म्युजिकमा पिएचडी गर्ने सपना छः गायिका रीता केसी

सांगीतिक क्षेत्रमा केही सेन्सर आवश्यक

राजाराम पौडेल । संगीत क्षेत्रलाई पेशा बनाउँदै शैक्षिक अध्ययन समेत संगीतमा नै गर्नुभएकी गायिका हुनुहुन्छ रीता केसी । हाल संगीतमा मास्टर्स गर्दै गर्नुभएकी उहाँको लक्ष्य संगीत विषयमा नै पिएचडी गर्ने रहेको छ ।

दाङ जिल्लाको तुलसीपुर नगरपालिकामा जन्मिनुभएकी केसीले काठमाण्डौमा बसेर आफ्नो यात्रालाई अगाडि बढाइरहनुभएको छ । बाल्यकालदेखि नै सांगीतिक क्षेत्रमा आर्कषित बन्नुभएकीे उहाँले आवाज भरेका गीत लगभग ३ सय पुगिसके । उहाँले चलचित्र, लोक, आधुनिक, पप, तीज तथा विभिन्न भाषाभाषीको गीतमा आफ्नो आवाज भरेर धेरै दर्शक श्रोतामाझ बेग्लै छाप छोड्न सफल हुनुभएको छ । यी गीतले उहाँलाई भर्सस्टाइल गायिकाको रुपमा चिनाएको छ । देश विदेशका सांगीतिक कार्यक्रममा प्रस्तुति राख्दा दर्शकको राम्रो साथ उहाँलाई मिल्ने गरेको छ ।

गायिका केसी प्रस्तोता समाज, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र राष्ट्रिय संगीतकर्मी संघमा आवद्ध हुनुुहुन्छ । समाज सेवामा रुचि राख्ने उहाँ सांगीतिक क्षेत्र मार्फत नै समाजमा केही सहयोग गर्नुपर्छ भन्ने सोच राख्नुहुन्छ । कलाकारहरु भाइरल हुन भन्दापनि मेहनत र साधना गर्न तर्फ लाग्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । यसपाली गायिक रीता केसीसँग सांगीतिक यात्राको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईको सांगीतिक यात्रा कसरी शुरु भयो ?
मेरो सांगीतिक यात्रा जन्म जिल्ला दाङदेखि नै सुरु भएको हो । किनकि मैले सानैदेखि गीतहरु गाउथे । कक्षा ८ सम्म दाङमा पढेको हुँ । त्यहाँ रहँदा स्कुलहरुमा हुने कार्यक्रममा गीत सुनाउथे । त्यसपछि म दाङबाट काठमाण्डौ तर्फ लागे । अध्ययन काठमाण्डौमा नै गर्न थाले । प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि ललितकला क्याम्पसमा भर्ना भए । त्यहाँ संगीत कै विषय लिएर अध्ययन गर्न थाले । अध्ययन गर्ने क्रममा नै मलाई चलचित्रको गीत गाउन अफर आयो । अनि नेपाली चलचित्र ‘जोखिम’को लागि गीत गाए । गीत धेरैलाई मनपर्‍यो । त्यसपछि दर्शक श्रोताको मायाका कारण थप अफर आउन थाले । यसरी आएका अफरलाई स्विकार्दै गीत गाउदै गए, रेर्कड गर्दै गए ।

कस्ता गीत गाउन मनपर्छ ?
मलाई विशेषगरी मेलोडी गीत गाउन मनपर्छ । हुनत मैले सबै विधाका गीत गाएकी छुँ । लोक, आधुनिक चलचित्र, पप गीत, तीज गीत लगायतका गीतमा मेरो आवाज सुन्न पाइन्छ । तर मलाई व्यक्तिगत रुपमा मेलोडी गीत गाउन मनपर्छ ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?
मेरो बाल्यकालको केही समय दाङ जिल्लामा नै बित्यो । त्यो बेला अहिलेको जस्तो धेरै सञ्चारका माध्यमहरु थिएन । मुख्य सञ्चार माध्यम भनेको रेडियो नेपाल, नेपाल टेलिभिजन थिए । मेरो बाल्यकालको बेला एफ एमहरु पनि खासै आइसकेको थिएन । सोही कारण रेडियो नेपाल धेरै सुन्थे । रेडियोमा बजेका अग्रज कलाकारहरुको गीतहरु सुनेर सँगसँगै गाउने प्राटिक्सहरु गर्थे ।

तपाईलाई मनपर्ने गायक तथा गायिका ?
मलाई मनपर्ने गायक गायिका धेरै हुनुहुन्छ । यो वा त्यो भनेर एउटा दुईवटाको मात्र नाम लिन चाहन्न । किनकि अग्रज गायक गायिका जसको कर्णप्रिय गीतहरु सुनेर नै म आएको हुँ । स्वर सम्राट नारायण गोपाल, आदरणीय रामकृष्ण ढकाल, यम बराल, सपना श्री, कुन्ती मोक्तान, अरुणा लामा, तारादेवी, भक्तराज आचार्य लगायतकाहरु नै मेरो मनपर्ने गायक गायिका हुनुुहुन्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
त्यति गाह्रो छैन । किनकि आफूले आफूलाई कसरी कुन बाटोमा लग्ने भन्ने हो । कुन बाटोमा लगेर आफू प्रोफेसनल बन्ने भन्ने कुरा आफूमा नै भरपर्छ । त्यसकारणले गर्दा कुनै पनि क्षेत्रमा जानको लागि मेहनत, लगनशील त हुनैपर्छ । त्यही क्रममा संगीत क्षेत्रमा पनि एकदम मेहनत गरेर अगाडि बढे जीवन धान्न सकिन्छ ।

