जिफानको राहतबाट ७ वटा लघु चलचित्र निर्माण

फेस्टिभल मार्फत प्रदर्शन गर्ने तयारी

राजाराम पौडेल, पोखरा न्यूज । गुरुङ फिल्म एशोशिएसन नेपाल जिफानले प्रदान गरेको राहतबाट ७ वटा लघु चलचित्र निर्माण गरिएको छ । कोरोना कहरका कारण समस्यामा परेका गुरुङ फिल्मकर्मीलाई क्रियाशील बनाउनको लागि जिफानले यो प्याकेज ल्याएको थियो । अप्ठ्यारोमा परेका फिल्मकर्मीलाई खाद्यान्न सामाग्री सहयोग गर्नुभन्दा केही रचनात्मक कार्य गरेर उनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने उद्धेश्यले यो प्याकेज रहेको थियो ।
सोही प्याकेजमा रहेर ७ वटा लघुचलचित्र निर्माण भएको जिफानका अध्यक्ष भोजबहादुर गुरुङले बताउनुभयो ।

कोरोनाका कारण फिल्म क्षेत्र ठप्प भयो । फिल्म क्षेत्र ठप्प हुँदा फिल्मकर्मी समस्यामा पर्नुभयो । सहयोगी दाताबाटा केही रकम संकलन गरेर कलाकार प्राविधिकलाई सहयोग गर्ने निधो गर्‍यौ । हाम्रो आग्रहलाई स्विकार गर्दै ११ लाख रुपैयाँ भन्दा बढी संकलन भयो । त्यतिबेला राहतको वितरण गर्ने फेसन थियो । अरुले गरेको झै राहत वितरण गर्न हामीलाई मन लागेन । किनकी हामी रचनात्मक काम गर्ने मानिस हौं । समाजको बौद्धिक सम्पत्ति फिल्मकर्मी भएकोले फिल्म मार्फतनै राहत वितरण गर्नुपर्छ भन्ने सोच बनाइयो । त्यसपछि समुह बनाएर लघुचलचित्र निर्माण गरौ, केही बौद्धिक सम्पक्ति पनि थपिने निर्माण टिमलाई केही रकम आम्दानी समेत हुन्छ भन्ने निष्कर्षमा पुग्यौ । फलस्वरुप विभिन्न ८ समुह बनाएर हरेक समुहको लागि ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने गरी काम सुरु भयो । आज ७ वटा समुहबाट फिल्म प्राप्त भयो । एक समुहले फिल्म निर्माण गर्न सक्नुभएन र रकम फिर्ता गर्नुभयो । अध्यक्ष गुरुङले भन्नुभयो ।

यसरी निर्माण गरिएका लघुचलचित्र गुरुङ चलचित्र महोत्सव पोखरा, अमेरिका, काठमाण्डौ, सिड्नी लगायतका देश तथा विदेशका ठाउँमा प्रदर्शन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । अब वर्षैपिच्छे गुरुङ चलचित्रको फेस्टिभल गर्दै जाने जिफानको उद्धेश्य रहेको उहाँको भनाई छ ।

कोरोनाका कारण गत वर्ष जिफानमा कुनै पनि फिल्म दर्ता नभएर शुन्य अवस्थामा पुगेको सुनाउदै गतिलिदै गरेको गुरुङ फिल्म क्षेत्र फेरि शुन्य अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताउनुभयो । सबैको साथ सहयोगमा विस्तारै गुरुङ फिल्म क्षेत्रले गति लिने उहाँको विश्वास छ ।
निर्माण भएका लघु चलचित्रमा राजेश गुरुङ र नौजंग गुरुङको निर्देशनमा खुसबा, माओत्सेतुङ गुरुङको निर्देशनमा आप्पा, आइतराम गुरुङको निर्देशनमा स्याइ स्याइ, जनक गुरुङ निर्देशनमा धने, गुञ्ज बहादुर गुरुङ र राजु गुरुङ निर्देशनमा पहिचान, खुश बहादुर गुरुङको निर्देशनमा आधा लाहुरे र सोमबहादुर गुरुङ तथा लबसन गुरुङको निर्देशनमा विच्छेद रहेका छन् । यी सबै चलचित्र शनिबार पोखरामा देखाइयो ।

सिमित गुरुङ चलचित्रसँग सम्बन्धित प्राविधिक, कलाकार, निर्माता, निर्देशक सहितका व्यक्तित्वहरुको उपस्थितिमा चलचित्र प्रदर्शन गरेर प्रदर्शन गरिएका चलचित्रको बारेमा समीक्षा समेत गरिएको हो । फिल्म हेरेपछि पहिला समुहगत समीक्षा तथा पछि समिक्षक र विज्ञबाट सल्लाह सुझाब सहित भनाई राखिएको थियो । प्रदर्शन गरिएका ७ वटै चलचित्रले गुरुङ भाषा संस्कृति रीतिरिवाज परम्परालाई चलचित्र मार्फत देखाउने प्रयास गरेका थिए ।

चलचित्र निर्माण एवं छनोट समितिका संयोजकमा माओत्से गुरुङ रहनुभएको थियो । जसको सदस्य सचिव कृष्ण कुमार गुरुङ तथा सदस्यमा वेद बहादुर गुरुङ, भोजबहादुर गुरुङ र प्रितम गुरुङ रहनुभएको थियो ।

