नेपाली फिल्ममा गीतको महत्व घट्दै

फिल्ममा माटो सुहाउँदो गीतको कमी

राजाराम पौडेल । नेपाली फिल्म सफल र असफल हुन फिल्ममा समाबेश गीतले ठुलो अर्थ राख्छ । सोही कारण फिल्ममा महत्वका साथ गीत समावेश गर्ने प्रयास हुने गरेको छ । गीतकै कारण कति फिल्म हिट भएका छन् । तर विगतको तुलनामा पछिल्ला दिनमा नेपाली फिल्ममा प्रयोग गरिएका गीतप्रति धेरैको असन्तुष्टि छ । कारण विगतमा जस्तो कालजयी, सदावहार बन्ने खालका नेपाली मौलिक गीत फिल्म मार्फत आउने क्रममा सुस्तता आएको छ । केही अपवाद बाहेक पछिल्लो क्रममा आएका अधिकांश फिल्मका गीतले नेपाली मौलीकतालाई स्थान दिन नसकेको नेपाली फिल्म तथा नेपाली गीत प्रेमीको गुनासो सुन्ने गरिन्छ ।

विना प्रसंगका गीत तथा शब्द तथा विषयवस्तुलाई ध्यान नदिई जर्बजस्ती फिल्ममा गीत समाबेश गर्दा फिल्मका गीत प्रतिको मोह घटाइरहेको बुझाई उनीहरुको छ । यसका अलावा फिल्ममा गीत आवश्यक नपर्ने आवाजहरु उठ्न थालेका छन् । केही फिल्ममा थोरै संख्यामा गीत समावेश गरिएको समेत पाइन्छ । हुनत गीतको लोकप्रियताले फिल्मको लोकप्रियतालाई केही हदसम्म निर्धारण गर्ने गरेको पाइन्छ । यतिहुँदाहुँदै पनि फिल्ममा समाबेश गीतको महत्व पहिलेको जस्तो देखिदैन । माटो सुहाउदो कालजयी गीतको कमी भएको कारण यस्तो अवस्था आएको केही कलाकार तथा संगीतकर्मीको भनाई छ ।

गीतकार राजेन्द्र अधिकारीले भने फिल्ममा गीत समावेश गर्नु त्यति सान्दर्भिक देख्नुहुन्न । फिल्ममा गीत राख्ने प्रचलन धेरै पहिलाबाट सुरू भएको हुनुपर्छ । त्यसमा पनि दक्षिण एशियाका फिल्महरुमा गीत राख्ने प्रचलन धेरै नै पाउन सकिन्छ । भारत, पाकिस्तान, बंगलादेश र नेपाल जस्ता देशहरूमा गीत विनाको पनि फिल्म हुन्छ र भन्ने एक किसिमको मान्यता थियो । पहिलेका नेपाली फिल्मका गीतहरूका शब्दहरू, संगीत, स्वरहरू मौलिक तथा अति कर्णप्रिय हुन्थे । जस्तै नेपाली फिल्म सम्झना, कुसुमे रूमाल, साईनो, लाहूरे जस्ता फिल्मा गीतहरू अहिले पनि त्यतिकै लोकप्रिय छन् । तर अहिलेका चलचित्रका गीतहरूमा पहिलाको जस्तो मिठास छैन । तर पनि ‘नाई नभन्नु ल’, ‘ए मेरो हजुर’ लगायतका केहि फिल्मका गीतहरू मिठा छन् ।

मेरो ब्यक्तिगत विचारमा फिल्ममा गीत त्यति सान्दर्भिक देख्दिन । प्रसंगवस् वा कथाले मागे अनुशार राखिने गीतहरू स्वभाविक लाग्छन् तर नायक नायिकाको प्रेमप्रसंग चित्रण गर्न, पात्र–पात्राको खुसी अथवा दुखी चित्रण गर्न, संयोग वा वियोगको चित्रण गर्न राखिएका गीतहरू अस्वाभाविक हुन्छन् ।

यदि फिल्म कुनै गीतकार, संगीतकार, गायक वा नृत्यकारको जीवनीमा आधारित छ भने स्रष्टामा आधारित गीतहरू राख्नैपर्ने हुन्छ । फिल्मको थिम् गीत, शीर्षक गीत वा प्रोमोशन गीत बाहेक अन्य गीतको महत्व हुन्छ जस्तो मलाई लाग्दैन । विदेशी कथानक फिल्महरुमा शीर्षक गीत बाहेक कुनै गीत नै हुँदैनन् तर पनि ओश्कार जितिरहेकै हुन्छन् । फिल्ममा नायक नायिकाको नृत्य देखाउनलाई मात्र राखिएका गीतको कुनै महत्व देख्दिन । गीतकार अधिकारीले भन्नुभयो ।

