कल्पना सिनेमा हल पूर्ण रुपमा बन्द, स्मरण भने ताजै

राजाराम पौडेल । कुनै समय फिल्म हेर्ने दर्शकको रोजाईमा पर्ने गरेको ठाउँ हो कल्पना सिनेमा हल । पोखराको तेस्रापट्टीमा रहेको यो सिनेमा हलसँग धेरै फिल्मप्रेमी र फिल्मकर्मीका रमाइला तथा नरमाइला स्मरण अझै ताजै छन् । यो सिनेमा हलले समेत विभिन्न आरोह अवरोहलाई पार गर्नुपर्‍यो । विभिन्न उतार चढाव हलमा आए । बन्द हुने र खुल्ने क्रम समेत हुँदै गयो । अहिले भने यो हल पूर्ण रुपमा बन्द भएको छ ।

कोरोना महामारीका कारण देशभरका ४० भन्दा बढी हल सदाको लागि बन्द भएपनि कल्पना हल भने कोरोना कहर आउनुभन्दा केही महिना अगाडिबाट नै बन्द भएको थियो । यो सिनेमा हल रहेको जग्गा तथा भवन पोखराको प्रतिभा माध्यामिक विद्यालयले किनेको हो । प्रतिभाले किनेपछिको केही समय पुनः भाडामा हल चलाउन दिएपनि कोरोना कहर आउनु भन्दा अगाडि नै अब नचलाउने भनेर हल सञ्चालकले चावी आफूहरुलाई हस्तान्तरण गरेको प्रतिभा माध्यामिक विद्यालयका प्राचार्य विश्व गोपाल पराजुलीले बताउनुभयो । बन्द भएको यो हलसँगका स्मरण भने धेरैंसँग अझै ताजा नै छन् ।

फिल्म निर्माता किसान पोखरेलले कल्पना सिनेमा हलमा टिकट काट्नेको भिड हुँदा ५ रुपैयाँको टिकटलाई १० रुपैयाँ तिरेर हेरेको विर्सनुभएको छैन ।
सानोमा फिल्म हेर्न जाँदा टिकट काट्न असाध्यै गाह्रो थियो । पुर्णिमा हलमा धेरै पटक ब्ल्याकमा टिकट किनेर हेरियो । कल्पनामा हलमा फिल्म हेर्दा ५ रुपैयाँको टिकटलाई १० रुपैयाँ तिरेर हेरे । पछि विन्ध्यवासिनी हल खुल्यो, श्रीकृष्ण हल खुल्यो अनि सहज भयो । तर पनि फिल्म हेर्न टिकट काट्न गाह्रो नै हुन्थ्यो । धेरै पटक व्ल्याकमा टिकट काटेरनै फिल्म हेरियो । राम्रो ठाउँको टिकट महंगो हुने भएकोले हामी सबैभन्दा अगाडि बसेर फिल्म हेर्ने गथ्र्यौ । खाजा खाने भनेको पैसा संकलन गरेर फिल्म हेरिन्थ्यो । एकजना साथी हुनुहुन्थ्यो हरि लामिछाने प्रायः उहाँ र म जान्थ्यौ ।

कल्पना सिनेमा हलमा फिल्म हेर्न जाँदा टिकट काट्न आफू नै अगाडि सर्ने गरेको कलाकार प्रकाश घिमिरे सम्झनुहुन्छ ।

टिकट काट्दा कल्पना हलमा अधिकांश मैले नै काट्थे । तहाँ धेरै भिँड हुन्थ्यो । मानिसको टाउको टाउकोमा चढेर गएर टिकट काटिन्थ्यो । एकपटक पञ्जाबी बाला लगाउने चलन थियो । मैले हातमा बाला लगाएको थिए । टिकट काट्न हात छिराउने ठाउँमा सानो प्वाल हुन्थ्यो । हात छिराउँदा बाला सहित गयो । टिकट सहित हात बाहिर निकाल्दा त बालाले हातको नसा नै देखिने गरेर छाला ल्वात्तै लछार्‍यो । रगत बग्न थाल्यो । टिकट छोड्दा अरुले लिन्थे । सोही कारण रगत बग्दा समेत हातको टिकट छोडिन । फिल्म रिलवाला चक्का मार्फत देखाइन्थ्यो । रिल बेला–बेलामा चुडिन्थ्यो । त्यस्तो बेलो हल्ला गर्ने चिच्याउने, सिठि बजाउने गरिन्थ्यो ।

