कलाकारको पहिलो मोबाइल अनुभव

अहिले मोबाइल फोन प्रति सबै पूस्ताको आर्कषण

राजाराम पौडेल÷पोखरा । अहिले मोबाइल फोन प्रति सबै पूस्ताको आर्कषण देखिन्छ । कोही रमाइलोको लागि यसको प्रयोग गर्छन् । कोही बाध्यताले मोबाइल प्रयोग गर्छन् । आफ्नो जीवनयापनमा सहजता प्रदान गर्न मोबाइलको प्रयोग गर्ने समेत उस्तै छन् । पुराना पुस्तादेखि नयाँ पुस्ता सबैको हातमा विभिन्न कम्पनीका मोबाइल सेट देखिन्छ । जुन मोबाइलको प्रयोग उनीहरुले बृहत रुपमा गरिरहेका छन् ।

एक अर्कामा कुराकानी गर्न, सन्देश आदानप्रदान गर्न, तस्विर खिच्न, भिडियो रेर्कड गर्न, गेम खेल्न, इन्टरनेटको प्रयोग गर्न मात्र नभएर आफ्ना दैनिक कार्य, शैक्षिक कार्य समेत मोबाइल मार्फत अहिले गर्न थालिएको छ । जसका कारण मोबाइलको महत्व दिनप्रतिदिन बढ्दैछ ।

मोबाइल फोन नेपालमा भित्रिदाँको समयमा अहिलेको जस्तो अवस्था भने थिएन । त्यतिबेला मोबाइलबाट प्राप्त गर्ने सुविधा सिमित थिए । अहिले समय बदलिएको छ । प्रविधिको विकाससँगै नयाँ–नयाँ फिचरका मोबाइल सेट बजारमा आउँदा त्यसबाट प्राप्त गर्ने सेवा सुविधामा समेत व्यापकता हुन थालेको छ । मोबाइल सेवा प्रदान गर्ने नेपाल टेलिकम तथा अन्य निजी कम्पनीले समेत सेवा सुविधालाई अपग्रेड गरिरहेका छन् ।

गायक विनोद वाँनियाले सुरुमा नोकिया कम्पनीको मोबाइल सेट चलाएको सुनाउनुहुन्छ । मोबाइल चलाउदा सुरुमा नोकिया ११ सय मोडलको सेट चलाएको थिए । पैसा त मैले भुले । त्यो बेला नोकिया फोनको ठुलो बजार थियो । त्यहीं ५ हजारको आसपासमा पथ्र्योजस्तो लाग्छ । फस्ट टाइम मोबाइल लिदाँ आफूले आफूलाई एकदमै के के न ठुलो मानिस जस्तो फिल हुन्थ्यो । खुशी लाग्थ्यो । हातमा अरुले मोबाइल लिएको देखिन्थ्यो । त्यसरी लिएको देख्दा रहरपनि लाग्थ्यो । पछाडि आफूलेनै मोबाइल लिदाँखेरी एकदमै खुशी चाहि लाग्यो ।

रमाइलो कुरा के भने त्यतिबेला नेपाल टेलिकमको सिमकार्ड लिनलाई पोखराको रानीपौवामा टेलिकमको अफिस भएपनि पालिखेचोकसम्म सिम लिन लाइन लाग्थ्यो । त्यो सम्झदा अहिले झनै रमाइलो लाग्छ । किनकि त्यसरी लाइनमा बस्दा अनुभुती नै बेग्लै छ । त्यतिबेला हामीसँग ल्यान्डलाइन फोन चलाइरहेको बानी थियो । आफ्नो घरमा टेलिफोन नहुँदा अरुको घरमा वा दोकानमा गएर फोन गरिन्थ्यो । फोन आउँदापनि कसैले बोलाइीदनुपर्ने हुन्थ्यो । तर हातमा मोबाइल भएपछि छुट्टै सान चाहि आउँदो रहेछ । त्यो फिल पहिलोपटक मोबाइल लिदाँ भएको थियो । मोबाइल धेरै मानिसले नचलाएको बेलामा आफूले चलाउँदा आफूले के के नै ठुलो काम गरेको महसुस हुन्थ्यो । र, अहिले मलाई सामसुङको मोबाइलहरु मनपर्छ । सोही कारण आजकाल सामसुङ कम्पनीका मोबाइल बोक्छु । गायक वानियाले सुनाउनुभयो ।

