पोखरामा गीत सुनाउदै अरुण थापाको स्मरण

राजाराम पौडेल । गायक अरुण थापाको सम्झनामा पाेखरामा सांगीतिक कार्यक्रम आयोजना गरियो । पोखरेली युवा साँस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा ८ जना गायक गायिकाले आफ्नो प्रस्तुति राख्नुभएको थियो । उहाँहरु सबैले अरुण थापाले गाउनुभएका चर्चित गीत सुनाउदै थापाको स्मरण गर्नुभयो ।

कार्यक्रममा त्रिवेणी संगीतालयका सुनिल बरालले दोष कसैलाइ दिन चाहन्न, जोजिजू म्युजिक स्कूलका बिनित जोजिजूले जति माया लाएपनि, हार्मोनि द मोर्डन संग्स्ट्रेसेस पोखराकी प्राप्ति तुलाचनले आंखाको निद खोसिलाने, स्वरनीव म्युजिककी प्रतिक्षा देवकोटाले भुलुंभुलुं लाग्यो मलाइ, संगीत प्रशिक्षण केन्द्रकी प्रमिला गुरुङले चोट के हो ब्यथा के हो गीत सुनाउनुभयो ।

यसैगरी गायक सन्तोष बस्यालले ऋतुहरुमा तिमी, अनिल बिकले सांझको जुनसंगै र एम.डि काफ्लेले आंखाको निद गीत गाउनुभयो ।

गायक थापाको २२ औं स्मृति दिवसको अवसर पारेर परिवारले कार्यक्रम आयोजना गरेको अध्यक्ष मोती भुजेलले बताउनुभयो । गीत संगीत मार्फत सदावहार गायक अरुण थापा प्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्ने उद्धेश्यले कार्यक्रम गरिएको भुजेलकाे भनाइ छ । कार्यक्रम पोखराको न्यूरोडस्थित ‘न्यूरोड रोधी कल्व’ मा भएको थियो ।

त्यसो त गायक अरुण थापा पोखरेली युवा साँस्कृतिक परिवारका संस्थापक सदस्य समेत हुनुहुन्छ । वर्षौंदेखि निरन्तर रुपमा अरुण थापाको स्मृतिमा सांगीतिक कार्यक्रम गर्दै आएको परिवारले यो वर्ष समेत निरन्तरता दिएको हो ।

यो वर्षको कार्यक्रम केही फरक तरिकाले सम्पन्न गर्ने आफूहरुको तयारी अनुसार नै सम्पन्न भएको परिवारका संगीत संयोजक एम.डी. काफ्लेले बताउनुभयो। कोभिड १९ का कारण विगतको जस्तो धेरै संख्यामा दर्शक उपस्थिति गराएर कार्यक्रम गर्न नसकिए पनि संख्यात्मक रुपमा थोरै मानिसहरुको उपस्थितिमा गुणात्मक रुपमा उत्कृष्ट कार्यक्रम गरिएको काफ्लेको दावी छ ।

वि.सं.२००९ साल माघ ११ गते बाबु गुन्ज प्रसाद थापा र आमा शान्ति थापा मगरको प्रथम सन्तानको रूपमा अरुण थापा मगरको जन्म भारतको कलकत्ता स्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो । २०३० सालमा पोखरा आएर बसोबास गर्न थाल्नुभएका गायक तथा संगीतकार थापाको पोखरासँग गहिरो सम्वन्ध रहेको गीतकार एवं पोखरेली युवा साँस्कृतिक परिवारका पूर्व अध्यक्ष विक्रम गुरुङ बताउनुहुन्छ । गुरुङ कै गीत ‘कतै टाढा तिमीबाट पुगें भने म नै’ बोलको गीत अरुणको पहिलो रेकर्ड भएको गीत हो ।

गायक थापाले पोखरामा पहिलो पटक ३० को दशकमै पोखरेली युवा साँस्कृतिक परिवारको पहिलो कार्यक्रममा गीत, संगीत प्रस्तुत गर्नुभएको थियो । थापाको २०५६ साउन ५ गते निधन भएको हो । उहाँका जतिमाया लाएपनि, साँझको जुनसँग, भुलुँभुलुँ लाग्यो मलाई, बितेका मेरा तिता मिठा, आँखाको निद खोशी लाने, ऋतुहरुमा तिमी, दोष कसैलाई दिन चाहन्न, चोट के हो व्यथा के हो, अरुसँग नजोख मलाई, जिन्दगी के छ र आखिर आदि गीत संगीतप्रेमीले रुचाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button