केही वर्ष अगाडिसम्म फिल्म हेर्न पैसा जुटाउनै गाह्रो

टिकट हात पार्न झनै सकस

राजाराम पौडेल । अहिले फिल्म हेर्नको लागि धेरै विकल्प छन् । फिल्म हेर्न हलमा नै पुग्नुपर्ने बाध्यता छैन । घरमा बसेर नै आफूलाई मनपरेका फिल्म निर्धक्कका साथ हेर्न सक्ने अवस्था अहिले सिर्जना भएको छ । तर केही वर्ष अगाडिसम्म यस्ता सुविधा उपलब्ध थिएनन् ।

फिल्म हेर्नको लागि कि हलमा पुग्नुपथ्र्यो कि भिसिआर डेक अथवा सिडि प्लेयर मार्फत हेर्नुपथ्र्यो । अर्को विकल्प थियो टेलिभिजन । नेपाल टेलिभिजनमा सिमित दिनमा मात्र फिल्म देखाइन्थ्यो । प्रायः शनिबार दिउँसो र शुक्रबार राति । यसरी प्रदर्शन हुने फिल्म हेर्न सहज भने थिएन । किनकि ग्रामिण भेगका अधिकांश ठाउँमा त्यतिबेला टेलिभिजननै पुगेको थिएन ।

शहरमा केवल जोडेका घरका टेलिभिजनमा रोजी–रोजी फिल्म हेर्ने सुविधा हुने गरेपनि यसको पहुँचमा साह्रै सिमित व्यक्ति थिए । सोही कारण त्यस समयमा फिल्म हेर्ने रहर पुरा गर्न हलसम्म पुग्नुपथ्र्यो । तर हलसम्म पुगेर फिल्म हेर्न कहाँ सजिलो थियो र । फिल्म हेर्नको लागि धेरै अप्ठ्यारालाई पार गर्नुपथ्र्यो । यसमा सबैभन्दा गाह्रो पैसा जुटाउन हुने गरेको धेरैको अनुभव छ । केही कलाकारले विगतमा फिल्म हेर्नको लागि कसरी पैसा जुटाए भनेर आफ्ना अनुभव पोखरा न्यूजसँग सेयर गर्नुभएको छ ।

कलाकार धनबहादुर गुरुङ डिबीलाई बाल्यकालमा फिल्म हेर्न औधी मनपथ्र्यो । तर फिल्म हेर्नको लागि सहज भने थिएन । पहिलो कुरा फिल्म हल घरबाट निकै टाढा अर्को कुरा फिल्म हेर्नको लागि रकम जोरजाम गर्नको सकस । उहाँसँग नुन तेल किन्न ल्याएको केही पैसा बचाएर सस्तो टिकट मार्फत फिल्म हेरेको अनुभव छ ।

बाल्यकालमा फिल्म हेर्नुपर्ने तर पैसाको भने अभाव नै हुन्थ्यो । त्यो बेला हलमा फिल्म हेर्न गएपछि फिल्म हेर्ने मात्र नभएर खानेकुरा खान समेत मन लाग्थ्यो । पर्याप्त पैसा नहुँदा सस्तो टिकट र सिमित खाजा खाएर फिल्म हेरिन्थ्यो । यसरी फिल्म हेर्दा रमाइलो लाग्थ्यो ।

हलसम्म पुग्न सहज थिएन । नुन तेल बोक्ने काम लिएर घरबाट हिडिन्थ्यो । घरबाट दुईघण्टा हिँडेपछि गगनगौडा आइन्थ्यो ।त्यहाँबाट बस चढेर कहिले पृथ्विचोक त कहिले चिप्लेढुंगा झरिन्थ्यो । त्यसबेला प्रायः दिपज्योती हल र विन्ध्यवासीनी हलमा गएर फिल्म हेरियो । हलमा भिड हुन्थ्यो । फिल्म हेरेर जसरी पनि गाउँ फर्कनुपर्ने भएकोले ब्ल्याकमा टिकट काट्नपर्ने बाध्यता हुन्थ्यो । २, ४ जना साथी मिलेर हलमा पुगिन्थ्यो । घर टाढा भएकोले भोलि आएर हेरम भन्ने हुन्थेन । सायद त्यतिबेला स्पेशलको टिकट १६ रुपैयाँ थियो । धेरै फिल्म स्पेशलकै टिकट काटेर हेरियो । नुन तेल किन्ने बहानामानै घरबाट आएकोले घरमा फर्कदा नुन तेल लगायतका सामान बोकेर गइन्थ्यो । थुप्रै गुरुङ फिल्ममा काम गरिसक्नुभएका डिबीले सम्झनुभयो ।