अभिनेना किसान सुनार उत्कृष्ट सिनेमा बन्नको लागि गीत आवश्यक परेपनि आज आउने भोलि हराउने खालको गीतको भने फिल्ममा आवश्यकता नपर्ने तर्क गर्नुहुन्छ । राम्रो सिनेमा बन्नको लागि गीत आवश्इक नपर्ने उहाँको दावी छ ।

पहिला–पहिलाका फिल्ममा समावेश गीतहरु कालजयी हुने गर्दथे । शब्द चयनमा साहित्यको बिशेष महत्व झल्कन्थ्यो । संगीत र शब्दको तालमेल उस्तै हुँदा त्यस्ता गीत सबैको मन मस्तिस्कमा पुग्न सफल बन्थे । अहिलेको जस्तों प्रविधिका कारण सहज र सरल अवस्था नहुदाँ समेत कति उत्कृष्ट गीतहरु बन्ने गर्थे । सोही कारणले होला पहिलाका गीतहरु अहिले समेत उत्तिकै प्रिय छन् । जति सुनेपनि सुनौ सुनौ लाग्छ । तर अहिलेका गीत भने आज आउने भोलि हराउने खालका छन् । यी गीतहरु खहरेको भेल जस्तै हुन् । आजकालको गीतहरु धेरै छाड़ा र उश्रृङखल छन् । कति शब्दहरु त सुन्नै लाज लाग्ने खालका समेत छन् । मेरो बुझाईमा फिल्ममा गीतको आवश्यकता हुन्छ जस्तों लाग्दैन । खासगरी हाम्रो नेपाली सिनेमामा हिन्दी सिनेमाको बढ़ीनै प्रभाब हुने हुदा गीतको चलन रहेको जस्तों लाग्छ । राम्रो बिषय बस्तुमा उत्कृष्ट सिनेमा बन्नको लागि गीत आवश्यक पर्छ जस्तों लाग्दैन ।

पोखरा फिल्म सोसाइटीका अध्यक्ष जीतेश प्रधान फिल्ममा समावेश गीतको लोकप्रियताका कारण फिल्म हेर्ने दर्शकको संख्यामा फरक पर्ने बताउनुहुन्छ । फिल्ममा गीतको ठुलो भुमिका हुनेगरेपनि जर्बजस्ती राखिएका तथा तुरुन्तै विर्सने खालका गीतले फिल्मलाई सफल हुन नसघाउने उहाँको भनाई छ ।
पहिला फिल्महरुमा सिच्युसन अनुसार स्क्रिप्टले मागेको अवस्थामा एकदम ट्रेडिसनल र टिपिकल गीत समावेश गर्ने गरिन्थ्यो । त्यस्ता गीतलाई हामी माटो सुहाउँदो गीत समेत भन्छौ । तर अहिलेको फिल्महरुमा गीत फर्मुलाको भरमा हाल्ने गरेको देखिन्छ । एउटा फिल्ममा ५ वटा गीत, ४ वटा फाइट, गीतमा पनि एउटा आइटम, एउटा मेला गीत यसरी छुट्टाएर राखिन्छ । कुनै गीत त जर्बजस्ती फिल्ममा कोचिन्छ । जसका कारण फिल्मका गीतले दर्शक श्रोताको माया विरलै पाउने गरेका छन् ।

तर पहिलाका गीतहरु सदाबहार हुन्थे । एकचोटी सुनेसी सधै सुन्दा पनि बोर नलाग्ने खालका । एक दुईवटा छोडेर अहिलेको फिल्मको गीतहरु हलबाट फिल्म हेरेर बाहिर निस्कदा सम्म भुलिसक्ने खालका छन् । हुनत फिल्ममा गीतको एकदम ठुलो भुमिका हुन्छ । फिल्ममा समावेश गीतले ठुलो जमातमा नेपाली दर्शकलाई हलसम्म तान्न मद्दत गर्छ । फिल्मको प्रोमोभन्दा पहिले फिल्मको गीत हिट भयो भने फिल्म झुरनै भएपनि दर्शकहरु त्यही गीत फिल्ममा कसरी आउँछ भनेर भएपनि फिल्म हेर्न जान्छन् । सोही कारण दर्शकको भिड हलमा बढ्छ ।

हाल अमेरिकामा रहनुभएका गीतकार शिब पलाँस कुनै फिल्ममा समावेश गीतले कुनै न कुनै रुपमा कथालाई नै अघि बढाउदै लानुपर्ने भएपनि पछिल्लो क्रममा यसलाई आत्मसाथ गर्न नसकिएको गुनासो गर्नुहुन्छ ।

