चलचित्र पत्रकारको संख्या बढ्दै, पुरै सन्तुष्ट हुने अवस्था छैन

सन्दर्भ: चलचित्र पत्रकार संघ कास्कीको स्थापना दिवस

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । जुनबेला चलचित्र पत्रकार संघको स्थापना केन्द्रमा भएको थियो । संस्थाका गतिविधि प्रायः काठमाण्डौ उपत्यकामा सिमित थिए । फिल्मको मुख्य बजार काठमाण्डौ उपत्यका थियो । तर दोस्रो बजारको रुपमा पोखरा, धरान नारायणगढ, बुटबल, सुर्खेत, विर्तामोड जस्ता ठाउँलाई चिनिन्थ्यो । दोस्रो बजारको रुपमा चिनिएका उपत्यका बाहिरका ठाउँबाट हुने आम्दानी तथा दर्शकको सर्पोटले फिल्मकर्मी माझ महत्व राख्थ्यो । केन्द्रले उपत्यका बाहिरका ठाउँमा चलचित्र पत्रकार संघको शाखा खोल्ने योजना बनायो ।

सोही समयमा पोखरामा समेत फिल्मी पत्रकारिता गर्ने उपयुक्त ठाउँ पोखरा हुनसक्छ भनेर काम हुँदै थियो । पोखरामा फिल्मी गतिविधि धेरै हुन्थे । अधिकाशं फिल्मको छायाकंन पोखरामा हुने गर्दथ्यो । त्यतिमात्र नभएर नेपाली फिल्मलाई माया गर्ने दर्शकको भिड पोखरामा देखिन्थ्यो । फलस्वरुप दर्शकको ध्यान तान्न फिल्मकर्मीको आगमन पोखरामा बारम्बार भइरहन्थ्यो ।

फिल्म क्षेत्रका क्रियाकलाप पोखरामा भएपनि त्यस्ता सामाग्री प्रकाशन गर्न सजिलो थिएन । मनोरञ्जन क्षेत्रका गतिविधिलाई समाचारको रुपमा प्रकाशन गर्ने अभ्यास थोरै थियो । आफ्ना सामाग्रीले कम महत्व पाउँदा यो क्षेत्रमा कलम चलाउने र आवाज बुलन्द पारेर अगाडि बढ्न खोज्ने सञ्चारकर्मी चिन्तित थिए । सामुहिक रुपमा अगाडि बढ्न सके यो क्षेत्रमा आर्कषण बढ्ने उनीहरुको विश्वास थियो । किनकि त्यतिबेला मनोरञ्जन क्षेत्रका गतिविधि समावेश गरेर राजधानीबाट प्रकाशित हुने पत्रिका युवा पुस्ताको आर्कषण बनेका थिए । यसैगरी मनोरञ्जन गतिविधिलाई स्थान दिने टेलिभिजन कार्यक्रममा दर्शक झुमिन्थे । मनोरञ्जनात्मक रेडियो कार्यक्रमप्रति समेत श्रोतामा चाख थियो ।

संघनै बनाएर पत्रकारलाई आवद्ध गर्ने र फिल्म पत्रकारितालाई व्यस्थित रुपमा अगाडि बढाउने यहाँका पत्रकार तथा सञ्चारकर्मीको उद्धेश्य केन्द्रको शाखा विस्तार गरेर गतिविधि गर्ने उद्धेश्यसँग मेल खायो । फलस्वरुप चलचित्र पत्रकार संघ केन्द्रका संस्थापक भरत शाक्यको प्रमुख आतिथ्यतामा चलचित्र पत्रकार संघ पोखरा शाखा २०६० साल असार २२ गते स्थापना भयो । यसरी जन्मिएको संस्थाले आज मंगलबार १८ वर्ष पुरा गरेको छ । शुरुमा पोखरा शाखा भनिएपनि अहिले यसलाई कास्की शाखा भन्ने गरिन्छ ।
स्थापना हुँदा अध्यक्षमा श्रीराम सिग्देल, उपाध्यक्ष्मा नविन घायल, सचिवमा शिव शर्मा चञ्चल, सहसचिवमा टंक खनाल, कोषाध्यक्षमा इन्द्र राई तथा सदस्यमा एमबी आस्था मगर, विभु भुषाल, माधव बराल र सागरराज तिमिल्सीना हुनुहुन्थ्यो ।

