तनहुँमा ढुङ्गालाई सिङ्गारेर बनाइयो उद्यान, अहिले पर्यटकीय स्थल

कृष्ण न्यौपाने। सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट प्रचारको प्रभाव कति छ भन्ने तनहुँको मानुङकोटले प्रमाणित गरिसक्यो । केहीवर्ष अगाडिसम्म सुनसान रहने मानुङकोटमा गतवर्ष पर्यटकको चहलपहल ह्वात्तै बढ्यो । एकैदिन १० हजार भन्दा बढी मानुङकोटको डाँडा उक्लिए । मानुङकोट पहिला पनि थियो, तर प्रचारको कमीले ओझेलमा परेको थियो ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रभावका कारण धेरै ठाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । त्यसैको पछिल्लो उदाहरण हो भिमाद नगरपालिका–९ मोहोरियास्थित अग्लो ढुङ्गा । अग्लो ढुङ्गा सिङ्गारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

दमौलीबाट त्यस ठाउँसम्म घुम्न पुगेका रोहित श्रेष्ठले उद्यान निकै आकर्षक लागेको बताउनुभयो । “सामाजिक सञ्जालमा तस्वीर आएपछि त्यस ठाउँसम्म पुग्ने इच्छा लागेको थियो, त्यहाँ पुग्दा निकै आकर्षक लाग्यो”, उहाँले भन्नुभयो ।

‘घाङ्च ल्हुम’ भनेको मगर भाषामा अग्लोे ढुङ्गा हो । मोहोरियाको जङ्गलमा अग्ला ढुङ्गा परापूर्व कालदेखि नै थिए । झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुङ्गा ढुङ्गामै सीमित थिए । अहिले तिनै ढुङ्गालाई सिङ्गारेर उद्यान बनाइएको छ । जङ्गलमा बेवारिसे ढुङ्गा सिङ्गारिएका र चिटिक्कको पार्क बन्ला भन्ने कल्पनासमेत नभएको वडा सदस्यसमेत रहेका स्थानीयवासी बाबुराम रानाले बताउनुभयो । “जङ्गलको बीचमा थियो, पहिला पहिला जङ्गल फाँडेर देखिने बनायौं, अहिले उद्यान बनेको छ, यस्तो राम्रो उद्यान बन्ला भनेर कसैले चिताएका थिएनौँ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङको पहलमा यस ठाउँमा उद्यान बनेको हो । गुरुङकै वडामा पर्ने यस ठाउँमा बेवारिसे अवस्थामा रहेको ढुङ्गालाई सिङ्गारेर उद्यान बनाइएको हो । कार्यक्रमका सिलसिलामा पटकपटक गाउँ आउँदा गुरुङले यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने सोच बनाउनुभएको थियो ।

प्रदेश सरकारको रु २० लाखको लगानीमा उद्यान निर्माण गरिएको छ । उद्यान निर्माणका लागि स्थानीयवासीले दश प्रतिशत लागत सहभागिता बेहोरेका छन् । ढुङगा सिङ्गारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको चहलपहल शुरु भएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिनुभयो । “सामाजिक सञ्जाल, सञ्चारमाध्यममा यस ठाउँको तस्वीर प्रकाशन भएपछि आन्तरिक पर्यटक तानिएका छन्”, उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न ठाउँबाट आउने क्रम शुरु भएको छ ।”

उद्यानमा चराको गुँड पनि बनाइएको छ । ढुङ्गाको खोपिल्टोमा चराचुरुङ्गीले पानी पिउन मिल्ने गरी सानो पोखरी र चराको चुच्चोबाट पानीको फोहरा झार्ने संरचना निर्माण गरिएको छ । घाङ्च ल्हुम आसपास ढुङ्गाले चिनेर चिटिक्क पारिएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । यहाँ पैदल मार्ग बनाइएको छ भने चराचुरुङ्गी आकर्षित गर्न चेरीको बिरुवा रोपिएको छ ।

अग्ला चुच्चे ढुङ्गालाई सिङ्गारेर बनाइएको उद्यानले पर्यटकलाई लोभ्याएको उहाँले बताउनुभयो । “प्राकृतिक हिसाबले ढुङ्गा आफैमा आर्कषक थियो, यसलाई व्यवस्थित गर्दै उद्यान बनाएका छौ”, उहाँले भन्नुभयो । उद्यानलाई सही उपयोग गर्नेसके स्थानीयवासीको आयआर्जनको स्रोत बन्न सक्ने उहाँले सुझाव दिनुभयो । “यहाँको बस्ती पिछडिएको छ, पहिले त स्थानीय उत्पादन बढाउन आवश्यक छ, उद्यानलाई पर्यटनको गन्तव्य बनाउने र आउने पर्यटकलाई स्थानीय उत्पादन बेच्ने वातावरण बनेमा रोजगारीसँगै आत्मानिर्भर बन्न सघाउछ”, काफ्लेले भन्नुभयो ।

यही वडामा रहेको चमेरो गुफा संरक्षणका लागि कार्यालयले चमेरा अवलोकन विन्दु बनाएको छ । चमेरा हेर्नलाई गुफाभित्र पस्ने प्रवृत्तिले प्रभाव पारेको थियो । चमेरा लोप हुन नदिनलाई गुफाभित्रै पस्न नमिल्ने तर अवलोकन गर्न मिल्नेगरी संरचना बनाइएको छ । सो गुफाबाट मोहोरियाको घाङ्च ल्हुम जोड्नलाई रेलिङसहितको सिँढी बनाइएको छ ।

गतवर्ष विनियोजित रु २० लाख बजेटले ४०० मिटर रेलिङसहितको सिँढी र चमेरा अवलोकन विन्दु निर्माण गरिएको हो । प्रसिद्ध चार तले धन्धुर सिद्ध गुफासँगै रहेको चमेरो गुफादेखि मोहोरियासम्म पदमार्ग बनाउन थालेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । निकट भविष्यमै सिद्धगुफा, चमेरेगुफा, मोहोरियाका घाङचलुह्म, पाइमीको दृश्यावलोकन स्तम्भ, इलुङ झरना हुँदै पाथर्दी सामुदायिक होम स्टेलाई जोडेर फूलको बगानसहितको पदमार्ग बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

“एक दिने पदयात्राका लागि यी गन्तव्य उपयुक्त छन्”, उहाँले भन्नुभयो, “पूर्वाधार थप र प्रवर्द्धनमा अब हाम्रो ध्यान हुनेछ ।” पाथर्दी गाउँ बोयर बाख्राको पकेट क्षेत्र हो । वडावासीको जीवनस्तर पर्यटन, कृषि र पशुपालनबाट उकास्ने ध्येयमा रहको वडाध्यक्ष थापाले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button