नक्कली बिलमार्फत अनुदानको रकम समेत जोडेर किताब बेच्दै पोखराको सरकारी स्कुल

स्कुल विकास शुल्कको नाममा विद्यार्थीसँग भर्ना शुल्क समेत उठाउदै

पोखरा न्यूज । पोखराको एक सरकारी विद्यालयले नक्कली बिलमार्फत सम्पूर्ण शुल्क लिएर विद्यालयबाटै विद्यार्थीलाई पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको पाइएको छ ।

पोखरा महानगरपालिका ११ काहुँमा रहेको कालिका माध्यमिक विद्यालयले पाठ्यपुस्तक अनुदानबापतको रकम समेत नघटाई सरकारी पब्लिकेसन जनक शिक्षा सामग्री र प्राइभेट पब्लिकेसनका किताब मिलाएर विद्यालय हाताबाटै विद्यार्थी तथा अभिभावकबाट नक्कली बिलमार्फत पुस्तक बिक्री वितरण गरेको पाइएको हो ।

विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धरको प्रत्यक्ष संलग्नतामा पाठ्यपुस्तकबापत सरकारी अनुदानमा प्राप्त रकमसमेत नघटाई प्राइभेट पब्लिकेसनका किताब मिलाएर विद्यालयबाटै नक्कली बिलमार्फत पाठ्यपुस्तक बिक्री वितरण हुने गरेको अभिभावकले आरोप लगाएका छन् ।

कोरोनाको संक्रमणको नाममा विद्यालयले दुई वर्षदेखि नक्कली बिलमार्फत  विद्यालयबाटै पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको एक अभिभावकको भनाई छ । ‘कोरोना संक्रमणको नाममा विद्यालयबाटै जबरजस्ती किताब किन्न लगाइएको छ’, उहाँले नाम उल्लेख नगर्ने सर्तमा भन्नुभयो, ‘ हामीहरू पनि कोरोनाको मारमा परेको बेला पाठ्यपुस्तक मार्फत अनुदानमा आएको सरकारी रकम समेत नघटाई नक्कली बिलमार्फत  पाठ्यपुस्तकको सम्पूर्ण रकम लिने काम भइरहेको छ ।‘ उहाँले विद्यालयबाट ३/४ किलोमिटरको दुरीमा उल्लेख्य रूपमा पुस्तक पसलहरू रहेको भन्दै अनुदानको  रकम  नघटाई नक्कली बिलमार्फत विद्यालयबाटै पाठ्यपुस्तक बिक्री वितरण गर्दा कतै कमिसनको चक्कर त छैन भन्ने प्रश्न समेत उब्जाएको बताउनुभयो ।

विद्यालयबाटै पाठ्यपुस्तक बिक्री वितरणपछि उपलब्ध गराइएका दुई छुट्टा छुट्टै नक्कली बिल

अर्की अभिभावकले पनि विद्यालयले थमाएको नक्कली बिल देखाउँदै विद्यालयले किताब किन्न भनेर  १७४० रुपैयाँ लिएको बताउनुभयो । उहाँले सरकारी विद्यालयले भर्ना हुने बेलामा कुनै पनि बहानामा शुल्क लिन नपाइने भनेको आफूले सुनेको भए पनि विद्यालयले भर्ना हुने बेलामा ४ हजार रुपैयाँ लिएको बताउनुभयो । विद्यालयले उहाँलाई थमाएको एक भौचरमा स्कुल विकास शुल्क भनेर ४ हजार रुपैयाँ लिइएको छ ।

स्कुल विकास शुल्क भन्दै ४ हजार रुपैयाँ लिइएको एक भौचर

यस विषयमा हामीले सम्बन्धित विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धरलाई प्रश्न गर्दा आफूहरूले विद्यालयबाटै पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको  स्वीकार गर्नुभयो । तपाइले नक्कली बिलमार्फत पूर्ण शुल्क लिएर नियम विपरीत विद्यालयबाटै विद्यार्थीलाई पाठ्यपुस्तक बिक्री वितरण गरेको भन्ने अभिभावकको आरोप छ नि भन्ने पोखरा न्यूजको प्रश्नमा उहाँले जर्किँदै भन्नुभयो, ‘तपाइलाई अभिभावकले हैन पक्कै यही स्कुलको कुन मास्टरले उसले भनेको ठाउँबाट किताब खरिद नगर्दा कुरा लगाएको हो, मैले किताबमा १० प्रतिशत छुट दिएकी छु ।‘

