मनाङमा वर्षाले कृषि बालीमा डेढ करोड क्षति

पोखरा न्यूज । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले कृषि बालीमा डेढ करोडको क्षति पुर्याएको छ । गत जेठ ३१ गतेदेखि परेको वर्षाका कारण गाउँपालिकाको पाँच वटै वडाको बालीमा क्षति पुर्याएको हो । निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षति पुर्याएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाले नार्पाका बालीमा डेढ करोडको क्षति पुर्याएको छ । बाली लगाएको ठाउँमा सबै पानी जलमग्न भएको छ । खेत सबै भत्किएका छन् । निर्वाहमुखी र स्थानीय व्यावसायिक रूपमा खेती लगाएका किसानको बाली निरन्तरको वर्षाले नष्ट गरिदिएको हो ।”

गाउँपालिकाको पाँच वडामध्ये सबैभन्दा नार्पाभूमि गाउँपालिका–१ नारमा अहिलेको वर्षाले बालीमा ठूलो क्षति पु¥याएको उहाँले जाकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “नार्पाको वडा नम्बर १ नारमा यो वर्षाले किसानले लगाएका कोरु, आलु र तोरी बर्वाद बनाएको छ । चक्लाबन्दी गरेर लगाएका सो बाली पानीको मात्रा अत्याधिक भएर कतै कुहिएको छ, त कतै खेत भत्किएर पुरिएको छ ।”

उहाँले भन्नुभयो , “हिमाली भेग नार्पाभूमीको मुख्य बाली भनेको कोरु हो । यहाँ कोरु राम्रोसँग उत्पादन हुन्छ । यो बाली जौँ जस्तै हो । यहाँका नागरिक धेरै जसो कोरुमा नै निर्भर हुन्छ तर लगातारको वर्षाका कारण कोरु बालीमा नै ठूलो क्षति पु¥यायो । उक्त बालीमा क्षति पुग्दा यहाँका किसान निराश भएका छन् ।” नार्पामा कोरु, आलु र तोरीलगायत तरकारी खेतीमा क्षति पुगेको छ ।

गोरेटोको भर

नार्पाभूमि गाउँपालिका हिमाली जिल्ला मनाङको पनि मनाङ हो । यहाँ यातायातका लागि कुनै पनि सडक सञ्जालसँग जोडिएको छैन । नार्पाका नागरिकले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न गोरेटोबाटोको पैदल यात्रा गर्ने नार्पाभूमि गाउँपालिकाका उपाध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नार्पा विकट क्षेत्र हो । यहाँका नागरिकले आफ्ना दैनिक उपभोग्य बस्तु गोरेटोबाटो हुँदै घोडा र गधाको माध्यमबाट खाद्यान्न ढुवानी गर्दछ । सडक सञ्जाल जोडिएको छैन । यहाँ आउनका लागि पैदल यात्रा नै गर्नुपर्छ । नार्पाभूमि मनाङको पनि मनाङ हो । समुन्द्री सतहदेखि चार हजार दुई सय उचाइमा रहेको नार्पाभूमि हो । सदरमुकाम चामेबाट तिन दिनको पैदल यात्रा गर्नु पर्छ ।”

गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिराका कारण नार्पाभूमि अलग्गिएको छ । बाढीपहिराका कारण नार्पाका काठे पुल, झोलुङ्गे पुल बाटोघाटो र घरमा पनि क्षति पुगेको छ । पाँच वटा पुल नार्पाका सबै स्थानका गोरेटो बाटो बाढीपहिराले बगाउनुका साथै भत्किएको छ । यस्तै नार्पाभूमि गाउँपालिका १ नार गाउँमा माटोको चार घर पूर्णरुपमा क्षति पुगेको छ भने वडा नम्बर ४ र ५ फु गाउँमा दश वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

वर्षासँगै आएको जिल्लामा बाढीले करोडौँको भौतिक क्षति पु¥याएपछि मनाङवासी पीडामा रहेका छन् । मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । जिल्लाको चार स्थानीय तह नै बाढीपहिराबाट पूर्णरूपमा प्रभावित भएको छ । नासोँ, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिराबाट क्षतिग्रस्त भएको छ । नार्पाभूमि गापा पहिराबाट प्रभावित भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button