मुहार फेर्दै बागलुङको शहीद पार्क

पोखरा न्यूज । पछिल्ला वर्षमा शहीदका सपनाजस्तै अस्तव्यस्त भएको बागलुङको शहीद उद्यान (पार्क)ले क्रमशः मुहार फेर्न थालेको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङको रामरेखाबाट पाङ अदुवाबारी जोड्ने ५६७ मिटर लामो कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण भएसँगै ओझेल र अस्तव्यस्त अवस्थामा पुगेको शहीद उद्यान पुनः व्यवस्थित गर्न थालिएको छ ।

अहिले शहीद उद्यान हुँदै लामो झोलुङ्गे पुल हेर्ने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै आगन्तुकलाई केही समय रम्ने रमाउने गरेर उद्यानको सौन्दर्य बढाउने काम भइरहेको नगरपालिकाले जनाएको छ । बागलुङको प्रवेशद्वार, कालिका भगवती मन्दिर तथा लामो पुलसँगै रहेको शहीद उद्यान पछिल्लो समय उपेक्षामा पर्दा स्थानीयवासीले शहीदका सपनाजस्तै पार्कसमेत अस्तव्यस्त भएको गुनासो गर्दै आएका छन् । नगरपालिकाले भने पुल निर्माण गर्दा पार्क अव्यवस्थित बन्न पुगेको बताउँदै आएको थियो ।

पुललाई पर्यटकको आकर्षणको केन्द्र बनाएर बागलुङमा पर्यटक भित्र्याउने लक्ष्य शहीद पार्कलाई आकर्षक र व्यवस्थित बनाइनेछ । पार्क व्यवस्थापनमा हालसम्म झण्डै रु तीन करोड खर्च भइसकेको छ । यो पर्यटकको आकर्षणको केन्द्रसमेत बन्ने सम्भावना बोकेको स्थानमा भएकाले यसको यथोचित व्यवस्थापन अपरिहार्य भएको स्थानीयवासी राजु बोहोराले बताउनुभयो ।

पुल निर्माणअघि प्रभु बैंकले रु ४० लाख लगानी गरेको उद्यानमा अहिले वन विभाग तथा बागलुङ नगरपालिकाको साझेदारीमा दुबो लगाउने, बिरुवा रोप्ने तथा केही भौतिक पूर्वाधारको समेत काम भइरहेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । वन विभागको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत साझेदारीमा रु ४० लाख लागतमा उद्यानको काम भइरहेको छ । अहिले उद्यानको मुहारै फेरिन थालेको छ । शहीदसँगै रहेको पानी पोखरीमा पानीको फोहोरा राख्नेसमेत नगरपालिकाको योजना छ ।

“उद्यान घाँसले भरियो, शहीदका शालिक तोडफोड भए भन्ने धेरैको गुनासो थियो, पुल निर्माण गर्दा उद्यानमा केही क्षतिसमेत भएकाले उद्यान व्यवस्थित गर्नैपर्ने भएको थियो”, नगरप्रमुख पौडेलले भन्नुभयो, “जिल्लाकै ठूलो र नमूना शहीद उद्यानलाई असार मसान्तभित्रै सुन्दर बनाउने गरी काम भइरहेको छ ।”

शहीद उद्यानमा रहेको पोखरीमा टायल लगाउने, शहीदहरुको शालिक राखिएको स्तम्भ मर्मतसम्भार गर्ने, पर्खाल मर्मत गर्ने, दुबो लगाउनेजस्ता काम अहिले धमाधम भइरहेको छ । उद्यानमा शहीदका शालिकसँगै बालबालिकालाई खेल्नका लागि चिप्लेटी, पिङ, युवायुवती, प्रौढ र वृद्धवृद्धा बस्नका लागि कुर्ची, विश्रामस्थललगायतका संरचना छन् । बागलुङ बजारभित्रको ऐश्वर्य उद्यानसमेत आगामी दिनमा आकर्षक र व्यवस्थित बनाउने नगरपालिकाको योजना छ ।

विसं २०५७ मा निर्माण गरिएको उद्यानमा २००७ सालको क्रान्तिमा शहादत प्राप्त गरेका बागलुङका शहीद थीरबम मल्लसहित धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्दको शालिक छ । यद्यपि यसको यथोचित संरक्षण नहुँदा शालिक तोडफोड हुँदै आएको छ । त्यसैले अब उद्यान व्यवस्थित गरेसँगै नगरपालिकाले हेरालुसमेत राख्ने योजना बनाएको छ । उक्त उद्यान २९ रोपनी क्षेत्रफलमा फैलिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button