तपाईले देखेको सपना ?
अहिले जे पाइरहेको छुँ । मैले देखेको सपना यहीं नै हो । अब सांगीतिक क्षेत्रमा आफ्नो स्वास्थ्यले साथ दिएसम्म सेवा गर्ने, देश विदेशको यात्रा गर्ने नै सपना बुनेकी छु । गीत संगीतको मार्फतबाटै सामाजिक कार्य गर्नमा समेत रुचि छ मलाई । अर्को कुरा म अहिले म्युजिकमा मास्र्टस गर्दै छुँ । म्युजिकमै पिएचडीसम्म गर्ने मेरो सपना छ ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?
सांगीतिक क्षेत्रका सकारात्मक पक्ष धेरै छन् । म एउटा सकारात्मक सोच लिएर हिडेको गायिका हुँ । सोही कारणले गर्दा मैलै धेरै सकारात्मक व्यक्तित्वहरुसँग संगत गरेको छुँ । यो क्षेत्रमा एजुकेटेड व्यक्त्तिहरु तथा मल्टि ट्यालेन्ट व्यक्तित्वहरु हुनुहुन्छ । अर्को कुरा कलाकार भन्ने वित्तिकै आफ्नो समाजमा एकदमै माया दिने चलन छ त्यो कारणले नेपाली सांगीतिक क्षेत्रमा धेरै सकारात्मक कुरा पाउँछु ।

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने कुरा ?
हरेक क्षेत्रमा विकाससँगै विनास पनि हुन्छ । त्यस्तो त भइ नै हाल्छ । तरपनि हाम्रो संगीत क्षेत्र पहिले भन्दा धेरै अगाडि बढसिकेको छ । यो खुसीको कुरा हो । तरपनि यसमा केही सेन्सरहरु ल्याउन जरुरी भने देख्छु । मेहनत गरेर आएका कलाकार अगाडि बढुन् । भाइरल भन्दापनि मेहनत साधनातर्फ लागुन् । कलाकारहरु बलियो बनुन् । हाम्रो क्षेत्र एकदमै मर्यादित होस् । म यहीं चाहन्छु ।

आफूमा निखारता कसरी थप्दै आउनुभयो ?
हामी सबै कलाकारको निखारता भनेकै रियाज हो साधना हो । बिहान उठेर रियाज, साधना गर्ने प्राटिक्सहरु गर्ने गर्छु । दिनमा रेकर्डिङहरु हुन्छ । यसरी काम गर्दा आफूले आफूलाई निर्खादै लान प्रयास गर्छु । कलाकारले आफूमा भएको कमजोरी औल्याउदै, स्वरमा भएको गल्ती कमजोरीलाई हटाउदै निर्खादै लानुपर्छ । मैले त्यही प्रयास गरेर निखारता थप्न खोज्ने गर्छु ।

संगीत क्षेत्रबाट पाएका कुरा ?
धेरै कुरा पाएको छुँ । मैले धेरै दर्शक श्रोताको माया पाएकी छु । धेरै आफन्त पाएकी छु । थुप्रै देश विदेशमा गएर मैले सुःख दुःखको साथी फ्यान बटुलेको छुँ । यहीं नै त हो सबैभन्दा ठुलो कुरा जीवनमा । जुन कुरा मैले संगीत क्षेत्रबाट पाएको छुँ ।

संगीत क्षेत्रबाट गुमाएका कुरा ?
वास्तविक रुपमा भन्दा केही पनि गुमाएको छैन । किनकि संगीतनै मेरो सपना थियो । संगीतलाई प्रोफेसनल बनाउँदै शिक्षा पनि यसमै पुरा गर्दैछु । मेरो एउटा ठुलो सपना हो संगीत क्षेत्रमा रहेर धेरै दर्शक श्रोताको माया पाउँ जुन पाएको छु । जीवनको अन्तिम समयसम्म संगीत मार्फत नै सेवा गर्ने सोच मेरो छ ।

अबका योजना के छन् ?
मैले म्युजिकमा मास्र्टस गर्दैछु । संगीतलाई प्रोफेसन र पढाई दुवै हिसाबले अगाडि बढाइरहेको छु । देश विदेशमा कार्यक्रम भइरहेकै थिए । अहिले कोरोनाका कारणले केही कार्यक्रम रोकिएका छन् । रेकर्डिङहरु रोकिएका छन् । तर पनि यो सहज हुने वित्तिकै हामी फेरि सांगीतिक वातावरणमा फर्किनेनै छौँ ।

अन्तमा के भन्नुहुन्छ ?
अन्तमा तपाई राजाराम पौडेल र पोखरा न्यूज परिवारलाई धेरै धन्यवाद । सम्पूर्ण दर्शक श्रोतालाई पनि धन्यवाद । नेपाली गीत संगीतलाई माया गरिदिनुहोला, कमीकमजोरी औल्याइदिनुहोला । रिता केसीलाई पनि उत्तिकै माया गर्नुहोला । मैले गाएका गीत युट्युबमा गएर सर्च गरिदिनुहोला । सुन्नुहोला । च्यानल सब्सक्राइभ गरिदिनुहोला । सुनिसकेपछि तपाईको मनबाट आएको प्रतिक्रिया जस्ताको तस्तै दिनुहोला यही भन्न चाहन्छु । धन्यवाद ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button