सागका पदक विजेता खेलाडी सम्मानित

पोखरा न्यूज । नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित हुनुभएको छ ।

नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका आठ पदकधारी तथा खेलाडी सम्मानित हुनुभएको हो । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले तीन स्वर्णसहित कूल आठ पदक जितेको थियो ।

सागमा सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र किरणसिंह बोगटीले नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो । सन्तोषीले १० हजार मिटर, गोपीचन्द्र्रीले पाँच हजार मिटर र किरणले म्याराथनमा स्वर्ण जित्नुभएको थियो ।

महिलाको म्याराथनमा पुष्पा भण्डारीले रजत जित्नुभएको थियो । त्यस्तै सोमबहादुर कुमालले आठ सय मिटर, टङक कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले पाँच हजार मिटर र दीपक अधिकारीले १० हजार मिटरमा कास्य पदक जित्नुभएको थियो ।

कार्यक्रममा स्वर्ण विजेता खेलाडीले जनही रु एक–एक लाख प्राप्त गर्नुभयो । त्यस्तै रजत पदक विजेता खेलाडीले रु ३५ हजार पाउँदा कास्य पकद विजेताले रु २० हजार प्राप्त गर्नुभयो । पदक विजेता खेलाडीलाई एथलेटिक्स सङ्घका अध्यक्ष राजिवविक्रम शाहलगायतले पुरस्कार प्रदान गर्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button