कल्पना हलमा फिल्म हेर्दा पंखामा अचानक आगो लागेपछि भागाभाग भयो । मसँग अनुप र अनिल गएका थिए । भागाभाग भएपनि म उनीहरुलाई समाएर भित्र नै बसे । हुन त केही भएको थिएन । मलाई हलमा फिल्म हेर्दा डर लाग्ने भनेको संवेदनशील फिल्म हेरे भने छिट्टै आँखामा आँशु आइहाल्छ । यसरी आँशु आउँदा आसपासका मानिसँग लाज लाग्छ । अरुलाई केही भएको छैन आफू रोएको रोएइ भइन्छ ।

घर नजिकै हल भएको कारणले कलाकार प्रमिला तुलाचनले पहिलोपटक फिल्म हेरको कल्पना सिनेमा हलमा नै हो ।

मैले सबैभन्दा पहिले फिल्म हेरेको पोखराको कल्पना सिनेमा हलमा हो । मलाई त्यतिबेला हिरो, हिरोइन साँच्चिकै हल भित्र नै छन् होला भन्ने लाग्थ्यो । हलको पछाडिबाट कलाकार निस्कन्छकी जस्तो अनुभव हुन्थ्यो र हलको पछाडि गएर हेर्थे । पछाडि पट्टि स्टाफ बस्दा रहेछन् । कलाकार बस्ने होला भनेर कहिले निस्कन्छ भन्दै बाटो कुर्थे । अहिले सम्झदा रमाइलो लाग्छ ।

कल्पना सिनेमा हलमा ढाँटेर फिल्म हेर्दा होस्टेलमा गाली खाएको सन्तोष कोन्मेको स्मरणमा अझै ताजै छ ।

फिल्म हेर्दाका रमाइला अनुभव थुप्रै छन् । श्रीकृष्ण हलमा ‘मस्त’ भन्ने फिल्म लागेको थियो । हामी सानै थियौ । परिवारसँग गएर ‘ड्रेसकल’मा बसेर फिल्म हेरेको याद थियो । तर स्पेशल, ड्रेसकल कुनलाई भन्छ थाहा थिएन । त्यो बेला हामीले आफै लाइनमा बसेर टिकट काटेर फिल्म हेर्ने सम्भव थिएन । फिल्मको टिकट काट्न ठुलै कष्ट हुने गथ्र्यो । टिकट काट्दा ठुला–ठुला झगडा हुने गर्थे । ब्ल्याकमा टिकट विक्रि गर्थे । एकचोटी हामीले ब्ल्याकमा टिकट किन्यौ । ब्ल्याकमा टिकट बेच्नेले स्पेशलको दिउ कि ड्रेसकलको भनेर सोध्दा स्पेशल भन्यौ । किनकि स्पेशल भनेको त विशेष होला भन्ने भयो । हामी टिकट काटेर भित्र छिरेउ । अनि माथि उक्लिएउ । अनि टिकट चेक गर्ने दाइले तपाईहरुको तल हो भनेर पठाउँदा हाँसो लाग्यो लाज पनि लाग्यो । स्पेशल भनेको विशेष रहेन्छ ड्रेसकल भनेको पो विशेष रहेछ ।

अर्को कुरा कल्पना हल पुनः निर्माण गरेपछि पहिलो फिल्म नै होला सायद ‘कभी खुशी कभी गम’ लागेको थियो । हामी होस्टेलमा बस्थ्यौ । साथीहरुले फिल्म हेर्न जाने सल्लाह गर्‍यौ । तर होस्टलबाट जान सम्भव थिएन । अनि आइडिया निकाल्यौ । पन्थी गल्लीमा १० रुपैयाँ कपाल काट्ने ठाउँ थियो । साह्रै भिड हुने गथ्र्यो । सायद बहुदल हेयर कटिङ के थियो अल्ली नाम भुले । त्यहाँ कपाल काट्न जाने भनेर होस्टलमा भन्यौ र फिल्म हेर्न गयौ । होस्टलमा सधैँ ढिला किन भन्दा ? कपाल काट्ने मान्छे धेरै भएर भन्दा सधैँ पत्याउनु हुन्थ्यो । फिल्म हेर्न त गईयो तर फिल्म यति लामो रैछकि साढे ३ घण्टा लामो । पुरै फिल्म हेरेर फर्कदा ढिला भयो । होस्टेलमा त्यस दिन मज्जाले गाली खाईयोे ।

