फिल्म हेर्दाका रमाइला अनुभव

देखिएका दृश्य वास्तविक होलान् भन्ने भ्रम

राजाराम पौडेल । पहिलाे पटक हलमा बसेर फिल्म हेर्दा धेरैको मनमा जिज्ञाशा हुने गर्थ्याे । चारैतिर ढोका लगाएर अध्याँरो भएको हलको ठूलो स्क्रिनमा फिल्म हेर्दा धेरैको मानसपटलमा वास्तविक हो भन्ने पथ्र्याे । फिल्ममा देखिएका पात्र वास्तविक रुपमा त्यहीं अगाडि नै छन् । देखिएको सबै कुरा अहिले भइरहेकै वास्तविक होला भन्ने लागेर कतिले तुरुन्तै प्रतिक्रिया जनाइ हाल्नुहुन्थ्यो । यस्ता धेरै जिज्ञासा सूरुवाती चरणमा हलमा फिल्म हेर्दा धेरै हुने गर्दछ । सायद तपाईलाई समेत भएको थियो कि ?

हुन पनि टेलिभिजनमा होस् या हलमा सूरुवाती दिनमा फिल्म हेर्दा धेरैलाई अनौठो लाग्ने नै भयो । यहाँ यस्तै फिल्म हेर्दा देखेका, भोगेका, सोचेका तथा फिल्म हेर्नको लागि गरेका रमाइला अनुभवलाई पस्किएका छाैं ।

अहिलेका चर्चित अभिनेता पुष्पबहादुर खड्कासँग बाल्यकालमा फिल्म हेर्दा डरले भागेको, चिच्याएको तथा रोएको अनुभव छ । बच्चामा टिभीमा फिल्म हेर्थे । फिल्ममा फाइट भएको देख्दा डरले भाग्थे, चिच्याउथे, रुन्थे । अझै पनि मलाई याद छ म रोएर भागेको । त्यतिबेला देखि नै मेरो फिल्मप्रति कनेक्सन थियो । सोही कारण अहिले फिल्मसँग जोडिएर आए भन्ने मनमा हुने गरेको उहाँले खुलाउनुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङ फिल्ममा देखिएको सिन वास्तविक नै होला भन्ने लागेर चिच्याएको अनुभव सुनाउनुहुन्छ ।

धेरै पहिला पर्वतको कुश्मामा नेपाली फिल्म हेर्दा फिल्ममा झरि परेको सिन थियो । झरी परेकोे सिन देखेर मेरो छेउमा बसेको एकजना दर्शक दिदीले छाता ओढेको अझै सम्झन्छु । त्यो बेला सबै हाँसियो । हुनत त्यसभन्दा अगाडि नै म आफै फिल्ममा खुकुरीले हानेर मारेको देख्दा चिच्याएको थिए । किनकि मलाई साच्चिकै मारेको होला भन्ने लाग्यो । म चिच्याउँदा नजिकै बस्नेले नचिच्याउ भन्दै गाली गरेका थिए ।

गुरुङ फिल्मकी निर्देशक जसु गुरुङ बाल्यकालमा फिल्म हेर्दा मनमा धेरै कौतुहलता हुने गरेको सम्झनुहुन्छ ।

बाल्यकालमा फिल्म हेर्दा मनमा धेरै जिज्ञासा हुन्थे । अहिले सम्झदा त्यतिबेला बाल मनोविज्ञानका कुराले छोएको थियो जस्तो लाग्छ । आजकल सम्झदा रमाइलो पनि लाग्छ । फिल्म कसरी बन्छ होला, सबै वास्तविक होला है, कसरी मान्छेहरु त्यो पर्दामा बस्छन होला जस्ता कुराहरु मनमा आउथ्यो । उहाँले सम्झनुभयो ।

कलाकार सुमन गुरुङको फिल्म हेर्ने शैलीमा अहिले परिवर्तन भएको छ । बाल्यकालदेखिनै फिल्म हेर्दा फिल्मको मुख्य पात्रमा आफूलाई राखेर हेर्ने गर्नुभएकी उहाँले अहिले भने सबै कलाकार तथा पर्दा बाहिरको मेहनतलाई समेत बुझ्ने गरेर फिल्म हेर्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

मैले बाल्यकालदेखि नै कहिल्यै पनि अडियन्सको रुपमा फिल्म हेरिन । कहिले हिरोको पात्रमा आफुलाई राखेर फिल्म हेरे । कहिले हिरोइनको पात्रमा बसेर हेरे । म भएको भए यो सिन यसरी गर्ने थिए भन्दै फिल्म हेरेर फर्किएपछि घरमा आएर प्राटिक्स समेत गर्थे । यो बानी अहिलेसम्म पनि छुटेको छैन ।

पहिला हिरो र हिरोइनलाई बढी प्राथमिकता दिएर फिल्म हेरेपनि अहिले फिल्मको सबै क्यारेक्टरलाई ध्यान दिदै कथामा बगेर फिल्म हेर्छु । अहिले पर्दामा देखिएको मेहनत मात्र नभएर पर्दा बाहिरको मेहनतलाई समेत बुझ्नको लागि फिल्म हेर्ने गरेको छु । यसरी फिल्म हेर्दा नयाँ ज्ञान लिने अवसर मात्र नभएर रमाइलो समेत लाग्छ । सुमनले भन्नुभयो ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका निवर्तमान अध्यक्ष रेम रसाइली फिल्मको लतका कारण विगतमा धेरै फिल्म हेरेको अनुभव सुनाउनुहुन्छ ।