त्यसो भए त स्टेशनरी तथा पाठ्यपुस्तक वितरकले २० देखि ३० प्रतिशतसम्म छुट दिएका छन् भन्ने हल्ला छ , तपाइले बढी प्रतिशत छुटमा ल्याएर स्कुलमा व्यापार गर्नुभएको हो भन्ने हाम्रो प्रश्नमा उहाँले आफूले पुस्तक पसल टाढा भएकाले स्कुलबाटै पाठ्यपुस्तक बेचेको भन्दै  जसले जे गर्न सक्छ गरेहुन्छ भन्ने चेतावनी दिनुभयो ।

विद्यालयले पाठ्यपुस्तक मार्फतको अनुदानको रकम प्राप्त गरिसकेको अवस्थामा उक्त रकम विद्यार्थीलाई छुट नदिएर विद्यालय नाम, छाप केही उल्लेख नभएको नक्कली बिलमार्फत  पुस्तक विक्री गर्नु र भर्ना गर्ने बेलामा विद्यार्थीबाट चर्को शुल्क लिनु नियम विपरित  भएन र भन्ने हाम्रो अर्को प्रश्नमा उहाँले भन्नुभयो , ‘ मलाई स्कुल व्यवस्थापन समितिले अधिकार दिएको हो उतै सोध्नुहोस् म सँग टाइम छैन ।‘ विद्यालय परिसर मै पुगेर हामीले अभिभावकको गुनासो बारे प्रश्न गर्दा प्रधानाध्यापक मानन्धरले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

स्कुल व्यवस्थापन समितिले अधिकार दिएको भन्ने प्रधानाध्यापक मानन्धरको जवाफमा आधारित भएर हामीले व्यवस्थापन समितिका अध्यक्ष कुमार बहादुर क्षेत्रीलाई यसबारे प्रश्न गर्दा प्रधानाध्यापक मानन्धरले कोरोनाको बेला विद्यार्थीलाई सहज रूपले पाठ्यपुस्तक उपलब्ध गराउन पर्‍यो भनेर प्रस्ताव गरेपछि आफूहरूले त्यसको सम्पूर्ण जिम्मा प्रधानाध्यापक मानन्धर र लेखा शाखा प्रमुख नारायण लामिछानेलेलाई दिएको बताउनुभयो ।

‘म धेरै संघ संस्थामा आबद्ध भएका कारण त्यति समय दिन भ्याउँदिन, विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने क्रममा कोरोनाका कारण अहिले सहज ढङ्गले पुस्तक उपलब्ध गराउन पर्‍यो भन्ने प्रस्ताव आएपछि हामीले त्यसको सम्पूर्ण अधिकार प्रधानाध्यापक र लेखा शाखा प्रमुखलाई दिएका हौँ,’ अध्यक्ष क्षेत्रीले भन्नुभयो ।

उता विद्यालयका लेखा शाखा प्रमुख नारायण लामिछानेले भने प्रअ मानन्धरकै निर्देशनमा उक्त  बिलमार्फत  विद्यार्थीलाई पाठ्यपुस्तक बिक्री वितरण गरेको बताउनुभयो । उहाँले पुस्तक खरिद गर्दा व्यक्तिकै नाममा खरिद गरेकाले स्कुलको भौचर प्रयोग नगरी नक्कली बिल प्रयोग गरेको बताउनुभयो । लामिछानेले शुरुमा विद्यालयबाट नक्कली बिलमार्फत विद्यार्थीलाई पाठ्यपुस्तक बिक्री वितरण गरे पनि अनुदानबापतको रकम पछि छात्रवृत्ति बाढ्ने बेला जोडेर बाढ्ने बताउनुभयो ।

उहाँले अघिल्लो वर्ष अनुदानबाट प्राप्त भएको रकम पुष महिनामा फिर्ता गरिएको दाबी गर्नुभयो । लामिछानेका अनुसार विद्यालयबाट गत वर्ष पनि यसरी नै पुस्तक बिक्री वितरण गरेर लामो समयपछि  पुषको अन्तिमबाट  अनुदानबापतको रकम फिर्ता गरिएको हो ।

यस विषयमा विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष दीपक प्रकास आचार्यलाई सोध्दा आफु उक्त जिम्मेवारीमा नरहेको जानकारी बिद्यालय तथा सरोकारवालाई गराइसकेकाले कुनै प्रतिक्रिया नदिने बताउनुभयो ।

