गण्डकी प्रदेशकै सबैभन्दा बढी दुर्घटना नवलपुरमा

टेकराज पोखरेल। गण्डकी प्रदेशकोे नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा प्रदेशकै सबैभन्दा बढी दुर्घटना भएको छ । आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेशमा भएका ४०५ वटा दुर्घटनामध्ये नवलपुरमा मात्रै १३८ दुर्घटना भएका हुन् । प्रदेशस्तरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले नवलपुरमा भएको सवारीसाधन दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका थिए । प्रदेशकै सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रुपमा नवलपुर रहेको र त्यहाँ गत वर्ष मात्रै त्यहाँ २०० सवारीसाधन दुर्घटनामा परेका बताउनुभयो ।

“नवलपुरमा भएको १३८ दुर्घटनामा २०० सवारीसाधन परेका थिए”, उहाँले भन्नुभयो, “दुर्घटनासँगै यो जिल्लामा दुर्घटनामा परेर भएको मानवीय क्षतिसमेत प्रदेशका अन्य जिल्लामाभन्दा बढी छ ।” सबैभन्दा कान्छो जिल्लामा भएको दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये ४३ पुरुष, चार महिला र दुई बालक रहेका र दुर्घटनामा परी १३९ जना सख्त घाइते भएका थिए । प्रहरी प्रमुख ढकालका अनुसार यस प्रदेशमा बढी दुर्घटना हुने दोस्रो जिल्ला तनहुँ भएकोे छ । त्यहाँ ९० वटा दुर्घटनामा ४८ जनाले ज्यान गुमाएका र दुर्घटनामा १२८ वटा सवारीसाधन परेका थिए ।

तनहुँमा भएको दुर्घटनामा ३७ पुरुष, आठ महिला तथा तीन बालकले ज्यान गुमाएका थिएभने ७६ जना सख्त घाइते भएका थिए । प्रादेशिक राजधानीसमेत रहेको पोखरा भने बढी दुर्घटना हुने जिल्लामध्ये तेस्रो नम्बरमा परेको छ । यहाँ गत वर्ष ६४ दुर्घटनामा ९३ वटा सवारीसाधन परेको र ती दुर्घटनामा परी ४३ जनाले ज्यान गुमाएका प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।

कास्कीमा भएको दुर्घटनामा ३८ पुरुष, चार महिला र एक बालकले ज्यान गुमाएका थिए भने ती दुर्घटनामा सख्त घाइते हुनेको सङ्ख्या ६४ पुगेको थियो । प्रदेशमा भएका दुर्घटनाको सङ्ख्याको हिसाबमा स्याङ्जा जिल्ला आठौँ नम्बरमा रहे पनि दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो ।

यसैगरी बागलुङमा २३ वटा दुर्घटना १६ जनाले ज्यान गुमाएका र नौ जना सख्त घाइते भएका प्रहरी प्रमुख ढकालले बताउनुभयो । गत आर्थिक वर्षमा लमजुङमा २० वटा दुर्घटना हुँदा १२ जनाको मृत्यु २४ जना सख्त घाइते भएका र ती दुर्घटनामा २२ वटा सवारीसाधन परेका थिए ।यस्तै गोरखामा भएको १७ वटा दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।

पर्वत र म्याग्दीमा भएको सवारीसाधन दुर्घटनामा परी आठ÷आठ जनाले ज्यान गुमाएका थिए । प्रहरी प्रमुख ढकालका अनुसार पर्वतमा १८ दुर्घटनामा १९ वटा सवारीसाधन परेका थिए भने म्याग्दीमा भएको १२ दुर्घटनामा १२ वटै सवारीसाधन परेका थिए । ती दुर्घटनामा पर्वतमा १३ तथा म्याग्दीमा १२ सख्त घाइते भएका थिए । हिमाली जिल्लाको रुपमा रहेको मुस्ताङमा भएको पाँच वटा दुर्घटनामा चार जनाले ज्यान गुमाएका थिए । ती दुर्घटनामा संलग्न छ वटा सवारीसाधनबाट चार पुरुषको मृत्यु र एक सख्त घाइते भएका थिए ।
यस्तै हिमाल पारीको अर्को जिल्ला मनाङमा एउटा मात्रै भएको दुर्घटनामा छ जनाको मृत्यु भएको र अन्य दुई सख्त घाइते भएका थिए

दुर्घटनामा बढी मोटरसाइकल

गण्डकी प्रदेशभरी नै बढीमात्रामा मोटरसाइकल दुर्घटना भएको छ । प्रहरी प्रमुख ढकालका अनुसार यहाँ भएका दुर्घटनामा ५४३ सवारीसाधनमध्ये २४७ मोटरसाइकल ९६ जीप–कार, ६३ ट्र्याक्टर, ५० ट्रक तथा ट्याङ्कर, ३५ यात्रु बस, १५ टिपर, १२ साइकल– रिक्सा ११ टेम्पो, सात माइक्रोबस, चार डोजर÷लोडर तथा एस्काभेटरका साथै तीन वटा अन्य सवारीसाधन दुर्घटनामा परेका थिए ।

ज्यान गुमाउनेमा पुरुष बढी

प्रदेशभर सवारीसाधन दुर्घटनामा परेर ज्यान गुमाउनेमा पुरुषको सङ्ख्या बढी छ । प्रहरी उपरीक्षक ढकालका अनुसार ११ वटा जिल्लामा भएका दुर्घटनामा परी ज्यान गुमाएका २२१मध्ये १७५ पुरुष ३० महिला, १२ बालक र चार बालिका थिए।

दुर्घटना कम

आर्थिक वर्ष २०७६/७७ को तुलनामा आव २०७७/७८ मा यस प्रदेशमा सवारीसाधन दुर्घटनामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ४३१ वटा सवारीसाधन दुर्घटना भएकामा गत आर्थिक वर्षमा ४०५ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । प्रदेश ट्राफिक प्रहरी प्रमुख ढकालका अनुसार प्रदेशमा दुर्घटनासँगै मृत्युको दरसमेत घटेको छ ।

विभिन्न जिल्लामा भएको दुर्घटनामा अघिल्लो आर्थिक वर्षमा २२३ जनाको मृत्यु भएकामा गत आर्थिक वर्षमा २२१ जनाको मृत्यु भएको थियो भने दुर्घटनामा क्रमशः ५९६ वटा र गत आवमा ५४३ वटा सवारीसाधन परेका थिए ।

दुर्घटनामा चालकको लापरवाही

प्रदेश मातहतका जिल्लामा भएका सवारीसाधन दुर्घटनाका अधिकांश घटनामा चालकको लापरवाही देखिएको छ । “दुर्घटनाको अनुसन्धानका क्रममा युवापुस्ताले तीव्र गतिमा सवारीसाधन हाँक्ने, सवारीसाधन चलाउँदा मोबाइल फोन प्रयोग गर्ने, ब्लाइन्ड स्पेस (गलत दिशाबाट ओभरटेक गर्ने गरेका कारण बढीमात्रामा मोटरसाइकल दुर्घटनामा परेका हुन्।”, प्रहरी प्रमुख ढकालले भन्नुभयो, “चालक जिम्मेवार भएर ट्राफिक नियमको पूर्ण पालना गरेर सवारीसाधन चलाउने हो भने दुर्घटना न्यूनीकरण हुन्छ ।”

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जानकारी दिँदै उहाँले यसक्रममा चालकसँग एक मिनेट, चालक, सहचालक तथा यात्रुलाई ट्राफिक शिक्षा, सवारीसाधनको अवस्था जाँचलगायत काम हुँदै आएका छन् भन्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button