गीत संगीतमा मोडल हावी बन्दै

कलाको मर्म बुझ्ने मोडललाई प्लेटफर्म

राजाराम पौडेल । रचनाकार र संगीतकार ओझेलमा पर्ने गायक गायिका हावी हुने चलन नेपाली सांगीतिक फाँटमा नौलो थिएन । सोही कारण यसको बारेका पटक–पटक बहस हुने गरेको छ । बहस छलफल भइरहेपनि पूर्ण रुपमा यसमा सुधार भने हुन सकेको छैन । तर पछिल्लो समयमा सिर्जनाको मुल्य बुझेका गायक गायिकाले गीतकार तथा संगीतकारलाई महत्व दिने गर्नुभएको छ । यो नेपाली संगीतको सुखद पक्ष हो ।

अहिले फेरि नयाँ चुनौती गीतसंगीतको क्षेत्रमा थपिएको छ । किनकि पछिल्लो समयमा गीत सुन्ने मात्र नभएर हेर्ने जमाना आयो । जसका कारण गीतमा गायक, गायिका, संगीतकार, रचनाकार भन्दा मोडल हावी हुने क्रम बढ्दैछ । यसरी भिजुयल सहितको गीत तयार पार्न लगानी बढेको छ । लगानी अनुसारको प्रतिफल मिल्न सकेको खासै देखिदैन । यसले संगीतकर्मीलाई चिन्तित बनाएको छ । गीतसंगीतमा मोडल हावी हुँदा गीतमा पर्ने सकारात्मक र नकारात्मक प्रभाव कस्तो होला भनेर सांगीतिक क्षेत्रका केही कलाकारसँग बुझ्ने प्रयास गरेका छौँ ।

गीतकार शिव पलाँस व्यवसायिक रुपमा गीतको विस्तार भएपनि गीतको आयु धेरै छोटो हुन थालेको सुनाउनुहुन्छ ।

सुन्ने जमानाबाट गीत हेर्ने जमानामा प्रवेश गर्‍यो । हेर्ने भन्ने बित्तिकै मोडेल हावी हुने नै भए । गीत कति हेरिन्छ ? कति चर्चा बटुल्छ ? कति कमाइ गर्छ भन्नेमा बढी ध्यान दिन थालियो । ब्यवसायिक हिसावले गीतको क्षेत्र बिस्तार भएको देखिन्छ । यसलाई नराम्रो मान्नु त परेन । तर गुणस्तरीयताका हिसाबले टिकाउ गीतहरु आउन छोडे । गीतको आयु धेरै छोटो हुन थाल्यो । अपबाद छोडेर आजकलका गीतहरुमा मौलिकता, स्तरीयता र प्राण भेटिन गाह्रो हुन थाल्यो । घरको छानोमा आँखा केन्द्रित गरिरहदा जग, भित्ता, दलिनको मजबुतीमा पनि ध्यान दिन जरुरी छ । हाल अमेरिकामा रहनुभएका पलांसले पोखरा न्यूजलाई भन्नुभयो ।

गायक एम डि काफ्ले मोडलकै कारण गीत चल्ने भन्दा पनि गीतको गुणस्तर मुख्य हुने सुनाउनुहुन्छ ।

गीत स्वभावैले श्रुतिलायक हुनु परिहाल्यो, सबैलाइ सबैखाले गीतसंगीत मन पर्ने कुरा चाहि हुंदैन । श्रव्यसंगै दृश्यको चलन गीतमा हुनथालेको गीतको व्यावसायिकरण तथा ब्यापारिकरणकै एउटा पाटो हो भन्ने लाग्छ । गीतमा एउटा भाव हुन्छ र त्यस्ले धेरैजना श्रोताका धेरै खाले कथा बोक्न सक्ने सार्मथ्य राख्छ । कुल मिलाएर सबैलाइ बांध्न सक्ने या मिल्ने खाल्को कथालाइ रचनात्मक तरिकाले अभिनयमार्फत प्रस्तुत गरि भिडियो बनाउदा ति पात्रहरुको कुशल अभिनयशिलता देखिनु जरुरि हुन्छ । मोडलकै कारण गीत चल्ने भन्दा पनि गीतको गुणस्तर मुख्य हो । त्यसैले भावार्थ अभिनय गर्ने पात्रको पछि लागेर गीतको आधारभुत तत्वहरु (शब्द, संगीत र गायन) नै नबुझ्नु त अज्ञानता नै प्रधान होला । कतिपय गीतहरुको सबैकुरा थाह हुदाहुदै भिडियो कन्सेप्ट, अभिनय र त्यसमा प्रयुक्त रचनात्मकताले गीतको सुन्दरतालाइ एउटा छुट्टै उचाइ दिने कुरामा मेरो बिश्वास छ । अचेल सामाजिक संजालमा खुब प्रयोग हुने ‘भाइरल’ भन्ने शब्दसंग भने यि कुराहरुको दुर–दुर सम्म कुनै साइनो छैन । काफ्लेले भन्नुभयो ।