त्यसपछि शिव शर्मा चञ्चलको नेतृत्वमा संस्था अगाडि बढ्यो । चञ्चलको नेतृत्वमा भएको समितिको उपाध्यक्षमा विभु भुसाल, सचिवमा विष्णु सुवेदी, सह–सचिवमा विजय नेपाल र कोषाध्यक्षमा नवराज चालिसे हुनुहुन्थ्यो । यसैगरी कार्यसमिति सदस्यमा अम्बिका राणा, मनोहरी पौडेल, विनोद श्रेष्ठ, अपिल त्रिपाठी, विष्णु सापकोटा र तोरण पुन रहनुभएको थियो ।

२०७३ सालमा रेम रसाईलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भयो । जुन कार्यसमितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा सुशन घिमिरे, सह–सचिव माधव भुसाल र सन्तोष सुवेदी तथा कोषाध्यक्षमा बोधराज रेग्मी हुनुहुन्थ्यो । सदस्यमा अरुण गिरी, सन्तोष बस्याल, प्रभु अधिकारी, विनु सुवेदी र शशी पौडेलले जिम्मेवारी पुरा गर्नुभयो ।

अहिले संस्था अरुण गिरीको नेतृत्वमा अगाडि बढिरहेको छ । गिरीको नेतृत्वमा रहेको टिमको उपाध्यक्षमा सन्तोष सुवेदी, सचिवमा प्रभु अधिकारी, सह–सचिवमा सन्तोष बस्याल, कोषाध्यक्ष अर्पण तिवारी प्रकाश तथा सदस्यहरुमा आशिष पुरी, विनिता सुनार, शंकर प्रसाद तिवारी रहनुभएको छ ।

 

त्यतिबेला आफूहरुलाई ठुलो चुनौती भएको संस्थापक अध्यक्ष श्रीराम सिग्देल बताउनुहुन्छ । ठुलो चुनौती थियो । यहाँका पत्रिकाले राजनीति र अर्थ क्षेत्रका समाचारलाई महत्वका साथ प्राथमिकता दिन्थे । मनोरञ्जन र खेलकुदलाई खासै स्थान दिइदैनथ्यो । स्थान दिनुपर्छ भन्न थाल्यौ । हामीले त्यो चुनौतीको सामना गरेर अगाडि बढ्याैं । त्यतिबेला फिल्म सिटी रुपमा परिचय बनाएको पोखरामा दैनिकजसो फिल्म सुटिङ हुन्थ्यो । सोही कारण पत्रपत्रिकाका सम्पादकहरुलाई कन्भिन्स गरेर ठाउँ दिनुहोस् भनेर आग्रह गरेका थियाैं । केहीले स्थान दिए । केहीले दिएनन् । छुट्टै स्पेश नदिएपनि छेउमा, बिचको छेउमा छाप्न थाले । चुनौती मोलेर सुरु गरियो अहिले स्थान दिँदा खुशी लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

विगतको तुलनामा अहिले चलचित्र पत्रकारिता क्षेत्रमा सकारात्मक संकेत देखिएको सिग्देल बताउनुहुन्छ । अहिले पुरै सन्तुष्ट हुने अवस्था त छैन । मोफसलमा रहेका पत्रपत्रिकाले अझै प्राथमिकताका साथ स्थान दिएका छैनन् । काठमाण्डौबाट प्रकाशन हुने राष्ट्रिय दैनिकले पेज छुट्याएर कला मनोरञ्जनलाई स्थान दिएका छन् । तर हामीकहाँ त्यस्तो नभएपनि पहिलाकै जसरी निरास हुनुपर्ने अवस्था भने छैन । समाचार आयो भने प्रकाशन गर्ने गरेका छन् । टेलिभिजन, रेडियो र अनलाइनमा समेत स्थान दिइएको छ । यो सकारात्मक पक्ष हो तर पुरै सन्तुष्ट हुने अवस्था भने होइन ।

