शनिबार गायक अरुण थापाको सम्झनामा कार्यक्रम हुने

राजाराम पौडेल । गायक अरुण थापाको सम्झनामा शनिबार पाेखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले आयोजना गर्ने यो कार्यक्रम यहीं साउन ९ गतेको लागि तय भएको संस्थाका अध्यक्ष मोती भुजेलले पोखरा न्यूजलाई जानकारी दिनुभयो । गायक थापाको २२ औं स्मृति दिवसको अवसर पारेर परिवारले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

साउन ९ गते शनिबार दिउँसो ४ बजेबाट सुरु हुने कार्यक्रम गीत संगीत मार्फत सदावहार गायक अरुण थापा प्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्ने उद्धेश्यले गरेको अध्यक्ष भुजेलले प्रष्ट पार्नुभयो । कार्यक्रम पोखराको न्यूरोडस्थित ‘न्यूरोड रोधी कल्व’ मा हुनेछ ।

त्यसो त गायक अरुण थापा पोखरेली युवा साँस्कृतिक परिवारका संस्थापक सदस्य समेत हुनुहुन्छ । वर्षौंदेखि निरन्तर रुपमा अरुण थापाको स्मृतिमा सांगीतिक कार्यक्रम गर्दै आएको परिवारले यो वर्ष समेत निरन्तरता दिएको हो ।

यो वर्षको कार्यक्रम केही फरक तरिकाले सम्पन्न गर्ने आफूहरुको तयारी रहेको परिवारका संगीत संयोजक एम.डी. काफ्लेको भनाइ छ । कोभिड १९ का कारण विगतको जस्तो धेरै संख्यामा दर्शक उपस्थिति गराएर कार्यक्रम गर्न नसकिने भएकोले संख्यात्मक रुपमा थोरै मानिसहरुको उपस्थितिमा गुणात्मक रुपमा उत्कृष्ट कार्यक्रम गर्ने तयारी गरिएको काफ्लेले प्रष्ट पार्नुभयो । कार्यक्रममा पोखरामा रहेका संगीत प्रशिक्षण केन्द्रहरुका कम्तीमा एक–एक प्रस्तुति रहने काफ्लेले बताउनुभयो । सबै सहभागीले अरुण थापाले गाउनुभएका चर्चित गीत सुनाउदै उहाँलाई स्मरण गर्नुहुनेछ ।

सो कार्यक्रम टिभीमार्फत घरमै बसेर हेर्न सकिने तथा परिवारको फेसबुक र युट्युब च्यानल मार्फत समेत प्रत्यक्ष प्रसारण हेर्न सकिने प्रबन्ध मिलाइएको आयोजक पोखरेली युवा साँस्कृतिक परिवारले जनाएको छ । कार्यक्रमलाई आर्कषक बनाउने आफूहरुको तयारी रहेको संस्थाका संगीत विभागका सल्लाहकार समेत रहनुभएका गायक विनोद बाँनियाले बताउनुभयो ।

वि.सं.२००९ साल माघ ११ गते बाबु गुन्ज प्रसाद थापा र आमा शान्ति थापा मगरको प्रथम सन्तानको रूपमा अरुण थापा मगरको जन्म भारतको कलकत्ता स्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो । २०३० सालमा पोखरा आएर बसोबास गर्न थाल्नुभएका गायक तथा संगीतकार थापाको पोखरासँग गहिरो सम्वन्ध रहेको गीतकार एवं पोखरेली युवा साँस्कृतिक परिवारका पूर्व अध्यक्ष विक्रम गुरुङ बताउनुहुन्छ । गुरुङ कै गीत ‘कतै टाढा तिमीबाट पुगें भने म नै’ बोलको गीत अरुणको पहिलो रेकर्ड भएको गीत हो ।

गायक थापाले पोखरामा पहिलो पटक ३० को दशकमै पोखरेली युवा साँस्कृतिक परिवारको पहिलो कार्यक्रममा गीत, संगीत प्रस्तुत गर्नुभएको थियो । थापाको २०५६ साउन ५ गते निधन भएको हो । उहाँका जतिमाया लाएपनि, साँझको जुनसँग, भुलुँभुलुँ लाग्यो मलाई, बितेका मेरा तिता मिठा, आँखाको निद खोशी लाने, ऋतुहरुमा तिमी, दोष कसैलाई दिन चाहन्न, चोट के हो व्यथा के हो, अरुसँग नजोख मलाई, जिन्दगी के छ र आखिर आदि गीत संगीतप्रेमीले रुचाएका छन् । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button