एमालेले गर्यो गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

पोखरा न्यूज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाएपछि आज गण्डकी प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बजेटमाथि छलफल गर्ने कार्यसूची रहेकामा बिहान ११.०० बजे बैठक शुरु हुनासाथ प्रतिपक्षी दलका सदस्यले उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले एमालेका प्रदेशसभा सदस्य रामशरण बस्नेतलाई बोल्न समय दिनुभएको थियो ।

नयाँ सरकारले बजेट रकमान्तर गरेको तर पुराना काम सकिएका योजनाको भुक्तानी रोकेको बस्नेतले बताउनुभयो । सरकार बन्दा पुँजीगत खर्च रोकिएको बताउँदै उहाँले रकमको वितरण, योजना छनोटको आधार आदिबारे स्पष्ट पार्नुपर्ने बताउनुभयो । पोखरामा एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको बताउँदै उहाँले बजेटको विनियोजन कानूनसम्मत नभएको टिप्पणी गर्नुभयो ।

प्रतिपक्षका अन्य सदस्यहरुले पनि उठेर बैठक अवरोध जारी राखेपछि सभामुख नेत्रनाथ अधिकारीले आजै १.०० बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो । दिउँसो १.०० बजेका लागि बोलाइएको बैठकमा पनि अवरोध कायम भएपछि भोलि बिहान ११.०० बजेसम्मका लागि बैठक स्थगित भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button