गण्डकीम्याग्दीसमाचार

म्याग्दीमा ९ सय ३३ घरधुरी भूमिहीन

पोखरा न्यूज । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लामा ९ सय ३३ घरधुरी भूमिहीन र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरेको छ ।

आयोगको जिल्ला समितिद्वारा आइतबार बेनीमा आयोजित कार्यक्रममा १ सय ५५ भूमिहीन दलित, १ सय ११ भूमिहीन सुकुम्बासी र ६ सय ६७ घरधुरी अव्यवस्थित बसोबासीको विवरण सङ्कलन भएको जानकारी गराइएको थियो । आयोगका जिल्ला अध्यक्ष खुमबहादुर बानियाँले यसअघिका आयोगले प्रक्रिया शुरुआत गरेका भूमिसम्बन्धी समस्याका थप १ सय ७७ अधुरा र अपूरा कामलाई पूर्णता दिन अध्ययन भइरहेको बताउनुभयो । “वडा पालिका हुँदै जिल्लामा आएका सबै आवेदन अध्ययन गरेर लगत सङ्कलनको काम सकेका छौँ”, उहाँले भन्नुभयो, “नयाँ आर्थिक वर्षको पहिलो चौमासिकदेखि नै नापजाँच र जग्गाधनी प्रमाणपत्र वितरण शुरु गर्छौं ।”

बेनी नगरपालिकामा २ सय ७२, धवलागिरि ६२, मालिका ३ सय २८, मङ्गलामा १ सय २१, रघुगङ्गामा ४२ र अन्नपूर्ण गाउँपालिकामा १ सय ८ घरधुरीको लगत सङ्कलन भएको हो । नापी प्राविधिकसहित स्थलगत निरीक्षण अनुगमन गर्ने कार्ययोजना बनाएको आयोगका जिल्ला सदस्य दिवाकुमारी पुनले बताउनुभयो ।

निरीक्षण, अनुगमन, नापजाँचपछि आयोगको कार्यविधिअनुसार मालपोत कार्यालयमा स्रेस्ता कायम गरेर जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने भएको छ । पहिलो चौमासिकमा १ सय ३५, दोस्रोमा ३ सय ७०, तेस्रोमा १ सय ७० र चौथो चौमासिकमा २ सय ५८ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गर्ने आयोगको जिल्ला समितिले कार्ययोजना बनाएको छ ।

आयोगले पहाडी र हिमाली जिल्लाका भूमिहीन, सुकम्बासीलाई घडेरीका लागि १० आना दुई पैसा एक दाम जग्गा उपलब्ध गराउने कार्यविधि बनाएको छ । अव्यवस्थित बसोबास गर्दै आएकाको जग्गाधनी प्रमाणपत्रकोे स्रेस्ता कायम गरिने आयोगले जनाएको छ । रासस

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x