तनहुँमा बालबालिकाको अवस्था बारे प्रोफाइल तयार गरिने

पोखरा न्यूज । तनहुँ जिल्लाका सबै स्थानीय तहले बालबालिकाको अवस्थासम्बन्धी वस्तुगत विवरण (प्रोफाइल) तयार गर्ने भएका छन् । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बुधबार सम्पन्न शैक्षिक परामर्श गोष्ठीले उक्त निर्णय गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (मन्त्रिस्तर) को गत असार २७ गते स्वीकृत भएको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को परिच्छेद ४ दफा ७ को लक्ष्यअनुसार २०८७ सालसम्म नेपालका सबै स्थानीय तहलाई बालमैत्री बनाउने निर्णय गरिएको छ । त्यसका लागि जिल्लाका सबै स्थानीय तहले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को सूचकाङ्कमा आधारित भई गाउँपालिका/नगरपालिकामा बालबालिकाको अवस्थासम्बन्धी विवरण तयार गर्ने निर्णय भएको समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयो ।

सबै पालिकाले आफ्नो पालिकाको शैक्षिक सूचक समावेश गरी प्रोफाइल तयार गर्ने, गाउँ/नगर शिक्षा योजना निर्माण गर्न बाँकी रहेका पालिकाले यसै आर्थिक वर्षमा उक्त योजना निर्माण गर्ने, गाउँ/नगर शिक्षा समिति गठन/पूर्णता दिन बाँकी रहेका पालिकाले अविलम्ब यसको गठन/पूर्णता प्रदान गरी समितिलाई क्रियाशील बनाई शैक्षिक निर्णय र गतिविधिलाई प्रभावकारी बनाउने निर्णय भएको गुरुङले बताउनुभयो ।

सङ्घ, प्रदेश, पालिका र वडाको शिक्षासम्बन्धी कार्यक्रम र बजेटको कार्यान्वयन गर्दा गराउँदा एकरुपता हुने गरी कार्यविधि वा निर्देशिका तर्जुमा गर्ने, पालिकाभित्र शिक्षा क्षेत्रमा हुने सबै खर्च÷बजेट÷कार्यप्रगति (सङ्घ, प्रदेश, पालिका, वडा र गैसस आदि)को एकीकृत अभिलेख पालिकाको शिक्षा शाखामा रहने व्यवस्था मिलाउन आवश्यक कार्यविधि वा निर्देशिका तर्जुमा गर्ने निर्णयसमेत भएको छ ।

सबै पालिकाले नमूना विद्यालयको कार्यविधि तर्जुमा गरी त्यसका सूचकको आधारमा प्रत्येक वडामा प्रत्येक वर्ष नमूना विद्यालयको सङ्ख्या वृद्धि गर्दै जाने नीति तथा कार्यक्रम बनाउने, संस्थागत एवं सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर सुधारका लागि प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने, वस्तुगत सूचक निर्माण गरी उत्कृष्ट विद्यालयलाई वार्षिकरूपमा पुरस्कृत गर्दै जाने, विद्यालयको समग्र शैक्षिक क्रियाकलाप र कार्यको अनुगमन कार्यलाई अझ नियमित र प्रभावकारी बनाउँदै जाने निर्णय भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button