फिल्ममा पात्रको अवस्था र मनोदशा प्रकट गर्न श्रब्य र दृश्यमा तालमेल हुने गरि गीत राख्ने हो । गीतले कुनै न कुनै रुपमा कथालाई नै अघि बढाउदै लानुपर्छ । पहिलेका फिल्ममा यो कुरा आत्मसात गरिन्थ्यो । गीतको शब्द, संगीत, गायन र प्रयुक्त बाजागाजाले नै सहजै अनुमान गर्न सकिन्थ्यो कि यो फिल्मको गीत हो । आजकल धेरै फिल्मका गीतहरुमा बोलिचालीका शब्द, लोकलयको संगीत र गायन खोजेर गीत तयार गरिन्छ । त्यो गीत पछि लगेर फिल्ममा हालिन्छ । कैलेकाँही त पहिल्यै हिट भईसकेको गीतलाई किनेर पछि फिल्ममा लगेर पनि हालिन्छ । यो सही अभ्यास होइन । ब्यापारी तरिका मात्र हो । त्यसैले श्रोताले गीत सुनेर यो फिल्मको गीत हो वा अन्य गीत हो छुट्याउनै सक्दैन । मलाई अस्ति भर्खर एउटा फिल्ममा गीत लेखिदिन भनियो । अहिलेको बजारमा चल्तिमा रहेको खालको एउटा डुएट गीत चाहियो रे । तर कथाको घटना, पात्रको अवस्था र मनोदशा के हो त भन्दा जवाफ नै छैन । अन्धाधुन्ध कसरी गीत लेख्न सकिन्छ ? अवस्था त यस्तो पो छ त । उहाँले भन्नुभयो ।

गायक सागर शाह एनजे फिल्ममा गीत समावेश हुनु महत्वपुर्ण हुने सुनाउनुहुन्छ । फिल्ममा गीत समावेश हुनु अतिनै महत्वपूर्ण छ । फिल्म र गीतको सम्बन्ध नङ र मासु, पानी र माछाको जस्तै हुने मेरो बुझाई हो । तर, नेपाली फिल्ममा गीतमा सन्तुष्ट हुन सक्ने अवस्था छैन । पहिलेका गीतहरु कालजयी मिठा प्रेमील हुन्थे भने अहिले प्रायः गीतहरु उश्रृंखल प्रकारको पाइन्छ । पछिल्लो क्रममा आएका गीतका कारण फिल्ममा समावेश गर्ने गीतको महत्व घटाएको छ ।

वरिष्ठ गायक रामभक्त जोजिजू गीतले नै फिल्मको मर्म बोकेको तर्क गर्नुहुन्छ । तर पुराना फिल्मको तुलनामा पछिल्ला फिल्ममा वजनदार, कालजयी गीतहरु भेटाउन मुस्किल हुने सुनाउनुहुन्छ ।

पहिलाका नेपाली फिल्मका गीतहरु मार्मिक, सेमि क्लासिकल र मेलोडियस, मन मुटु लाई छुने र फिल्म अनुसार गीत हुने गथ्योै । उहिलेको फिल्मका गीतहरु अहिलेसम्म सुन्दा पनि उति नै सदाबहार र अहिले समेत त्यतिकै चर्चित छन् । त्यस्ता गीत अहिले पनि गाईन्छ र सुनिन्छ ।

तर आजकलको नेपाली फिल्मका गीतहरु डान्सिङ्ग नम्बरका हुन्छन ।  अहिलेका गीत फास्ट फुड टाईपको रहेको छ । कथा बस्तु अनुसार मिलेको हुँदैन । अहिलेको पुस्ताहरुलाई नाच्ने टाईपको नै गीत चाहिन्छ । आजभोलिका अधिकांश गीत सदाबहार हुदैनन् । कुनै–कुनै एकादुई गीतहरु मात्र सदाबहार हुन्छन् । कर्णप्रिय गीतहरु हतपति हराउदैनन । फिल्ममा गीतको महत्वपुर्ण भुमिका रहेको हुन्छ । फिल्म चल्ने नै प्रायः गीतले नै हो । गीत भनेको फिल्मको मुटु मानिन्छ । गीत भएन भने मुटु बिनाको मान्छे जस्तै हुन्छ । मुटु बिना मान्छे हुँदैन तेस्तै गीत बिना फिल्म हुदैन । गीतले नै फिल्मको मर्म बोकेको हुन्छ । गीत बिनाको फिल्म भन्नू नै मुटु बिनाको मान्छे जस्तैः हो । जोजिजूको तर्क छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button