विद्यालयले कुनै पनि बहानामा किताब बेच्न मिल्दैन, छानबिन गरेर कारबाही हुन्छ : शिक्षा महाशाखा

यता पोखरा महानगरको शिक्षा महाशाखाले विद्यालयले कुनै पनि बहानामा किताब बेच्न नमिल्ने जनाएको छ । महाशाखा प्रमुख हेम प्रसाद आचार्यले कोरोना महामारीमा प्रशासनले पुस्तक पसल खोल्न नदिएको तथा संक्रमण पनि फैलने डर भएकाले विद्यालयलाई सहज रूपले पाठ्यपुस्तक उपलब्ध गराउन भनिए पनि फर्जी चलानीको प्रयोग गरेर अनुदान मार्फत प्राप्त रकम नघटाई पाठ्यपुस्तक बेच्ने कार्य नियम विपरीत भएकाले तत्काल कारबाही हुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पाठ्यक्रम विकास केन्द्रले तोकेका पाठ्यपुस्तक पठनपाठन गराउँदा अनुदानबाट प्राप्त रकम भन्दा बढी रकम लागेको छ भने बढी लागेको रकम मात्र विद्यालयले विद्यार्थीबाट लिन सक्छन्, त्यसो नगरी लापरबाही गर्ने जुनसुकै विद्यालयलाई हामी तत्काल कारबाही गर्छौ ।‘ शिक्षा क्षेत्रमा हुने कुनै पनि अनियमितताका विरुद्ध महाशाखा खरो रूपले उत्रिने उहाँले बताउनुभयो । सरकारी विद्यालयले यो वा त्यो बहानामा भर्ना हुँदा शुल्क लिन नमिल्ने बताउँदै महाशाखा प्रमुख आचार्यले त्यस्ता विद्यालयलाई समेत कारबाहीको दायरमा ल्याइने बताउनुभयो ।

महाशाखाका शाखा अधिकृत बद्रीनाथ सुबेदीले केही विद्यालयले कोरोनाको समयमा सहजीकरण गर्न भनेर विद्यालयबाटै पाठ्यपुस्तक उपलब्ध गराएको भए पनि पाठ्यपुस्तक अनुदान बापतको रकम समेत जोडेर किताब बेच्नु गलत भएको बताउनुभयो ।

‘विद्यालयले अनुदान बापत सरकारी पब्लिकेसनका किताबको मूल्य प्राप्त गर्ने भएकाले त्यो बराबरको रकम विद्यालयले विद्यार्थीबाट लिन मिल्दैन’, शाखा अधिकृत सुबेदीले भन्नुभयो विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तोकेका अन्य पाठ्यपुस्तक पठनपाठन गराउन सक्छन् तर त्यसमा सरकारी पब्लिकेसनका किताबको मूल्य अनिवार्य घटाउन पर्छ ।‘
विद्यालयले पुरै शुल्क लिएर विद्यार्थीलाई पाठ्यपुस्तक बिक्री वितरण गरेको विषयमा छानबिन गरी कारबाही हुने उहाँले बताउनुभयो ।

कमिसनको बार्गेनिङ गर्दै पुस्तक पसल धाउँछन् विद्यालयका प्रतिनिधि

पोखरामै चलेको एक पुस्तक पसल सञ्चालक तथा वितरकले विद्यार्थीलाई सहज बनाउने बहानामा सरकारी स्कुल तथा प्राइभेट स्कुलका प्रतिनिधि कमिसनको बार्गेनिङ गर्दै पसल पसल धाउने गरेको बताउनुहुन्छ ।

पहिले यो पुस्तक पसलबाट किन भनेर विद्यार्थी तथा अभिभावकलाई पठाएर कमिसन माग्ने गरिन्थ्यो’, उहाँले भन्नुभयो ‘अहिले केहीले कोरोनाको समय भनेर विद्यालयमै लगेर बढी कमिसनमा किनेर थोरै छुट दिए जस्तो पारेर बेचेका छन् ।‘

कोरोनाको महामारीमा विद्यार्थीलाई सहज बनाउने बहानामा स्कुलले नै कमिसन माग्दै हिँड्ने गरेको यस क्षेत्रका अधिकांश बिक्रेताहरू बताउँछन् ।

सम्बन्धित न्यूज

Back to top button