पोखरा फिल्म सोसाइटीका अध्यक्ष जीतेश प्रधानसँग पैसा कम भएको कारण एउटा टिकटमा दूई जनाले फिल्म हेरेकाे मात्र नभएर भुईमा नै बसेर फिल्म हेरेकाे क्षणको स्मरण मनमा ताजै छ ।

बच्चामा पैसा कम हुनाले एउटा टिकटमा दुईजनाले फिल्म हेर्न जाने गथ्र्यौ । त्यतिबेला कल्पना सिनेमा हल थियो । हामी दोस्रो श्रेणीको अगाडि भुईमा नै बसेर फिल्म हेर्ने गथ्र्यौ । कहिलेकाही सिटमा नै बस्न पाउथ्यौ ।

पछि पोखरामा हलहरु थपिदै गए । हलसँगै दर्शकको संख्या समेत थपियो । टिकट काट्न ठुलै कष्ट गर्नुपथ्र्यो । टिकट काट्न लाइनमा बस्न नसक्नेले बढी पैसा तिरेर ब्ल्याकमा टिकट किन्थे । हामी साथीहरुको हुल बनाएर टिकट काट्न जान्थ्यौ । नेपाली फिल्म हेर्न ठुलो भिँड हुन्थ्यो । टिकट काट्नको लागि पिटापिट नै गर्नुपर्ने अवस्था समेत हुने गथ्र्यो । कहिलेकाही प्रहरी र व्यारेकबाट फिल्म हेर्न निस्केको आर्मी आयो भने मात्र मानिसको लाइन मिल्थ्यो । नत्र सक्नेले लाइनमा बसेर टिकट काट्ने, नसक्नेले ब्ल्याकमा टिकट काट्ने गर्नुपर्ने अवस्था हुन्थ्यो ।

अहिले भने अनलाइनबाट टिकट बुक गरेर मज्जाले मल्टिप्लेक्स हलमा फिल्म हेर्ने दिन आयो । तर त्यो बेलाको जस्तो नेपाली फिल्ममा दर्शकको संख्या भने गुमेको छ । उहाँले भन्नुभयो ।

किताब किन्छु भनेर घरमा ढाँटेर त्यहीं पैसाले फिल्म हेरेको अभिनेता महेश त्रिपाठीले भुल्नु भएको छैन । अहिले जस्तो हलमा पुगेर फिल्म हेर्ने कल्चर त्यति बेलाको हाम्रो समाजमा लगभग थिएन भन्दा पनि हुन्थ्यो । फिल्म हेर्न कुरा गरियो भने छोराछोरी विग्रियको भन्ने बुझिन्थ्यो । म कक्षा नौमा पढ्दा किताब किन्छु भनेर घरमा बुबालाई ढाँटेर त्यही पैसाले फिल्म हेरेको छु । अभिनेता त्रिपाठीले सुनाउनुभयो ।

युवा निर्देशक नेत्र गुरुङ समेत सानैदेखि फिल्मप्रति निकै क्रेजी हुनुहुन्थ्यो । भिसिआर डेक भाडामा लिएर मात्र नभएर विद्यार्थी सहुलियतमा फिल्म हेरेका अनुभव उहाँसँग छन् ।

सानोबाट नै फिल्म हेथ्र्यौ, अझ भनौ नेपाल टेलिभिजनमा शनिबार दिउँसो २ बजे आउने फिल्म हेर्नका लागि आतुर हुन्थे । कहिले शनिबार आउँला भन्ने मनमा हुन्थ्यो । पछि विस्तारै फिल्म हलमा नाइट सो हेर्ने, शनिबार विद्यार्थी सहुलियतमा ५० प्रतिशत छुट लिएर हेर्न जाने गर्न थाले । यसरी हेर्दा साथीहरुको ठुलै जमघट हुन्थ्यो । विस्तारै भिसिआर डेक भाडामा लिएर साथीभाईहरु मिलेर पैसा जम्मा गरेर हेर्न थालियोे । त्यसोत फिल्महल आफ्नै घर नजिकै भएको कारण नाइट सो चल्ने बेलामा नाइट सो मार्फत फिल्म हेर्न गरिन्थ्यो । यसरी सिनेमा हेर्न जाँदा घरमा धेरै पटक गाली खाइन्थ्यो । साथीकोमा पढ्न गएको थिए भनेर सेमत धेरैचोटी ढाँटे । अहिले सम्झदा रमाइलो लाग्छ । उहाँले भन्नुभयो ।

