विश्वकै ठूलो शालिग्राम शिला डुबानमा

पोखरा न्यूज ।  केही दिनदेखिको भारी वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने सेतीवेणी अवस्थित विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरूपमा डुबानमा परेको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभएको छ ।

शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएको पराजुलीले बताउनुभयो । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्यावियन पर्खालसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्णरूपमा क्षति पुगेको उहाँले बताउनुभयो । यही असार १ गतेको बाढीले उक्त क्षेत्रमा रहेको सेतीवेणी बजारसमेत डुबानमा परेको थियो भने नौ घर विस्थापित भएका थिए ।

कालीगण्डकीको बहाबले अहिले शिला र आसपासमा सत्तललगायतका संरचना डुबानमा परे पनि बजारसम्म आइनपुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । कतिबेला घरसम्मै आएर डुबाउने हो भन्ने चिन्ताले स्थानीयवासी भने रातभर जाग्राम बसेका थिए । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीवेणीबजार डुबानको खतरामा परेको हो । सेतीवेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार र स्याङ्जातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधरण त्रसित बनेका हुन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button