छायाकंनको हिसाबले पोखरा पहिलो नम्बरमा थियो । अहिले विभिन्न प्रविधिले गर्दा पोखरामा छायाकंनमा कमि आएको छ । पहिलाका फिल्ममा नेचुरल सिन हेर्न पाउथ्यौ । अहिले कृतिम सिन हेर्न पाउने अवस्था आयो । प्रविधिले फड्को मार्दा यस्तो भयो । पहिले भन्दा अहिले धेरै फिल्म बन्न थालेका छन् । फिल्ममा मौलिकता र गुणस्तरियताको कमी छ ।

पोखरामा रहेर फिल्मी पत्रकारितालाई कसरी हुन्छ अगाडि बढाउन पर्छ भनेर जग हाल्ने काम गरेका थियौ । जती गर्न सक्याैं हामीले गर्याैं । सबैको साथ नपाएपनि केहीको साथका कारण संस्था अगाडि बढिरहेको छ । फिल्म पत्रकारितातर्फको आर्कषण बढेको छ । पछिल्लो पुस्ताले गरेको देख्दा खुशी लाग्छ तर सन्तुष्ट हुने अवस्था अझै छैन । अब सबै मिलेर यसलाई झनै व्यवस्थित र आर्कषक बनाउनुपर्ने। संस्थापक अध्यक्ष सिग्देलकाे भनाइ छ ।

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखामा ५५ जना भन्दा बढी सदस्य आवद्ध भएको अध्यक्ष अरुण गिरीले जानकारी दिनुभयो । अहिले पोखराको चलचित्र पत्रकारिता क्षेत्रमा चुनौती खासै नभएको उहाँको दावी छ ।
चुनौती भनेर त्यस्तो छैन । पढ्नुपर्‍यो, सिक्नुपर्‍यो पत्रकारिताको आचासंहितालाई ध्यान दिनुपर्‍यो सजिलै छ । चलचित्र पत्रकारितामा अवसरहरु धेरै छन् । फिल्मी पत्रकारिता गरेर चर्चामा आउन सक्ने स्थापित हुनसक्ने अवस्था अहिले छ । मेहनत गर्दा अवसर धेरै छन् । सामान्य चुनौती त सबै क्षेत्रमा हुन्छ । यो क्षेत्रमा नहुने कुरा भएन । विगतको तुलनामा सुखद लक्षण देखिएपनि पुरै सन्तुष्ट हुने अवस्था भने नरहेको अध्यक्ष गिरीले बताउनुभयो । हिजोको भन्दा चलचित्र पत्रकारिता धेरै माथि आइपुगेको छ । प्रविधिको कारण दायरा फराकिलो बनेको छ । कन्टेनमा विविधता आउन थालेको छ । यति हुँदाहुदै पनि पुरै सन्तुष्ट हुने अवस्था भने होइन र सिक्नुपर्ने धेरै रहेकाे उहाँले बताउनु भयो ।

हुनपनि कला, प्रविधि, अभिनय, गीत–संगीत, रंगमञ्च आदिका सामाग्री आमसञ्चारका माध्यम मार्फत पस्कदै रंग पत्रकारिता गरिरहेका व्यक्तिहरु संस्थाको सदस्यको रुपमा रहने गरेका छन् । तर विट पत्रकारिताको माध्यमबाट मात्रै अगाडि बढ्न सहज नहुने भएको कारणले रंगपत्रकारिता क्षेत्रमा अगाडि बढ्न खोज्ने व्यक्तिले अन्य विटमा समेत कार्य गर्न बाध्य छन् ।

पोखरामा रंग पत्रकारिता मार्फत अगाडि बढ्न खोज्ने नयाँ पुस्ता थोरै छन् । पुराना रंग पत्रकारले समेत निरन्तर यहीं विटमा काम गर्न सकिरहनुभएको छैन । यसका अलावा रंग पत्रकारिता क्षेत्रको बारेमा जानकारी नलिइकन कलाकार भेट्न पाइन्छ, उनीहरुसँग फोटो खिच्न पाइन्छ, चहलपहल भइहाल्छ भन्ने लोभमा संस्थामा आउन खोज्नेहरु समेत देखिन्छ । जसका कारण सदस्य संख्या थपिदै गएपनि पोखराको रंगपत्रकारिता क्षेत्रबाट सन्तुष्ट हुने अवस्था भने देखिदैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button