नायिका रजनी गूरुङले मामाले ममीको लागि पठाइदिएको मोबाइल सुरुवातमा चलाएको स्मरण गर्नुहुन्छ । त्यतिबेला मोबाइल हातमा पार्न रुनु परेको उहाँले खुलासा गर्नुभयो ।

मैले सबैभन्दा पहिला आफैले चलाएको सामसुङको फोल्डिङवाला मोबाइल हो । मामाले ममीको लागि हङकङबाट ल्याइ दिनुभएको थियो । मैले रोएको रोएइ गरेर ममीसँग मागेर चलाएको थिए । पिंक कलरमा थियो । त्यतिबेला मोबाइल पाउँदा त्यतिधेरै वास्ता भएन । जति त्यो भन्दा पहिला गाउँमा भएको थियो । किनकि गाउँमा भर्खर–भर्खर सिडिएमए फोन पुगेको थियो । त्यो फोन प्रयोग गर्नको लागि एकघण्टाको बाटो पार गरी माथि डाडाँमा जानुपथ्र्यो । बाबा इन्डियामा हुनुहुन्थ्यो । बाबाको फोन आउँदैछ भनेर दुई तीनदिन अगाडिनै खबर हुन्थ्यो । फोन धनीले फोन आउँछ भनेर हामीलाई भनिदिनु हुन्थ्यो । यति बजे फोन आउँछ आउनु भनेपछि गइन्थ्यो । एक घण्टा अगाडिनै जान्थ्यौ । फोन भने समयमानै आउथ्यो । बोल्नको लागि त्यतिबेला फोन समाउदा हात काप्थ्यो ।

अर्को कुरा स्कुलमा पढ्ने क्रममा साथीहरुको मोबाइल थियो । उनीहरुको नोकिया मोबाइल सेट थियो । सर्पवाला गेम खेल्न मिल्ने । त्यसमा २० मिनेट फ्रि–कल हुने त्यतिबेलाको मेरो सिम हाल्थे । उनीहरुले फोनमा बोल्थे । ए यस्तो हुँदो रहेछ भन्ने मेरो मनमा हुथ्यो । तर, आफूले फोन पाएपछि भने त्यति महत्व लागेन । अहिले मैले १२ प्रो–म्याक्स बोक्छु । सुरुमा फोन पक्रने बेलामा हात कापेको भुलेको छैन । पहिला ममीकै फोन मैले चलाए । त्यसपछि बानी प¥यो । पछि आफैले फोन पाउँदा खुशी त भए तर सिडिएमए फोन समाउदाखेरीको जस्तो अनुभुती त भएन । रजनीले भन्नुभयो ।

पोखरा फिल्म सोसाइटीका अध्यक्ष जीतेश प्रधान अनिवार्य भएकै कारण पहिलोपटक मोबाइल प्रयोग गरेको सम्झनुहुन्छ । सुरुमा मैले सामसुङको आर २२० को मोबाइल चलाएको हुँ । त्यतिबेला मेरो अडियो भिडियोको होलसेल डिस्ट्रिव्युटर कम्पनी थियो । सधैं हिडिराख्नपर्ने भएकोले एकदमै अनिवार्य बनेर नै मोबाइल लिएको हुँ । रहरले भन्दा पनि कामले लिएको कारणले लिएको भएर खासै त्यस्तो उत्सुकता उमगं भने भएन । पछि मल्टिमिडिया मोबाइल आउन थालेपछि नयाँ–नयाँ फिचरले तानेर थुप्रै मोबाइल किने । जस्तैः नोकिया एन ९० । अहिलेचाहि मैले सामसुङको जे–७ चलाउँछु । किनकी मोबाइलमा टेक्नोलोजिको विकास सकिएको छ । अहिलेको सेटमा खासै नयाँ कुरा आएका छैनन् । प्रधानले सुनाउनुभयो ।