म्युजिक भिडियो निर्देशक विकास सुवेदी राम्रो गीतको आधारसिला शब्दहरु हुने बताउनुहुन्छ ।

पछिल्ला बर्षहरुमा नेपाली संगीतमा राम्रो गीतको खडेरी छ । संख्यात्मक रुपमा धेरै गीत आएका छन् तर गुणस्तर कमजोर छ । मलाई ब्यक्तिगत रुपमा राम्रो गीतको आधारसिला शब्दहरु हुन् भन्ने लाग्छ । अनि मात्र संगित संयोजन । राम्रो गायन क्षमता भएको व्यक्त्तिले स्वर दिदैमा कुनै गीत उत्कृष्ट हुनै सक्दैन । ४ पक्षको पुर्ण संयोजनले एउटा उत्कृष्ट गीत बन्छ । गीतको मेरुदण्ड शब्द आजभोली सबै भन्दा कमजोर हुन्छ । गीतको सफलता र आर्थिक लाभ, जस सबै गायकले पाउने इतिहास छ । नारायण गोपालको जति चर्चा र सम्मान नेपाली संगित क्षेत्रमा भयो त्यति उहाँको स्वरमा सजिएको असली सर्जक गीतकारहरुको भएन । गीतकारहरुको अबमुल्यनको क्षति अहिले नेपाली संगीत क्षेत्रले अहिले भोगिरहेका छौ । आज भोली आफ्नो सिर्जना प्रति गायक गायिका तथा निर्माता विश्वास हुदैन उनीहरु कसैको बुइ चडेर सगरमाथा आरोहण गर्न चाहन्छन् । अनि मोटो रकम तिरेर अमुक चलचित्र तथा यस्तै क्षेत्रमा परिचय बनाएको इन्टरनेटमा खोजिने अघोरी बाबा सम्मको ढोकामा पुगिरहेरका छन् । गुणस्तर र लोकप्रियता दुई फरक बिषय भएको चेत आजकालका सर्जकमा देखिदैन । चर्चाको मनोरोग आजभालि अघिकंश गायक गायिका तथा निर्मातामा देखिन्छ । र, नेपाली संगीत भोजपुरीकरणको यात्रामा छ । उहाँले सुनाउनुभयो ।

असली सर्जकहरुको सम्मान र लोकप्रियतामा ब्रेक लाग्नुको मुख्य तत्व सुन्ने भन्दा हेर्ने प्रबिधि बढ्न जानुका कारण भएको गायक अविनाश घिसिङ सुनाउनुहुन्छ ।

यो एक किसिमले कलाकारहरु तथा मोडलहरूको परिश्रम एवं लोकप्रियताको लगि सकारात्मक पक्ष हो भने गायक गायिका, संगीतकार र रचनाकारको लगि भने निकै दुर्लभ पूर्ण छायाँमा परिरहेको पक्ष हो । यसले गर्दा श्रृजना गर्ने श्रष्टाहरु ओझेलमा परिरहेको मेरो ब्यक्तिगत बुझाई छ । र, मोडलहरुको आकाश चुलिने परिश्रम सकारात्मक पक्ष भए पनि गीत संगीत श्रृजना गर्ने सर्जकहरु मारमा परेर बहिरगमन हुने खतरा डर लाग्दो किसिमले हबी भईरहेको नेपाली गीत संगीतमा महसुश गर्न सकिन्छ । हाम्रो जस्तो सानो र अशिक्षित मुलुकमा असली सर्जकहरुको सम्मान र लोकप्रियतामा ब्रेक लाग्नुको मुख्य तत्व सुन्ने भन्दा हेर्नेको प्रबिधि बसिरहेको कारण हो । यसले गीत संगीत क्षेत्रमा आगामी दिनमा क्षति हुने सम्भवना प्रबल देखिएको मेरो नितान्त बुझाई छ । उहाँले भन्नुभयो ।

गीतकार सुमन श्रापित गीतको भिजुयल बनाएपछि मोडेल हावी हुनु अस्वाभाविक नहुने तर्क गर्नुहुन्छ ।