बागलुङ बुर्तिबांगमा हाइभिजन हल थियो । हलवालाको छोरो मेरो साथी । त्यहाँ पनि खुब फिल्म हेरियो । भनौँ न ठूलो पर्दामा फिल्म हेरेको त्यहीँ हो । पछि एसएलसी दिएर पोखरा पढ्न आएपछि त झन् यति फिल्म हेरियो कि कुरै छाडौँ । एउटै फिल्म १० पटकसम्म हलमा गएर हेरिन्थ्यो । किन फिल्म हेरिस् भनेर गाली गर्ने नि कोही थिएनन् । फिल्मको यति लत लाग्यो कि जुनसुकै फिल्म फेरिए पनि हेर्थेँ । त्यो बेला नयाँबजारको दीपज्योती सिनेमा हलमा एक टिकटमा दुई फिल्म चल्थ्यो, हुँदा हुँदा त्यस्ता फिल्म पनि हेरिन्थ्यो । कलाकार समेत रहनुभएका रेमले भन्नुभयो ।

भलिवल खेलाडी मञ्जु गुरुङले बाल्यकालमा आफ्नो घरमा टिभीमा फिल्म हेर्न आउनेसँग पैसा उठाएको अनुभव छ । किनकि उहाँका बाजेले फिल्म हेर्न पैसा तिर्नुपर्ने नियम राखिदिनुभएको थियो ।

सानोछँदा गाउँको हाम्रो घरमा टिभी थियो । अरुको घरमा टिभी थिएन त्यतिबेला । अनि गाउँका धेरै जना शनिबार हाम्रोमा फिल्म हेर्न आउनुहुन्थ्यो । बाजेले फिल्म हेर्न पैसा तिर्नुपर्ने नियम बनाउनुभएको थियो । बाजेले मलाई ढोकामा बसेर पैसा तिरेकोलाई मात्र भित्र छिर्न दिनु भन्नुहन्थ्यो । यसरी ढोकामा बस्दा झनै रमाइलो लाग्थ्यो । सुरुमा एक रुपैयाँ लिन्थ्यौ, पछि पाँच रुपैयाँसम्म लियौँ । अहिले ती दिन सम्झदा हाँसो लाग्छ । आफ्नो घरमा टिभी भएकोले मैले भने पैसा तिरेर कहिल्यै टिभीमा फिल्म हेर्नु परेन । उहाँले ती दिन स्मरण गर्दै भन्नुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले वालिङ बजारमा एउटा कटहरको रुखको फेदमा पैसा तिरेर भिडियो हेरेको भुल्नु भएको छैन ।

गाउँमा फिल्म हल थिएन । मैलै एसएलसी दिने बेलामा वालिङमा टेलिभिजन पनि थिएन । वालिङको बजारमा एउटा कटहरको रुखको फेदमा भिडियो हेर्न, साइकल सिक्न तछाड मछाड हुन्थ्यो । त्यो भिडियोमा के–के देखियो विर्सियो । मानिसहरु देखिन्छन्, नाच्छन् भनेर हेरियो । के हेरियो अहिले सम्झना छैन । रहरै रहरमा साथीभाइको संगतमा अनाहकमा पैसा फालियो । किर्तीपुर बस्दा रामायण हेर्न अर्काको घरमा जान्थ्यौ । हामी बसको घरमा टेलिभिजन थिएन । रामायण तथा शनिबार नेपाल टेलिभिजनबाट प्रसारण हुने फिल्म हेर्नका लागि तछाड मछाड गरेर हेरेको भुलेको छैन । वरिष्ठ लोक दोहोरी गायक न्यौपानेले सुनाउनुभयो ।

कलाकार नवराज गिरी स्कुलको झोला कोदाबारीमा फालेरै फिल्म हेर्न गएका दिन स्मरण गर्नुहुन्छ । स्कुलको झोला कोदाबारीमा लुकाएर फिल्म हेरिन्थ्यो । स्कुल छुट्ने बेलामा त्यहिँ झोला बोकेर घर आएको छु । धेरै पटक यस्तो भयो । फिल्म हेर्न ममीको पैसा पनि चोरेको छुँ । फिल्म रिलिज हुने दिन कहिले आउँला भनेर कुरेर बसिन्थ्यो । गिरीले भन्नुभयो ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष अरुण गिरीसँग बाल्यकालमा फिल्म हेर्दा रोएको अनुभव आफूसँग भएको बताउनुहुन्छ । कलेज बंक गरेर नै धेरै पटक फिल्म हेरेको उहाँले सुनाउनुभयो ।

बाल्यकालमा अगाडिको लहरको सिटमा बसेर फिल्म हेर्दा फिल्मको सिनको कारण डराएर रोएको थिए । भुवन केसीले फिल्मको एक सिनमा पेस्तोलले हानेर बोतल फुटाउँदा म रोएको थिए । अहिले सम्झदा हाँसो लाग्छ । सायद मलाई नै हान्यो भन्ने फिल भएको कारण त्यस्तो भएको होला । कलेज पढ्दा धेरै फिल्म हेर्ने गरियो । पृथ्वीनारायण क्याम्पसमा आइएस्सी पढ्ने बेलामा कलेज बंक गरेर हलमा गएर फिल्म हेरिन्थ्यो ।

त्यतिबेला वलिउड मूभि सावरिया हो जस्तो लाग्छ । हामी फिजिक्स पढ्ने साथीहरु भएर कलेज बंक गरेर फिल्म हेर्न गएका थियौ । आइएस्सी कै वायोलोजी पढ्ने साथीहरु समेत कलेज बंक गरेर जानु भएको रहेछ । हामीहरु बाहेक बाहिरी दर्शक कम थिए । त्यो फिल्म हेरेपछि हामी फिजिक्स र वायोलोजी पढ्ने साथीहरुको एउटा गुप्र बनेको थियो जुन गुप्र अहिलेसम्म कायम छ । उहाँले भन्नुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button