कलाकार तथा निर्देशक माओत्से गुरुङले चलाएको मोबाइलको पहिलो सेट नोकिया कम्पनीको थियो । सुरुको सेट नोकियाको थियो । त्यतिबेला मोबाइल हुनुनै सान हुन्थ्यो । कसैलाई फोन गर्दा मात्रै हैन फोन आउँदा पनि पैसा लाग्ने गथ्र्यो । अहिले सामसुङ कम्पनीका मोबाइल सेट चलाउँछु । अहिले मोबाइल नर्मल भयो । उहाँले बताउनुभयो ।

पप गायक अविनाश घिसिङले सुरुवातका दिनमा मोबाइल लिँदा जोश र फुर्ती बढेको सम्झनुहुन्छ । मैले पहिलोपटक चलाएको मोबाइल फोन नोकियाको ३३१० मोडल थियो । त्योबेला जोश तथा फुर्ती निकै हुन्थ्यो । मेरो अपरिपक्क उमेर र समयले गर्दा होला सायद । हुनपनि मोबाइल सेट हातमा लिनुनै निकै सान र मान त्यससमयमा भएको अनुभुति हुन्थ्यो । साथीभाइ तथा आफन्तमाझ मोबाइल नम्बर आदान प्रदान गर्नुपर्दा निकै गर्व र सान महसुस गरिन्थ्यो । अहिले मैले आईफोन १२ प्रो–म्याक्स चलाउँछु । तर सान मान भन्दा पनि गुणस्तरिय र सुविधाको लागि उपयोग गरिरहेको छु । आईफोनको प्रयोग लगातार पाँचौ पटक गर्दैछु । घिसिङले भन्नुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले सुरुमा मोबाइल लिएको बेला फोन आउँदा मज्जा लाग्ने गरेको स्मरण गर्नुभयो । नोकिया ११ सय मोडलको सेट सुरुमा चलाएको हुँ । त्यतिबेला फोन आउँदा पनि साह्रै मज्जा लाग्थ्यो । तर अहिले सामान्य लाग्छ । अहिले एपल कम्पनीको ७ प्लस चलाउँछु । सामाजिक सञ्जालमा मोबाइल मार्फत अपडेट हुन्छु । उहाँले भन्नुभयो ।

यता निर्देशक नेत्र गुरुङ भर्खरै मोबाइल फोन आएको बेला मोबाइल गोजीमा लिएर हिड्दा मज्जा लाग्ने गरेको अनुभूति सुनाउनुहुन्छ । सुरुमा चलाएको नोकियाको ब्ल्याक एण्ड ह्वाइट ११ सय मोडल थियो । त्योबेला भर्खरै मोबाइल फोन आएको हुँदा छुट्टै मज्जा र रमाइलो लाग्थ्यो । त्यसअघिसम्म टेलिफोनबाट कुरा हुन्थ्यो । तर, आफ्नै हातमा अनि तार रहित मोबाइल मज्जाले गोजिमा बोकेर हिड्न पाइने, गफ गर्न पाइने हुँदा रमाइलो भएको थियो । अहिले मोबाइलको धेरै ब्राण्ड र भर्सन आएको समय हो । मेरो हातमा मोबाइल फोनको सेट धेरै टिक्दैन । अहिलेचाहि मेरो हातमा रेडमी–९–प्रो चलाएको अवस्था छ । उहाँले भन्नुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराका अध्यक्ष सुरेन्द्र गुरुङसँग सुरुमा स्काइ फोन चलाएको अनुभव छ । अहिले उहाँले तीनवटा मोबाइल नम्बर प्रयोग गर्नुहुन्छ । जसको लागि छुट्टाछुट्टै मोबाइल सेट छन् ।

