रहरै रहरमा माईक समातेः शंकर सुनार

सांगीतिक क्षेत्रबाट मनको खुसी पाएको छुँ

राजाराम पौडेल । गायक शंकर सुनारको जन्म स्याङ्जा जिल्लाको हरिनास गाउंपालिका वडा नम्बर ४ माझगाँउमा भएको हो । उहाँमा सानैदेखिनै गीतसंगीतप्रति रुचि थियो । रेडियो तथा टेलिभिजन मार्फत गीत संगीत सुन्ने गर्नुभएका उहाँलाई सांगीतिक क्षेत्रमा अगाडि बढ्ने जोश थपियो । लोक तथा दोहोरी गीत प्रति आर्कषित उहाँको साँगीतिक यात्राको प्रारम्भ दोेहोरी साँझमा गीत गाएर भएको हो ।

पोखराबाट आफ्नो यात्रा सुरु गर्नुभएका शंकर अहिले काठमाण्डौंमा बसेर सांगीतिक क्षेत्रमा स्थापित हुन सर्घष गरिरहनुभएको छ । उहाँले केही समय पोखराका हाम्रो दोहोरी साँझ, गोधुली दोहोरी साँझ, रिदम दोहोरी साँझ र रुपाहिल दोहोरी साँझ मार्फत आफ्नो प्रतिभा सुनाउनुभयो । त्यसपछि उहाँ काठमाण्डौ हानिनुभयो । काठमाण्डौमा उहाँले राजधानी दोहोरी, क्विन दोहोरी क्लब हुँदै अहिले टप राजधानी दोहोरी साँझ मार्फत आफ्नो प्रतिभा सुनाउने गर्नुभएको छ । पोखरामा रहँदा सञ्चार क्षेत्रमा समेत उहाँले काम गर्नुभएको थियो ।

उहाँले कोरसमा आवाज भरेका गीतहरु धेरै छन् । तर आफ्नै आवाजमा बजारमा आएका गीत दोहोरी साँझ र तिजमा सँगै नाच्न जाम्ला बरिलै हुन् । कलाकारबाट नै धोको हुँदा केही गीत रेर्कड भएर समेत बजारमा आउन सकेनन् । निरन्तर सांगीतिक क्षेत्रमा अगाडि बढ्न खोज्नु भएका उहाँ नयाँ सिर्जना पस्कने तयारीमा समेत हुनुहुन्छ । आज हामीले गायक शंकर सुनारसँग साँगीतिक यात्राको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईको सांगीतिक यात्रा कसरी शुरु भयो ?
रहरै रहरमा माईक समाते अझै पनि भनेको जस्तो भएको छैन ।

कस्ता गीत गाउन मनपर्छ ?
सबै खालका गीत गाउन मनपर्छ । तर, लोकगीत अलि बढी गाउने गर्छु ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?
बढी त रेडियो बाटनै सुनियो । पछि–पछि टेलिभिजन मार्फत समेत हेर्ने र सुन्ने गरियो ।

तपाईलाई मनपर्ने गायक तथा गायिका ?
मलाई सबै गायक गायिका मनपर्छ । त्यसमा रोज्नै पर्दा राजु परियार दाई अनि गायिका मधु क्षेत्री दिदी अझै खास लाग्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
केही कलाकारले सक्नुभएको छ । यो सुखद पक्ष पनि हो । तर, हामी नयाँ कलाकारलाई निकै अप्ठ्यारो छ । यहीं क्षेत्रमा लागेर बाच्न सक्ने स्थिती बनिसकेको छैन । आशा छ भविष्यमा बन्नेछ ।

तपाईले देखेको सपना ?
धेरै ठूलो सपना छैन । लोकगीत संगीतको क्षेत्रमा लागेर जीवनयापन गर्न सकु भन्ने सपना नै मनमा पालेको छुँ ।

नेपाली सागीतिक क्षेत्रका सकारात्मक कुरा ?
धेरै छन् । गीत संगीतको माध्यम बाट हरेक कुरा लाई उठान गर्न सकिन्छ । अरु भन्दा पनि गीत संगीत सुन्दा गाउँदा मनलाई आनन्दा हुन्छ । त्यो नै सकारात्मक पक्ष हो ।

नेपाली सागीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?
सुधार गर्नु पर्ने समेत धेरै छ । पहिला भन्दा अहिले त केही परिवर्तन भएको छ । एक अर्कालाई सर्पोट नगर्ने खुट्टा तान्ने प्रवृक्ति चाहिँ हटाउनु पर्छ ।

आफुमा निखारता कसरी थप्दै आउनुभएको ?
दोहोरी साँझमा गीत गाउँछु । यसरी गीत गाउँदा धेरै कुरा सिक्न पाएको छुँ । अहिले गाउने नयाँ तरिकाहरु जान्दै गरेको छु । पहिला भन्दा आफूमा निखारता थपिदै गएको महशुस गरिरहेको छुँ ।

संगीत क्षेत्रबाट पाएको कुरा ?
अरुले देख्ने गरेरनै त्यस्तो ठुलो पाउन सकेको छैन । तर आफ्नो मनको खुसी चाहिँ पाएको छुँ । यो क्षेत्र चिन्न पाए । यो क्षेत्रमा कसरी अगाडि बढन सिक्दै छुँ ।

संगीत क्षेत्रबाट गुमाएको कुरा ?
धेरै कुरा गुमेका छन् । पैसाको अभावले खान मन लागेको कुरा खान पाइदैन । मनका केही रहर अधुरा भएका छन् । जीवनमा धेरै अप्ठ्यारा आइपरेका छन् । यति हुँदाहुँदै पनि कुनै दिन सफल हुन्छु भन्ने आत्मविश्वासका साथ जे छ त्यसमानै खुशी हुन खोज्दैछु ।

अबका योजना के छन् ?
एउटा फरक खाल्को सिर्जना लिएर आउने कोशिस गरि रहेको छु । काम भइरहेको छ । छिट्टै काम पूरा भएर दर्शक श्रोतामाझ पस्कने छु । अहिलेसम्म मेरा दुईवटा गीत मात्र बजारुमा आएका छन् । केही गीत रेकर्ड भएर समेत बजारमा आएनन् । केही कलाकारहरुले नै धोका दिनुभयो । सोही कारण गीत धेरै बजारमा आएका छैनन् । बजारमा आएका गीत तथा दोहोरी साँझमा राखेको प्रस्तुतीबाट दर्शक श्रोताको माया पाएको छुँ । फलस्वरुप निरन्तर अगाडि बढ्ने योजनाका साथ नयाँ–नयाँ सिर्जना पस्कन खोज्दैछु ।

अन्तमा के भन्नुहुन्छ ?
यो अन्तरवार्ता पढेर साथ दिनु भएकोमा सम्पुर्ण दर्शक, स्रोता, मेरा आफन्त तथा शुभचिन्तकहरुमा हृदय देखि नै धन्यवाद दिन चाहन्छु । सबैको माया र सर्पोटको कारण अगाडि बढ्न हौसीएको छुँ । निरन्तर सबैको माया पाउने आशा छ । धन्यवाद ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button