यो समिति २०७७ असार २६ गते निर्माण भएको थियो । पहिलो बैठकबाट कोसभडको कारण मर्कामा परेका निर्माता निर्देशक एवं गुरुङ चलचित्रसँग आवद्ध र सम्बन्धित सबै जनशक्तिलाई नौलो तरिकाले राहत वितरण गर्ने निर्णय गरिएको थियो । सिर्जनाबाटनै राहत व्यवस्था गरौं भनेर पोखरा, काठमाण्डौ, लमजुङ, स्याङजा, पर्वत सहति नेपालभरीका विभिन्न जिल्लामा बसोबास गर्ने गुरुङ चलचित्रकर्मीलाई आठ भागमा विभाजन गरिएको थियो । जिफानमा १ सय ६० जना सदस्य आवद्ध हुनुहुन्छ ।

समितिमा रहेका ५ जनाले भने यसरी बन्ने लघु चलचित्र निर्देशन गर्न नपाउने नियम थियो । गत असोज १८ गते डेढ महिनाको समय दिएर चलचित्र निर्माण गर्न भनिएको थियो । तर, समयमा चलचित्र तयार पारेर बुझाउन भने ती समुहले सकेनन् । समय थप्दै जाँदा शनिबार औपचारिक रुपमा बल्ल ७ वटा चलचित्र जिफानलाई हस्तान्तरण गरिएको हो । समयमा चलचित्र निर्माण नगरेको तथा ८ वटा चलचित्र निर्माण हुनुपर्नेमा ७ वटा मात्र चलचित्र निर्माण भएकोमा संयोजक माओत्से गुरुङले असन्तुष्टि जनाउनुभयो ।
एउटा समुहले चलचित्र निर्माण नगरेकोमा मेरो असन्तुष्टि छ । हो हामीले बनाएको शत प्रतिशत सही हुँदैन, गल्ती कमजोरीबाट नै सिक्दै जाने हो । बारम्बार ताकेता गर्दा समयमा चलचित्र निर्माण भएनन् । समयको सिमालाई बुझ्न सक्नुपर्छ । आज एउटा गुप्रले बनाएको छैन भन्दा म सन्तुष्ट छैन । संस्थाको पहल गर्दा तयार नहुुनु ठिक हुँदेन । म खुशी छैन । हामी त क्रियटिभ मानिस हौ । फरक तरिकाको प्याकेज ल्याएर चलचित्र बनाउनु भन्दा अग्रसर नहुनु विडम्बना हो । जिफानका संस्थापक अध्यक्ष समेत रहनुभएका गुरुङले भन्नुभयो ।

चलचित्र निर्माण एवं छनोट समितिका सदस्य सचिव कृष्ण कुमार गुरुङले विश्व चलचित्र बजार चिर निन्द्रमा सुतिरहेको समयमा जिफानको सक्रियातमा पोखरा र पोखरेली चलचित्र क्षेत्र जुर्मुराएको दावी गर्नुभयो । जिफानको पहलमा हलमा नियमित गुरुङ प्रदर्शन हुनु ऐतिहासिक काम भएको उहाँले बताउनुभयो ।

चलचित्र चलचित्रको विश्व बजार चिर निन्द्रामा सुतिरहेको बेलामा पोखरा र पोखरेली चलचित्र जुर्मुराएको अवस्था थियो । लकडाउनको बिचको भ्याकुमलाई प्रयोग गरेर चलचित्र प्रदर्शन गरियो । निर्माणलाई समेत अगाडि बढाइयो । यो सबै चलचित्रकर्मीहरुको एकता सम्भव भएको हो । फिल्म हलमा नियमित प्रदर्शन गरेर नयाँ भाइब्स सिर्जना गरिएको थियो । उहाँले भन्नुभयो ।

प्राप्त भएका चलचित्रको हार्डडिस्क सदस्यसचिव कृष्ण कुमार गुरुङले जिफान अध्यक्ष भोजबहादुर गुरुङलाई औपचारिक रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

लघु चलचित्र हस्तान्तरण तथा प्रदर्शन कार्यक्रममा स्वागत जिफानका उपाध्यक्ष गुञ्ज बहादुर गुरुङ तथा सञ्चालन कार्यवहाक सचिव लवसन गुरुङले गर्नुभएको थियो । यसैगरी समुहत रुपमा समीक्षा सँगै जिफानका निवर्तमान अध्यक्ष गिरी प्रसाद गुरुङ, चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष अरुण गिरी, नेपाल पत्रकार महासंघ कास्कीका सदस्य युनिस गुरुङ आदिले समेत प्रदर्शन गरिएका लघुचलचित्रको बारेमा समीक्षा गर्नुभएको थियो । कार्यक्रम जिफानका अध्यक्ष भोजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसरी कोरोनाबाट आक्रान्त गुरुङ फिल्मलाई चलायमान बनाउन जिफानको रोहवरमा समुहगत तमु लघु चलचित्र निर्माण गर्नु फिल्म क्षेत्रका लागि सकारात्मक कुरा हो । अर्को कुरा गुरुङ कला संस्कृतिलाई सधैं लामा चलचित्र मार्फत देखाउने क्रमलाई तोड्दै लघुचलचित्र मार्फत देखाएर नयाँ अभ्यासको सुरुवात गरिएको छ । यसले आगामी दिनमा थप चलचित्र निर्माण गर्न पक्कै सघाउनेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button