मैले सबैभन्दा पहिला चलाएको स्काई फोन हो । नेपाल रेडक्रस सोसाइटी दाङसिङ घान्द्रुक उपशाखाको सभापतिमा निर्वाचित भएपछि २०६२ तिर हुनुपर्छ । तत्कालिन समयमा जनप्रतिनिधि थिएनन् । दाङसिङ गाविसको राजनीतिक समिति थियो । त्यतिबेला सबै राजनीतिक दलका प्रमुखहरुसँगै रेडक्रसको सभापतिको हैसियतले मैले एउटा सिम हात पारेको थिए । त्यस समयमा फोन अत्यन्त दुलर्भ थियो । स्काई फोन दुर्गम ठाउँमा पनि टिप्ने गथ्र्यो । लेन्ड लाइन गाउँमा हुने कुरा भएन । फोन लिँदा त हिरो भैइन्थ्यो । सबैले मान्थे । छुट्टै सान हुन्थ्यो । अहिले मैले तीनवटा सेट लिन्छु । एउटा विशुद्ध परिवारका लागि सामसुङ ग्यालेक्सी जे–७ प्रयोग गर्छु । यसबाट परिवारसँग मात्र कुरा हुन्छ । अर्को सबैसँग कुरा गर्नको लागि आईफोन लिएको छु । यसका साथै ठुलो ट्याब समेत लिएर हिड्छु । फोटो खिच्न र विशेष गरीकेही टाइप गरी कार्यक्रममा हेरेर बोल्न सजिलोको लागि यसको प्रयोग गर्छु । यसमा भएको मोबाइल नम्बर अत्यन्त नजिकका साथीहरुको लागि मात्र प्रयोग गर्छु । गुरुङले खुलाउनुभयो ।

हुनत नेपालमा जिएसएम मोबाइल फोनको परिक्षण २०५६ साल बैशाख १ गते गरिएको हो । परिक्षण पश्चात नेपाल दुरसञ्चार संस्थानले बैशाख २९ गते जिएसएम मोबाइल सञ्चालनका लागि औपचारिक स्वीकृति पाएको थियो । त्यसपछि बैशाख ३० गतेबाट मोबाइल फोन वितरण सुरु भयो । त्यतिबेला नेपालमा भित्रिएको मोबाइल फोन नर्टेल कम्पनीको फस्ट जेनेरेसनको फोन थियो । मोबाइल प्रयोग गर्नेहरु सिमित थिए । मोबाइल सेटमा समेत सिमित फिचर मात्र थिए ।

२०६० साल अघिसम्म नेपालमा पोस्ट–पेड मोबाइलको प्रयोग गरियो । २०६० साल भदौ ६ गतेबाट बल्ल प्रि–पेड मोबाइल सेवा वितरण सुरु भयो । त्यसपछि मोबाइलका प्रयोगकर्ता बढ्न थाले । सुरुवातमा मोबाइलमा फोन आउँदा र जाँदा समेत शुल्क लाग्ने गर्दथ्यो । सोही कारण समेत मोबाइल फोन प्रयोग अति आवश्यक कामको लागि हुन्थ्यो । यसैगरी नेपाल टेलिकमले २०६१ कार्तिक १ गतेबाट सिडिएमए प्रविधिको मोबाइल सञ्चालनमा ल्याएको थियो । २०६२ जेठ २३ गतेबाट मोबाइलमा आगमन कल निःशुल्क गरियो । त्यसपछि मोबाइल फोन प्रयोग गर्न खोज्नेहरु बढ्न थाले ।

२०६२ सालमा निजि क्षेत्रको कम्पनी स्पाइस नेपालले समेत फोन वितरणको स्वीकृती पायो । यसले मोबाइल फोनका प्रयोगकर्ता मात्र बढाएनन् यसप्रतिको क्रेज बढायो । २०६५ सालबाट नेपालका सबै जिल्लामा मोबाइलको कभरेज पुग्यो । नेपालमा अहिले कुल जनसंख्या भन्दा बढी मोबाइलका प्रयोगकर्ता छन् । एउटै व्यक्तिले एक भन्दा बढी सिम प्रयोग गर्दा जनसंख्या भन्दा बढी मोबाइलका प्रयोगकर्ता देखिएका हुन् । मोबाइल डाटा मार्फत इन्टरनेटको प्रयोग गर्न पाउँदा ग्राहक झनै बढ्न थाले । नयाँ–नयाँ फिचरका मोबाइल सेट बजारमा आए । मोबाइल सेटमा हुने फिचरका कारण समेत यसप्रति आर्कषण थप्यो ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button