गीत एउटा एब्स्ट्रयाक्ट आर्ट हो । एब्स्ट्रयाक्ट आर्ट हेर्नेले आ आफ्नो आकृति बनाए जस्तै गीत सुन्नेले पनि हरेक गीतको भिजुअल आ–आफ्नो ढङ्गले बनाएको हुन्छ । गीत हेर्ने भन्दा नि सुन्ने हो । तर आज भोलि सुन्ने नभई गीत हेर्ने चीज बन्यो । यो ढङ्गको जमानाको बिकास भयो, आफैमा बिडम्बना हो । गीतको भिजुवल बनाउने भनेपछि मोडेल हावी हुने कुरा अस्वाभाविक होइन । गायक, गायिका, संगीतकार, र रचनाकारलाई मोडलको हावीपनले त्यस्तो कुनै नकरात्मक प्रभाव पार्दैन । बरु चलेको मोडल छ भने गीतको चर्चा परिचर्चा र बजारिकरणमा राम्रै टेवा पुग्छ । असली कुरा के हो भने गीतको भिजुअलमा स–शरीर मोडेल देखिने भएकोले हावी भए जस्तो लाग्ने हो तर गीतमा गायक गायिका गीतकार र संगीतकारको जुन जीवन्तता हुन्छ त्यो जीवन्तता मोडेलको हुन सक्दैन । जस्तो त्यही गीतलाई पछि कसैले रिमिक्स गरेर गायो र भिजुअल गर्‍यौ भने गीतकार, संगीतकार, मूल गायक गायिकाको नाम गीतमा राखिन्छ तर मूल मोडेल भनेर राखिदैन । त्यसैले यस बिषयमा गायक गायिका, गीतकार, संगीतकारले गीतमा मोडेल हावी भए हामी ओझेल पर्‍याैं भनेर चिन्ता र गुनासो गर्नु हुँदैन भन्ने मेरो विचार हो । गीतकार श्रापितले भन्नुभयो ।

गीतकार समेत रहनुभएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी क्षणिकतामा मोडल हावी देखिएपनि दिर्घकालिन पहिचान श्रजकको रहने बताउनुहुन्छ ।

पर्दामा देखिरहने अनुहारहरु परिचित हुनु र हावि हुनु स्वभाविक नै हो । मोड्लिङ पनि त्यस्तै पेशा हो । नकरात्मक भन्दा सकरात्मक सोचौं । सर्जककै वरिपरीनै घुम्ने न हो मोडल समेत । जो दिर्घकालिन नहुन पनि सक्छ । श्रष्टाको लिमिटेसन हुदैन जति मोडलको उमेरले रोल खेल्छ । अभिनयको पाटो पनि त महत्वपुर्ण हो नि । क्षणिकतामा हावी देखिएपनि दिर्घकालिन पहिचान श्रजकको खाटी रहन्छ । कर्म कृति उत्कृष्ट हुनु जरुरी छ । त्यहि हो गीतकारहरु गीतसार हुन भएन ।

गायक रामभक्त जोजीजू गीतलाई बुझाउन मात्र भिडियो बन्ने गरेको बताउनुहुन्छ ।

छोरा छोरी हुनलाई बाउ आमा चाहियो । बाउ आमाको मिलनबाट छोरा छोरी बन्छ त्यसपछि छोरा छोरीले आफ्नो बाउ आमाको नाम राख्छ । गीत नबनीकन मोडल बन्दैन । गीत बिनाको मोडल नै हुँदैन । यदि रचना कारले गीत नलेख्ने हो भने, संगीतकारले धुन नबनाउने हो भने गायक गायिकाहरुले गीत नगाईदिने हो भने मोडलले मोडल गरेर मात्र हुन्छ र ? त्यसो हो भने गीत बिनाको मोडल मात्रै बनेर देखाउंदा भयो नि । मोडल लाई बनाउने भनेको गीतले हो । यदि राम्रो गीत नै सृजना भएन भने मोडलले मोडलिङ गरेर मात्र हुदैन । मोडलको जन्म दाता गीत हो । गीत बिना मोडल हुन सक्दैन । मोडललाई बनाउने राम्रो गीत ले हो । मोडलले गीत बनाउने होईन । अहिलेको जमाना भनेको सुन्नु भन्दा हेर्नेको दिन आएको हुनाले गीतलाई बुझाउन मात्र भिडियो बनेको हो । नारायण गोपालको कुनै पनि त्यस्तो भिडियो छैन पहिला पहिला भिडियो नभए नि गीत हिट हुन्थ्यो । पहिला मोडल भन्ने थिएन । गायक नै मोडल हिरो हो । अहिलेको सबै बिकृति हो । त्यही भर राम्रो गीत संगीत ओझेल पर्नुको कारण यो पनि हो । यस्को सकारात्मक पक्ष भनेको मोडेलहरुले काम पाउने भए रोजगार हुने भयो । नकारात्मक पक्ष भनेको जो संग पैसा छ । खर्च गरेर मोडललाई लाखौ खर्च गरेर आफ्नो गीत हिट गराउन सक्ने भए । पैसा नहुने हरु राम्रो गीत भए पनि खर्च को अभाबमा ओझेल पर्ने भए । र, डिप्रेसन जाने सम्भावना हुने भयो । अनि कलाकारिता छोडेर पेसा बदल्नु पर्ने भयो यो नै दुर्भाग्य हुने भयो देशको लागि । गायक जोजिजू चिन्ता गर्नुहुन्छ ।

लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने गायक गायिका संगीतकार रचनाकार भन्दा मोडलहरु हावी भएको महशुस भएको सुनाउनुहुन्छ ।

गायक, गायिका, संगीतकार, रचनाकार भन्दा अभिनय गर्ने मोडलहरु हावी भएको जस्तो महशुस भएको छ । विगतमा समेत के थियो भने जसले संगीत दियो जसले रचना गर्‍यो ती मानिस एकदमै पर्दा पछाडि हुन्थे । पछि बल्ल दिर्घकालिन सोच भएका गायकहरु महशुस गरे । होइन यी सिर्जना गर्नेहरु त हामी भन्दा झनै अझ अब्बल हुन् । यीनले सिर्जना गरेनन्, संगीत भरेनन्, शब्द लेखेनन् भने त हामीले कसरी गीत तयार पारौला भन्ने अनुभव अनुभव संगालेर पछि संगीतकार रचनाकारलाई पनि सम्मान गर्ने गरियो । अर्काले सिर्जना गरेका गीत गाएर आफु स्टेजमा चढेको छ, ठाउँ ठाउँमा मेला महोत्सवमा पुगेको छ, देश विदेश घुमेको छ । मिडियामा देखिएको छ । पत्रपत्रिकामा अन्र्तवार्ता छापिएको छ । तर त्यसको सही श्रष्टा को हो कसले सिर्जना गरेको हो भन्ने गुमराहमा रहन्थ्यो । त्यस्तो अवस्था अहिले छैन । अलिकति भिजेका कलाकारले सम्मान गर्नुपर्ने रहेछ भन्ने महशुस गरे । रोयल्टीको अंश दिन थालियो । केही गायक गायिकाले गीत रचना र संगीत समेत आफैले भर्न समेत थाल्नुभयो ।

गीत सिर्जना नै नगरे यी मोडेल कहाँ नाच्ने हो । म डान्सरलाई पनि यही भन्छु । अझ अहिले आएर टिकटकले अर्काले बोलेका डाइलगमा टिकटकमा मुख चलाएर अर्काले गाएका गीतहरुमा मुख चलाएर देखिएर भएकंर भएको भन्नुलाई कसैले स्विकार गर्नुपर्छ जस्तो लाग्दैन । उनीहरुले प्लेटफर्म पाएका छन् । प्लेटफर्मको सदुपयोग गरौ । ठुला मिडियामा जाऔ । ठुला पर्दाका चलचित्रमा अभिनय गर्ने अवसर लियौ । अवसर चाहि पक्का हुन्छ, भएको छ । स्थानीय कलाकार उत्पादन गर्न एफ एमले सहयोग गरे । स्थानीय टेलिभिजनले सहयोग गरे । अहिले प्रविधि आयो घरमानै बसेर अभिनय गर्ने प्रतिभा देखाउनसकिने भयो । यसले सम्बन्धीत क्षेत्रमा पहिचान बनाउन सजिलो अवस्था भयो ।

मोडल तथा डान्सरले जसले उनीहरुले गीत तयार नपारेको भए हामीले कसरी अभिनय गर्न पाउथ्यौ भन्ने कुरा सोच्नुपर्छ ।
यसका नकारात्मक सकारात्मक दुवै पाटा छन् । नामै कमाउनका लागि जे पायो त्यही गर्ने अनेकथरी गर्ने गरेका छन् । त्यो गरेर हुँदैन । एकछिन नाम कमाउनको लागि त्यस्तो गर्नु हुँदैन । बर्खेभेल जस्तो बन्दा धेरै दिन टिकिदैन । शारिरिक सुन्दरता देखाएर, कलाकारिताको सुन्दरता देखाएर अभिनयको सुन्दरता देखाएर आफू स्थापित हुनुपर्छ । कलाको मर्म बुझेर आएका मोडलहरु छन् भने तीनले यो प्लेटफर्म मार्फत राम्रो गर्न सक्ने गायक न्यौपानेको तर्क छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button