विकाससँग जोडिँदै म्याग्दीका ऐतिहासिक सम्पदा

धुर्वसागर शर्मा । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिक र पुरातात्विक महत्वका खड्भवानी कोत परिसरका सम्पदा विकाससँग जोडिन थालेका छन् । समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको करीब ६०० वर्ष पुरानो आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वलाई उजागर गर्नका लागि वडा कार्यालयले धमाधम पूर्वाधार निर्माणका काम थालेपछि सम्पदा विकाससँग जोडिन थालेका हुन् ।

१५ औँ शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको वडाध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार थापा र मल्लकालीन विरासत बोकेका यो परिसरमा मल्लकालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियार छन् ।

अध्यक्ष थापाका अनुसार ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वको सङ्गमस्थल बनाउने प्रयास गरिएको छ । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा गतवर्ष रु २१ लाखको लगानीमा मन्दिरसम्म पुग्ने ३५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको थियो । यसवर्ष पनि नगरपालिकाको पर्यटन विकासको बजेटबाट रु पाँच लाख र वडा कार्यालयको रु दुई लाखबाट कोत परिसरमा २१० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गीनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

विक्रम सम्वत् १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका ज्यामरुककोटमा थापा राजाले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाकामन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख छ । बयालिस रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरवारलगायतका हातहतियार, प्राचीन शीला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुलो ऐतिहासिक प्रमाणस्वरुप अझै पनि आकर्षणका रुपमा रहेका छन् ।

पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेका ऐतिहासिकस्थलमा पछिल्लो समय वडा कार्यालयले देखाएको सक्रियता प्रशंसनीय रहेको अध्यक्ष घिमिरेले बताउनुभयो । ऐतिहासिक ज्यामरुककोटलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ । उहाँले खड्गभवानी कोतलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने पदमार्ग निर्माण गर्ने योजनासहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।

पुरातात्विक र ऐतिहासिक महत्वको ज्यामरुककोटबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायतका दर्जनौँ हिमाल, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौं ग्रामीणबस्ती देखिन्छ । गुरुयोजनासहित धार्मिक पर्यटकियस्थलको पूर्वाधार र प्रचारप्रसार गर्न नगरपालिका वडा र स्थानीयवासीको सक्रियता देखाउन सके ग्रामीण भेगमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनले स्थानीयवासीलाई होमस्टे सञ्चालनमा टेवा पुग्ने तथा रोजगारी सिर्जना हुने प्रशस्त सम्भावना रहेका स्थानीयवासी भीमबहादुर पौडेलले बताउनुभयो ।

“ज्यामरुककोट एउटा ऐतिहासिक र प्राकृतिक सुन्दरताले युक्त सम्पदा भए पनि विकासको सहज पहुँच नहुँदा पछाडी परेको थियो”, पर्यटन क्षेत्रका जानकार शिव बानियाँले भन्नुभयो, “बेनीदेखि भकुण्डेसम्म मोटरबाटोको सुविधा र भकुण्डेदेखि खड्गभवानी कोटसम्म पुग्न पदमार्ग निर्माण भएपछि धेरै सहज भएको छ ।” उहाँका अनुसार अब दुई÷चार वटा स्तरीय होटल एवं रेस्टुराँ निर्माण गर्नसक्ने हो भने सयौं विदेशी पर्यटक यहाँबाट हिमाल, नदी, गाउँ र सूर्योदयको अवलोकन गर्न आउन सक्छन् ।

त्यस्तै वडा कार्यालयको पछाडीपट्टी रहेको ऐतिहासिक राजकुलोलाई संरक्षण र व्यवस्थापन गरी पम्पिङ वा लिफ्ट प्रविधिमार्फत त्यहाँको पानी खड्गभवानी कोत परिसरमा लगेर पौडी पोखरी बनाउने र त्यसको नजिकै स्तरीय रेस्टुराँ सञ्चालन गर्न सकिने सम्भावना रहेको भए पनि त्यसतर्फ कसैको ध्यान जान नसकेको स्थानीयवासीको भनाइ छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button