल फिल्मको तर्फबाट मुनाल फिल्मका सञ्चालक भोजबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको छ । सो सम्झौता अनुसार आगामी साउन १ गतेबाट चलचित्र प्रदर्शन गर्ने तय भएको हो । जसको सुरुवात भोजबहादुर गुरुङ निर्देशित गुरुङ चलचित्र ‘मेरिंमो’ भन्ने चलचित्र प्रदर्शन गरेर हुने भएको छ ।

मेरिंमो चलचित्र यसअगाडि नेपालका केही ठाउँ र बेल्जियम, अमेरिका, युके र हङकङमा प्रदर्शन गरिसकिएको थियो । अझै विभिन्न ठाउँमा देखाउने क्रम जारी नै भएपनि कोभिडका कारण प्रदर्शन रोकिएको थियो ।

यतिबेला फिल्म हल समेत बन्द भएको कारण मेघा म्याक्स टेलिभिजनसँग मिलेर पे–पर–भ्यु को आधारमा देखाउन लागिएको हो । एकपटक चलचित्र हेर्नको लागि एउटा ग्राहकले ३ सय ५० रुपैयाँ तिनुपर्ने हुन्छ । त्यसको लागि मेगा म्याक्स टेलिभिजनको च्यानल नम्बर ७७७ मा जानुपर्छ । जसलाई सिनेमा हल ७७ भनेर आफूहरुले नामाकरण गरेको गुरुङ फिल्म एशोशिएशन नेपाल (जिफान)का अध्यक्ष समेत रहुनभएका निर्देशक गुरुङले बताउनुभयो । फिल्म हेर्नको लागि रकम मेगा म्याक्सको शाखाहरुबाट ग्राहकहरुले पैसा बुझाउन सकिनेछ । साथै इसेवाको माध्यमबाट अनलाइनबाट समेत पैसा तिरेर चलचित्र हेर्न पाइनेछ ।

चलचित्रको प्रदर्शन दैनिक चार सो मार्फत हुनेछ । जसअनुसार मध्यान्न १२ बजे, दिउँसो ३ बजे, साँझ ६ बजे विहान ९ बजे प्रर्दशन हुनेछ । साउनको १ गतेबाट जति समयसम्म यसको डिमाण्ड आउँछ त्यतिदिनसम्म प्रदर्शन गर्ने तयारी गरिएको छ । ‘जति समयसम्म यसको डिमाण्ड आउँछ त्यतिदिनसम्म प्रदर्शन गर्ने तयारी हो, कम्तिमा दूई हप्ता चलाउन तयारी छ’ निर्देशक गुरुङले भन्नुभयो ।

यो सिस्टम उपयोगी देखियो भने अन्य गुरुङ चलचित्र समेत यहीं माध्यमबाट प्रर्दशन गर्ने जिफानको तयारी रहेको अध्यक्ष गुरुङले जनाउनुभयो । ‘महामारी पछाडि डिजिटल प्लेटफर्म मार्फत यसरी भिओटी माध्यमबाट चलचित्रहरु प्रदर्शन गर्ने तयारी गरिरहेका छौँ । यो सिस्टम उपयोगी देखियो भने क्रमश अन्य गुरुङ चलचित्र समेत देखाउनेछौँ । वितरण भुमीका मुनाल फिल्मले गर्नेछ’ उहाँले भन्नुभयो ।

त्यसोत साउन १ गतेबाट प्रदर्शन हुने मेरिंमो चलचित्रको छायाकंन लमजुङको क्व्होलासोंथर गाउँपालिका–२, मालिङको सैलुङ गाउँमा र पोखरामा भएको हो । चलचित्रमा गुरुङ रितिरिवाज र सस्कृतिलाई प्रस्तुत गरिएको निर्देशक गुरुङको दावी छ । ‘गाउँबाट युवाहरु विदेशिने क्रम अझै बढ्दो छ,यसले गाउँले परिवेशमा परेको असर र त्यहाँ देखिएका समस्याहरुलाई चलचित्र मार्फत उतार्ने कोशिस गरेका छौ’ उहाँले भन्नुभयो ।

प्रेम गुरुङ र सपना गुरुङको निर्माणमा बनेको चलचित्रको कार्यकारी निर्माता बालकाशी गुरुङ हुनुहुन्छ । चलचित्रमा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुवा गुरुङ (सोनु), गजेन्द्र गुरुङ, कूलबहादुर गुरुङ, इन्द्रसुबा गुरुङ, अमीर गुरुङ, कमल गुरुङ, बालकाशी गुरुङ, रोशन गुरुङ लगायतका कलाकारहरुको अभिनय हेर्न पाइन्छ । चलचित्रमा केयरसिंह गुरुङको कथा, रोशन गुरुङको पटकथा र संवाद रहेको छ । छायांकन तथा सम्पादन खिमबहादुर गुरुङले गर्नुभएको हो ।

चलचित्रमा आश गुरुङ, अमिर गुरुङ र प्रेम गुरुङको गीत समावेश छ । निर्देशक गुरुङले विभिन्न गुरुङ चलचित्रको अलावा नेपाली चलचित्र समेत निर्देशन गरिसक्नुभएको छ । यो चलचित्रमा समावेश ‘ए ङोल्स्यो ए ङोल्स्यो’ गीत अत्यधिक रुचाइएको थियो । नेपालभर ५ लाख ग्राहक दावी गरिएको मेगा म्याक्स टिभी मार्फत चलचित्र प्रर्दशन गर्दा दर्शकको राम्रो साथ मिल्ने अपेक्षा निर्देशक गुरुङको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button