लोक दोहोरी गायिका पार्वती जिसीले आमाको पैसा चोरेर फिल्म हेरेको अनुभव पोखरा न्यूजसँग सेयर गर्नुभयो । फिल्म हेर्न हुरुक्कै हुन्थे । आमाको पैसा चोरी–चोरी फिल्म हेरे । यसरी आमाको पैसा चोरी–चोरी फिल्म हेर्दा बेग्लै मज्जा हुन्थ्यो । अहिले ती कुरा सम्झदा रमाइलै लाग्ने गरेको जिसीको भनाइ छ ।

यता गायक सोभित बस्यालले कहिले बुबा आमासँग पैसा मागेर त कहिले दोकानबाट पैसा झिकेर फिल्म हेरेको सुनाउनुहुन्छ । गेम खेलेर जितेको पैसाले फिल्म हेरेको अनुभव उहाँसँग प्रशस्तै छ ।

दिपज्योती हलमा ‘विनाशक’ भन्ने हिन्दी फिल्म चलेको थियो । यति टाइट भयो कि मानिस छिर्ने ठाउँ थिएन । टिकट काट्न धकेला धेकेल भयो । झगडा गर्दै टिकट काट्ने खोज्नेहरु थिए । तहाँ हुलदंगा भयो । म सानो मान्छे् कुनामा लुकेर बसे । मनमा डर थियो । फिल्म हेर्न जाँदा यस्ता दृश्य धेरै चोटी देखियो ।

भिडभाडकाबिच टिकट काट्न मुस्किल हुने भएकोले व्ल्याकमा टिकट काटेर फिल्म हेर्ने चलन थियो । फिल्म हेर्न कहिलेकाही बुबा आमासँग पैसा माग्थे । कहिलेकाही दोकानबाट पैसा झिकेर समेत हेरिन्थ्यो । पछि फिल्म हेरेर आएपछि भन्थे, ढाट्ने बानी थिएन । तर मैले धेरैजसो फिल्म हेर्ने पैसा गेम खेलेर समेत जम्मा गर्थे । त्यतिबेला कहिले लड्डु खेल्ने, कहिले गुच्चा खेल्ने चलन हुन्थ्यो । गेमवल, फुटबल पनि खेलिन्थ्यो । त्यस्ता खेलमा मैले जित्थे । यस्ता खेल जित्दा केही पैसा आम्दानी हुन्थ्यो ।

अर्को कुरा हामीले रेस्लिङको फोटो खेल्थ्यो । यो खेलमा धेरै मैले जित्थे । खेल खेल्दा जितेका रेस्लिङको फोटो बेचेर हलमा फिल्म हेर्न जान्थे । कहिले साथीसँग कहिले त एक्लै गइन्थ्यो ।

त्यसबेला पोखरामा ट्याक्टर चल्थ्यो । ट्याक्टरको पछि दोडिदै गएर चढेर समेत फिल्म हेर्न गइन्थ्यो । कहिले हिडेरै गइन्थ्यो । एकपटक ट्याक्टरमा पछाडि चढेर जाँदा पूूर्णिमा हल आइहाल्यौ । ट्याक्टर जोडले कुदीरहेको थियो । झर्नुपर्ने भयो । अनी ट्याक्टरबाट झ्याप्प्प फराल्दा नमज्जाले लडे । चोट लाग्यो । गायक बस्यालले विगतका दिन स्मरण गर्नुभयो ।

अर्का कलाकार नविन पौडेल घायलसँग स्टोभको बर्नर बेचेर आएको पैसाबाट फिल्म हेरेको अनुभव छ ।

बाल्यकालमा त मसँग फिल्म हेर्ने पैसा हुदैनथ्यो । नेपाली फिल्म ‘सिमाना’ विन्ध्यवासिनी हलमा लाग्दाखेरी मसँग फिल्म हेर्ने पैसा भएन । त्यतिबेला मैले स्टोभको बर्नर बेचेर त्यो फिल्म हेरेको थिए । पैसा जुटाउन धेरै गाह्रो पथ्र्यो त्यसबेला । बुबा ममीसँग मागेर सजिलै पाइने अवस्था थिएन । यस्तै स्टेभका बर्नरहरु बेच्ने, पुराना कापी किताबहरु बेच्ने र फलाम बेचेर पैसा जम्मा गरेर फिल्म हेर्थे । त्यतिबेला विन्ध्यवासिनी हलमा लाग्ने प्रायः सबै नेपाली फिल्म हेर्थे । घायलले खुलाउनुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्यी सदस्य तारानाथ आचार्यले बा–आमाको पैसा चोरेर फिल्म हेर्दा कुटाइ खाएको भुल्नु भएको छैन । बाल्यकालमा पैसा चोरी–चोरी फिल्म हेरिन्थ्यो, पैसा चोरेर फिल्म हेरको हो भन्ने थाहापाएपछि बा–आमाको कुटाइ पनि त्यतिकै खाइन्थ्यो । आचार्यले भन्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button