कल्पना सिनेमा हलमा फिल्म हेर्न जाँदा त्यहाँ नै भेटाएको १० रुपैयाँले फिल्म हेरको गायक रामभक्त जोजिजू सम्झनुहुन्छ ।

सानोमा फिल्म हेर्न पैसा हुन्थेन । पैसा चोरेर हेर्न गइन्थ्यो । अनि आफूलाई फिल्मको हिरो सम्झिदै घरमा पछाडिबाट खुसुक्क पसिन्थ्यो । फिल्मको पर्दामा बाघ देख्दा डर लाग्थ्यो । सानो छँदा यस्तो सुनेको थिए– ‘कुनै गाउँंले फिल्म हेर्न गएछ । फिल्ममा बाघ देखिएछ । बन्चरोले त्यो बाघलाई हिर्काउंदा पर्दा नै च्यातिएछ । अनि त्यो मानिसलाई पुलिसले समातेर लग्यो रे’ । त्यो बेला दाइहरुलाई फिल्म हेर्न लगिदेउ न भन्दा बाघ आउँछ भन्थे अहिले त्यही कुरा याद आउँछ । हाँसो लाग्छ ।

एक चोटी सानो छंदा कल्पना सिनेमा हलमा भएको थिए । त्यतिबेला आफूसंग पैसा हुन्थेन । त्यतिबेला टिकट काट्ने भिडमा १० रुपैयाँ पाएको थिए । त्यो बेला हलमा सागर रन्जित र म गएका थियौ अनि घण्टे दाइलाई त्यो दस रुपैयाँ दियौँ । उस्ले स्पेशलमा राखिदियो । अनि दूध बरफ किनेर हामीलाई दियो । त्यो बेला निकै रमाईलो लागेको थियो । कहिलेकाही फिल्म दोहोर्‍याएर, तेह्राएर समेत हेरिन्थ्यो । दश नम्बरी भन्ने मनोज कुमारको फिल्म दस चोटि हेरियो होला ।

कल्पना सिनेमा हलमा दोस्रो श्रेणीको अगाडि भुईमानै बसेर फिल्म हेरेको पोखरा फिल्म सोसाइटिका अध्यक्ष जीतेश प्रधानको अनुभव छ ।

बच्चामा पैसा कम हुनाले एउटा टिकटमा दुईजनाले फिल्म हेर्न जाने गथ्र्यौ । त्यतिबेला कल्पना सिनेमा हल थियो । हामी दोस्रो श्रेणीको अगाडि भुईमानै बसेर फिल्म हेर्ने गथ्र्यौ । कहिलेकाही सिटमानै बस्न पाउथ्यौ । पछि पोखरामा हलहरु थपिदै गए । हलसँगै दर्शकको संख्या समेत थपियो । टिकट काट्न ठुलै कष्ट गर्नुपथ्र्यो । टिकट काट्न लाइनमा बस्न नसक्नेले बढी पैसा तिरेर ब्ल्याकमा टिकट किन्थे । हामी साथीहरुको हुल बनाएर टिकट काट्न जान्थ्यौ । नेपाली फिल्म हेर्न ठुलो भिँड हुन्थ्यो । टिकट काट्नको लागि पिटापिट नै गर्नुपर्ने अवस्था समेत हुने गथ्र्यो । कहिलेकाही प्रहरी र व्यारेकबाट फिल्म हेर्न निस्केको आर्मी आयो भने मात्र मानिसको लाइन मिल्थ्यो । नत्र सक्नेले लाइनमा बसेर टिकट काट्ने, नसक्नेले ब्ल्याकमा टिकट काट्ने गर्नुपर्ने अवस्था हुन्थ्यो ।

अहिले भने अनलाइनबाट टिकट बुक गरेर मज्जाले मल्टिप्लेक्स हलमा फिल्म हेर्ने दिन आयो । तर त्यो बेलाको जस्तो नेपाली फिल्ममा दर्शकको संख्या भने गुमेको छ । प्रधानले भन्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button