नेपाल एग्रोको पाँचौं वार्षिक साधारण सभा

पोखरा न्यूज । कास्कीको पोखरा महानगरपालिका १८ मा केन्द्रीय कार्यालय रही १० जिल्ला कार्यक्षेत्र भएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

पूर्ण स्वास्थ्य सतर्कताका साथ शुरु भएको सो कार्यक्रमको उद्घाटन  संस्थाका सञ्चालक समिति अध्यक्ष रमेश कुमार कर्माचार्यले गर्नुभएकाे थियाे । अध्यक्ष कर्माचार्यले संस्था स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

साधारण सभाले चुक्ता पुँजीको १४ प्रतिशतले हुने बोनश शेयर वितरण गरेको छ । सोही कार्यक्रममा संस्थालाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्ने प्राप्ति लगायत अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

हालसम्म उक्त वित्तीय संस्थाको सञ्चालक समितिमा रही योगदान गर्नुभएका सञ्चालकहरु रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठको कार्यको उच्च मूल्याङ्कन गर्दै संस्थाले कदरपत्र सहित सम्मानित गरेको छ ।

सो कार्यक्रममा संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले वित्तीय संस्थाको विद्यमान अवस्थाबारे जानकारी दिँदै साधारणसभामा उपस्थित शेयरधनी सदस्यहरुलाई स्वागत मन्तव्य राख्नुभयो । संस्थाले आगामी चार वर्षका लागि संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको कुरा निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद चापागाईँले जानकारी दिनुभयो ।

कार्यक्रमको पहिलो सत्र संस्थाका आइटी प्रमुख रमेश बस्यालले गर्नुभएको थियो भने कार्यक्रमको बन्द सत्रको सञ्चालन संस्थाका कम्पनी सचिव दीपक पराजुलीले गर्नुभयो । विस २०७३ बाट प्रथम कारोबार प्रारम्भ गरेको सो संस्थाले हाल १० वटा जिल्लामा २६ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका २१ हजार भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको कम्पनी सचिव पराजुलीले जानकारी दिनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button