तनहुँमा चितुवाको आक्रमणबाट क्षति भएकालाई राहत वितरण

पोखरा न्यूज । चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई रु १६ लाखभन्दा बढी राहत रकम वितरण गरिएको छ । आर्थिक वर्ष ०७७/७८ को अवधिमा तनहुँ जिल्लाका विभिन्न भागमा चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई डिभिजन वन कार्यालय तनहुँले रु १६ लाख ५९ हजार १०४ राहत रकम वितरण गरेको हो ।

गत आवमा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो । शुक्लागण्डकी नगरपालिका–२ मसारका ११ महिनाका बालक नारायण रानाको चितुवाको आक्रमणबाट मृत्यु भएपछि कार्यालयले पीडित परिवारलाई रु १० लाख उपलब्ध गराएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका, २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा रु ५० हजारसम्म, गम्भीर घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।

त्यस्तै उक्त अवधिमा जिल्लाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट गाई, भैँसी, सुँगुर/बङ्गुर, बाख्रा÷भेडाको मृत्यु भएको थियो । क्षतिको मूल्याङ्कन गरी कार्यालयले पीडितलाई राहत वितरण गरेको छ । रु २१ लाख ८६ हजार ७०४ को क्षति मूल्याङ्कन गरिएकामा रु १६ लाख ५९ हजार १०४ वितरण गरिएको कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट तीन गाई मृत्युबापत रु १८ हजार, एक भैँसी मृत्युबापत रु पाँच हजार, चार सुँगुर÷बङ्गुर मृत्युबापत रु २६ हजार र ५९ बाख्रा/भेडा मृत्युबापत रु चार लाख राहत प्रदान गरिएको छ । त्यस्तै चितुवाको आक्रमणबाट तीन जना घाइते भएकामा रु दुई लाख १० हजार १०४ राहत दिइएको पण्डितले बताउनुभयो ।

दश वन्यजन्तुको जीवितै उद्धार

कार्यालयले एक वर्षको अवधिमा १० वन्यजन्तुको जीवितै उद्धार गरेको छ । चितुवा, रतुवा मृग, कछुवा गरी १० वन्यजन्तुको जीवितै उद्धार गरिएको कार्यालयले जनाएको छ । त्यस्तै मरेका १२ वन्यजन्तुको व्यवस्थापन गरिएको छ । जीवितै उद्धार गरिएकालाई प्राकृतिक वासस्थान, पचभैया प्राणी उद्यान पोखरामा स्थानान्तरण गरिएको छ ।

कार्यालयले त्यसअवधिमा छ चितुवा, तीन रतुवा मृग र एक कछुवाको जीवितै उद्धार गरेको थियो । त्यस्तै मृत भेटिएका आठ चितुवा, दुई रतुवा मृतको पनि व्यवस्थापन गरिएको छ ।

वित्तीय ९१.५, भौतिक प्रगति शतप्रतिशत

कार्यालयले आर्थिक वर्ष ०७७/७८ मा वित्तीयतर्फ ९१.५ प्रतिशत प्रगति हासिल गरेको छ । सङ्घ र प्रदेशबाट विनियोजित रकममध्ये कार्यालयले उक्त वर्ष ९१.५० प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।

कूल पाँच करोड ३५ लाख बजेट विनियोजन भएकामा त्यस अवधिमा रु चार करोड ९० लाख खर्च भएको कार्यालय प्रमुख काफ्लेले जानकारी दिनुभयो । प्रदेशतर्फको रु तीन करोड २३ लाख विनियोजन भएकामा दुई करोड ९३ लाख खर्च भएको छ । सङ्घीय सःशर्ततर्फ रु ९२ लाख ५० हजार विनियोजन भएकामा रु ८६ लाख खर्च भएको छ । काफ्लेका अनुसार प्रदेश सःशर्ततर्फ रु एक करोड २० लाख विनियोजन भएकामा रु एक करोड ११ लाख खर्च भएको छ । भौतिकतर्फ भने कार्यालयले शतप्रतिशत प्रगति हासिल गरेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button