पर्वतको कुश्मामा खानेपानीको हाहाकार

पोखरा न्यूज । मनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि पर्वतको सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा छन् ।

गत मङ्गलबार राति वर्षासँगै आएको बाढीले कुश्मा – ८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि खानेपानीको समस्या भएको हो । साविकको जिल्ला सदरमुकाम कुश्मा बजारमा चार दिनयता धारामा खानेपानीको आपूर्ति हुन सकेको छैन । खानेपानी आपूर्तिको जिम्मा लिएको शिवालय खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी परिरहेका कारण पाइप मर्मतका लागि जान नसकिएको बताएको छ ।

संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले पानी परिरहेका कारण र खानेपानीको पाइप भएकै ठाउँमा पहिरो लच्किरहेका कारण मर्मत गर्न कठिनाइ भएको बताउनुभयो । नगरपालिकामा मोदी गाउँपालिका वडा नं ३ देउरालीमा रहेको पातीखोला र कुश्मा– २ को केवादी खोलाबाट खानेपानी आपूर्ति हुँदै आएको थियो । अहिले दुवै ठाउँमा बाढी र पहिराले समस्या भएको संस्थाका प्रबन्धक राजेन्द्र रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुश्मा नगरका एक हजार ५ सय ६० परिवारका झण्डै २३ हजार जना अहिले खानेपानीको समस्यामा छन् । अहिले धारामा पानी नआएपछि र निरन्तर पानी परिरहेका समयमा बजारबासीले बलेनीमा पानी सङ्कलन गरी प्रयोग गर्दै आएका छन् । बलेनीको पानी खानका लागि उपयोगी नभए पनि अन्य प्रयोजनका लागि सङ्कलन गर्ने र खानेपानीका लागि घण्टौँ समय खर्चेर जानुपर्ने अवस्था रहेको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button